काठमाडौं, मङ्सिर ५ गते । जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो । शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ ।
यस हप्ता धेरै व्यक्ति हैजाबाट सङ्क्रमित भएको विज्ञहरुको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरुको भनाइ छ ।
प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिस छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे शहरले बढ्दो जनसङ्ख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।
हरारेको मुख्य स्रोत लेक चिवेरोबाट शहरले प्राप्त गरिरहेको पानी धेरै दूषित रहेको बताइएको छ । उहाँले शहरवासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताउनुभयो । उहाँले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाई मात्र स्वच्छ पानी पाउने गरेको बताउनुभयो ।
जिम्बाबेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तिमा १२ जनाको ज्यान गएको बताउनुभयो । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ ।
हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामीहरु घटाउने काममा लागिरहेको भए पनि सफल हुन नसकेको स्थानीयहरुको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाका लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।
त्यस्तै, सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरुको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरुले बताए ।
त्यस्तै, अर्का स्थानीयले कहिलेकाहीँ दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताउनुभयो ।
अधिकारीहरूले सर्वसाधारणलाई अनधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल