नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक १२ गते । बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।
साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालेको हो । नगरपालिकाले बागलुङ नगरपालिका–४ उपल्लाचौरको आर्मी व्यारेक देखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने बागलुङ नगरपालिका–६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ ।
यस्तै नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धबिहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि बागलुङ नगरपालिकाको कार्यालय सम्मको सडक कालोपत्र र देउरालीचोक सम्मको सडक ढलान गर्ने तयारी थालिएको छ ।
यस्तै नगरपालिकाले बागलुङ बजारका सबै खाल्टाखुल्टी पुर्नका लागि समेत सडक कालोपत्र गर्ने काम सघैँ अघि बढाएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
नगरपालिकाले एक करोड ८ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रको खाल्टाखुल्टी सडक मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टा÷छुट्टै सडक कालोपत्र र ढलान गर्न थालेको हो । २०८२ वैशाखमा लिला निर्माण सेवासँग बागलुङ नगरपालिकाले यही कात्तिक मसान्त भित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो ।
असार अघिनै कालोपत्रको तयारी थालेपनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्टाखुल्टी परेकाले यही ठेक्का मार्फत खाल्टाखुल्टीमा समेत कालोपत्र गर्ने कार्य गरिने छ ।
नगरपालिकाले बजार क्षेत्रमा वर्षेनी एक करोड माथीको लागतमा सडक मर्मत तथा खाल्टाखुल्टी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा वर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखिनै यही वर्षमा काम गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।