• १० फागुन २०८०, बिहिबार

दाजुभाइको पुरुषार्थ गाउँदै सुरु भयो सामाचकेवा

blog

काठमाडौँ, मङ्सिर ५ गते  । छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा पनि मनाउन थालिएको छ ।

दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् । 

विराटनगर घर भई हाल कालीमाटीमा चुराको व्यापार गर्दै आउनुभएका मनिता कर्णले दाजुभाइको प्रशंसा र पुरुषार्थको चर्चा गर्दै दिदीबहिनीद्वारा यो पर्व मनाइने गरिएको बताउनुभयो । “तराई मधेशको लोकनाटकको झझल्को दिने यस पर्वमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुई वटा मुख्य पात्र हुन्छन् । त्यसै गरी समाजको खल पात्रको प्रतीकका रूपमा चुक्ली लगाउने एउटा अर्को पात्र पनि हुन्छ,” उहाँले भन्नुभयो ।

“यी तीन वटै पात्रको प्रतीकका रूपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल सप्तमीको साँझदेखि टोल छिमेकका दिदीबहिनी गाउँभन्दा बाहिर खुला ठाउँमा एकत्रित भई सामाचकेवासम्बन्धी गीत गाउँछन्,” उहाँले अगाडि भन्नुभयो, “गीतमा दाजुभाइको प्रशंसा तथा चुकुली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसै गरी सामाचकेवाको प्रतीकका रूपमा रहेको मूर्तिलाई शीत र दुबो खुवाइने गरिन्छ ।”

“सामाचकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बिचमा राखी त्यहाँ उपस्थित दिदीबहिनी वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कोलाई दिँदै बायाँ हातले फेरि लिने गरिन्छ । दिने र फर्काउने यो क्रम नथाकेसम्म चलिरहन्छ,” उहाँले अगाडि भन्नुभयो ।

पर्सा माधोपुर घर भई अहिले राजधानीको कुलेश्वरमा बस्दै आउनुभएकी मीना झाले यो पर्व मनाउने क्रममा असत्य, पाप र असामाजिक तत्वको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइने गरिएको बताउनुभयो । त्यसपछि दिदीबहिनी सामाचकेवाको गीत गाउँदै आआफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामाचकेवा राखिएको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम सप्तमीको दिनदेखि चतुर्थीसम्म चलिरहन्छ ।

सामाचकेवा पर्वको विधिबारे जानकारी दिँदै सर्लाही बलरा घर भई अहिले राजधानीको कोटेश्वरमा बस्दै आउनुभएकी गायत्री मिश्रले पूर्णिमाको दिन यो पर्वको समापन हुने गरेको बताउनुभयो । पूर्णिमाको दिन मूर्तिलाई सफासुग्घर र रङरोगन गरी विशेष किसिमले सजाइन्छ । बेलुका दही, चिउरा, चिनी र मिठाईसहित मूर्तिलाई विभिन्न प्रकारको भोजन गराइसकेपछि दिदीबहिनीले आफ्ना दाजुभाइलाई प्रसादस्वरूप त्यही भोजन गराउँछन् । भोजन गरिसकेपछि दाजुभाइले  दिदीबहिनीलाई उपहारस्वरूप नगद, गरगहना, लुगा कपडा आदि दिन्छन् ।

संस्कृतिविद् रामभरोस कापडीले पद्मपुराण, स्कन्दपुराण र साम्बपुराणमा सामाचकेवाबारे चर्चा गरिएको बताउँदै यस पर्वको सुरुवात पौराणिककालदेखि नै भएको बताउनुभयो । ग्रन्थमा उल्लेख भए अनुसार सामाका बुवाको नाम श्रीकृष्ण, आमाको नाम जाम्बती तथा पतिको नाम चारुवव्रm थियो । त्यसै गरी सामाका दाजु श्रीकृष्ण पुत्री साम्ब थियो । 

संस्कृतिविद् कापडीले भन्नुभयो, “श्रीकृष्ण पुत्री सामा र चारुवक्र नामको केटा प्रणयसूत्रमा बाँधिन चाहन्थे तर सामासँग एउटा अर्को केटा पनि प्रणयसूत्रमा बाँधिन चाहन्थे । यो कुरा सामाले मन नपराएपछि त्यस केटाले षड््यन्त्र गरी सामाको सम्बन्ध कुनै मुनिसँग छ भने कुरा पिता श्रीकृष्णलाई लगाइदिए ।” श्रीकृष्ण क्रुद्ध भएर छोरी सामालाई श्राप दिएर चरी बनाइदिए । त्यसपछि सामाका पे्रमिका चारुवक्रले पनि सामाजस्तै चरा जुनीमा जान पाउँ भन्दै श्रीकृष्णसँग वरदान मागे । पछि श्रीकृष्णले श्राप दिएर चारुवक्रलाई समेत चरा बनाइदिए । 

साम्बपुराणका अनुसार दाजु साम्बले कठोर तपस्या गरी बहिनी सामा र भिनाजु चारुवक्रलाई पनि मानव जुनीमा फर्काउन सफल भए । सामा र चारुवक्रले कात्तिक शुक्ल पूर्णिमाकै दिन नै पुनः मानव जुनी प्राप्त गरेको र त्यसै दिनदेखि हिन्दु समाजमा सामाचकेवाको पर्व मनाउँदै आएको जनविश्वास रहेको कापडीले बताउनुभयो ।