• २३ वैशाख २०८१, आइतबार

सहज बन्दै कैदीबन्दीको उपचार

blog

काठमाडौँ, मङ्सिर ५ गते । कैदीबन्दीको उपचार गर्ने केन्द्रीय कारागार अस्पताल सुधार हुँदै गएको छ । यसअघि सामान्य उपचारका लागि पनि कैदीबन्दी बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेकामा अहिले कारागार अस्पतालमै कैदीबन्दीलाई सम्पूर्ण स्वास्थ्य प्रदान हुन थालेको छ । 

केन्द्रीय कारागार कार्यालयका कारागार प्रशासक ललितकुमार बस्नेतले हाल विशेषज्ञ सेवा पनि कारागार अस्पतालमै हुने गरेको र उपचार गर्न नसकिने जटिल रोगका लागि अन्य विशेषज्ञ अस्पतालमा सम्झौता भएको बताउनुभयो । उहाँले त्यस्ता अस्पतालमा नगद बोकेर जानुपर्ने बाध्यता नरहेको र उपचारपछि मात्र उपचार खर्च लिने व्यवस्था गरिएको बताउनुभयो । 

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश बुढाथोकीले आफूले नेतृत्व लिएपछि स्वास्थ्य पूर्वाधार, जनशक्ति, स्वास्थ्य बिमा, प्रयोगशाला, ओपिडी, एक्सरे, फार्मेसी, मेडिकल रेकर्डको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो । अस्पतालमा हाल स्वास्थ्य बिमा पनि लागु भइसकेको र एक हजार पाँच सय कैदीबन्दीको बिमा गरिएको जानकारी उहाँले दिनुभयो ।

उहाँले स्वास्थ्य बिमाका लागि सबै कैदीबन्दीको नागरिकता नहुने भएकाले थुनुवा पुर्जीका आधारमा स्वास्थ्य बिमा गर्ने व्यवस्थाका लागि मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगिएको जानकारी दिनुभयो । 

डा. बुढाथोकीले गृह मन्त्रालय अन्तर्गतको अस्पताल र स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनशक्ति भएकाले समन्वयको अभाव भएको बताउनुभयो । उहाँले दुवै मन्त्रालयको समन्वयका लागि गृह र स्वास्थ्य मन्त्रालयका पदाधिकारी रहेको समन्वय समिति पनि बनिसकेको जानकारी दिनुभयो । उक्त समितिमा कारागार व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य र गृह मन्त्रालयका नीति योजना प्रमुख, कारागार अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट रहेका छन् । डा. बुढाथोकीले अस्पतालमा थप सेवासहित अस्पताललाई पेपरलेस बनाइएको बताउनुभयो । 

कारागार व्यवस्था विभागका निवर्तमान महानिर्देशक चक्रपाणि पाण्डेले विगतको तुलनामा अस्पतालमा धेरै सुधार भएको बताउनुभयो । उहाँले अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी रूपमा अघि बढेको, समन्वय र जनशक्तिमा जोड दिइएको बताउनुभयो । पाण्डेले केन्द्रीय कारागार अस्पताल विशेषज्ञसहित सबै सेवासुविधा उपलब्ध गराउने अस्पतालका रूपमा स्थापित भएको बताउनुभयो ।

डा. बुढाथोकीले कैदीबन्दीमा धेरै मानसिक समस्या रहेकाले १० शय्या मानसिक बिरामीका लागि व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक २५० कैदीबन्दी उपचारका लागि ओपिडीमा आउने गरेका छन् । जनशक्ति व्यवस्थापनदेखि फार्मेसीसम्म प्रभावकारी ढङ्गले सञ्चालन भएकाले ओपिडीमा आउने कैदीबन्दीको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । 

डा. बुढाथोकीले कारागार अस्पतालमा उपचार हुन नसकेका २१ वटा विशिष्टीकृत अस्पतालसँग सम्झौता गरेको जानकारी दिनुभयो । हामीले कारागार अस्पतालमा गर्न नसकिएको उपचारका लागि विशिष्टीकृत सरकारी अस्पतालसँग सम्झौता गरेको बताउनुभयो । मुटुको शल्यक्रिया, आँखाको शल्यक्रिया, मिर्गौला रोग जस्ता जटिल रोगको उपचारका लागि विशिष्टीकृत अस्पतालसँग सम्झौता गरिएको डा. बुढाथोकीको भनाइ छ । 

उहाँले जिल्ला कारागारमा रहेका कैदीबन्दीको उपचार हुन नसकेपछि केन्द्रीय कारागारमा सरुवा गर्ने गरेको बताउनुभयो । केन्द्रीय कारागारमा अस्पतालका सम्पूर्ण कैदीबन्दीलाई सरकारले निःशुल्क औषधी उपचार गर्ने गरेको छ । डा. बुढाथोकीका अनुसार अघिल्लो आर्थिक वर्षमा पाँच हजार जना कैदीबन्दी बिरामी भर्ना भएका थिए । 

डा. बुढाथोकीले एक हजार सात सय कैदीबन्दी दीर्घरोगी रहेको जानकारी दिँदै मानसिक समस्या बढी हुने हुनाले विभिन्न कारागारमा मानसिक परामर्श सञ्चालन गरिसकेको बताउनुभयो । उहाँले केन्द्रीय कारागार अस्पतालमा पछिल्लो समय मानसिक कक्ष, अस्पताल फार्मेसी, आकस्मिक कक्ष सञ्चालनमा आएको बताउनुभयो । 

शल्यक्रियाका लागि कहिलेकाहीँ रगतको अभाव हुने भन्दै उहाँले कैदीबन्दीलाई रक्तदान तथा अङ्गदान गर्न नमिल्ने भएकाले रगतको समस्या हुने गरेको बताउनुभयो । कारागार ऐन २०७९ अनुसार कारागार कार्यालयले सबै कैदीबन्दीलाई सरकारी चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक पटक नियमित रूपमा उपचार गराउनुपर्ने हुन्छ । यस्तै आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गराउनुपर्ने छ । 

डा. बुढाथोकीले कैदीबन्दीको औषधी उपचार तथा अस्पताल व्यवस्थापनमा मासिक ५० लाख रुपियाँ खर्च हुने गरेको जानकारी दिनुभयो । उहाँले अस्पताल हाल ३० शय्यामा सञ्चालन भइरहेको भन्दै अब ५० शय्यामा विस्तार गर्नुपर्ने बताउनुभयो ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।