• १० साउन २०८२, शनिबार

समसामयिक समाज र समयको प्रतिविम्ब

blog

देश, काल, परिस्थिति, वातावरण आदि प्रतिविम्बित भएको साहित्य सृजनामा जीवनका सत्य र अनुभूतिहरूको जीवन्त चित्रण उद्घाटित भएका हुन्छन् । यस किसिमका साहित्य–सृजनाले सामाजिक सत्य र यथार्थको धरातलमा जीवनको व्याख्या र आलोचना पनि गर्दै सर्वसाधारण जनजीवनले जीवन बाँच्ने र बचाउने क्रममा भोगिरहेका विविध किसिमका विकृति र विसङ्गतिमा प्रकाश पार्दै जीवनलाई स्वाधीन र स्वाभाविक तुल्याउने दिशामा पथप्रदर्शककै भूमिका निर्वाह गरिरहेको पनि हुन्छ । 

कुनै पनि किसिमका अप्रिय अवस्था अन्त्य हुनुपर्ने आवश्यकताका पक्षमा यस किसिमका साहित्यले विविध किसिमका सन्देश प्रवाहित गर्दै समाजमा स्वस्वार्थ, फुट, विरोध, सङ्कीर्णता, नीचता, दुष्टता आदि दुर्गुण अन्त्य हुनुपर्ने विषयमा विशेष जोड दिएका हुन्छन् । समता, न्यायप्रियता, सामाजिक सामञ्जस्यताका कसीमा मनुष्यत्वभावयुक्त सामाजिक सौन्दर्य–सृष्टिका पक्षमा विशेष जोड दिई सही अर्थमा समतामूलक समाज स्थापनाका दिशामा यस किसिमका साहित्य–सृजनाले सही कर्मको आवश्यकताका पक्षमा विविध सन्देश प्रवाहित गरिरहेका हुन्छन् ।

यसरी समसामयिक विविध जीवन सन्दर्भ अनि देश र समाजका विविध पक्षको आलोचना र प्रत्यालोचनाका माध्यमबाट नयाँ युगको आविर्भावका पक्षमा साहित्यले विविध सन्देश प्रवाहित गरिरहेको हुन्छ । मानव–चरित्रको उज्ज्वलताका कसीमा नवनिर्माणको युगीन आवश्यकताबोधका प्रति पनि साहित्य–सृजना सदैव अत्यन्त सजग र सचेत रहनु पर्छ । यसले सही अर्थमा सत्य, सुन्दर र कल्याणकारी समाज स्थापना अर्थात् ‘सत्यम्, शिवम् सुन्दरम्’ को पक्षमा सार्थक योगदान दिन सक्ने सामथ्र्य बोकेको पनि हुनु पर्छ । त्यसैले साहित्यलाई देश र सामाजिक हितको सन्दर्भसँग जोडेर हेर्ने गरिएको पाइन्छ । यसका माध्यमबाट देशमा सांस्कृतिक एकताको पक्षमा विशेष जोड दिइएको पनि हुनु पर्छ । सामाजिक जागृतिको सजीव लक्षणका रूपमा पनि यसलाई लिइने गरिएको पाइन्छ । त्यसैले साहित्यलाई समसामयिक समाज र समयको ऐना वा प्रतिविम्बका रूपमा पनि लिइने गरिएको पाइन्छ ।

कवि गणपति ओझाको पद्य प्रकाशित ‘आमा’ शीर्षकको काव्यात्मक कृतिमा दृष्टिपात गर्दा माथि उल्लिखित सत्यलाई यसले राम्ररी आत्मसात् गर्न सकेको पाइन्छ । देश र समाजको उन्नतिका पक्षमा समाजका सबै सदस्यलाई समभावले एकताबद्ध भई अग्रसर हुन यो कृतिले विशेष जोड दिएको पाइन्छ । यस दिशामा अघि बढ्न विविध विषय र सन्दर्भमा विशेष ध्यान दिनुपर्ने आजको युगीन आवश्यकताका प्रति पनि यसले यथेष्ट प्रकाश पार्न सकेको छ । यसभित्र कविहृदयमा उम्रिएको भावनाको सहज अभिव्यक्तिभन्दा पनि बढी आजको समाजको समसामयिक सत्य र यथार्थलाई सबैले समयमै राम्ररी आत्मसात् गर्न सक्नुपर्ने पक्षमा गहन विश्लेषण गरिएको पाइन्छ । देशमा देखा परेका विविध असन्तुलनलाई यथाशीघ्र हटाउन राष्ट्र र राष्ट्रियतामा आधारित भएर सबैको ऐक्यबद्ध प्रयास अघि बढ्न सक्नुपर्ने आजको सर्वोपरि आवश्यकताका पक्षमा कवि गणपति ओझाले मननीय विचार सम्प्रेषण गर्न सक्नुभएको छ । उहाँले लेख्नुभएको छ–

केही हुन्न भनी निराशितहरूमा लौ भरोसा भरौँ

सक्छौँ उन्नति गर्न हे मिलिजुली सारा अगाडी सरौँ

ठाडो शीर बनाउँदै प्रगतिको खाका नयाँ कोर्नु छ

हामी जाग्रित भै सबै जनहरू साथै लिई हिँडनु छ ।

कवि गणपति ओझाले आफ्नो यो काव्यात्मक कृतिलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन खण्डमा प्रकाशित गर्नुभएको छ । खण्ड ‘क’ अन्तर्गत ‘पृष्ठभूमि’ र ‘नेतृत्वका गुणहरू’ शीर्षकका दुई वटा लामा काव्यात्मक अभिव्यक्ति प्रस्तुत गरिएका छन् । ‘पृष्ठभूमि’ अन्तर्गत खास गरी आमा र छोराका बिचमा हुने गरेका राष्ट्र र राष्ट्रियतासम्बद्ध विशेष विचार, नेपाल र नेपालीको समुन्नतिका पक्षमा अभिव्यक्त विविध धारणा र चिन्ता अनि आफूलाई जन्म दिने आमाको महत्व र महिमाका सम्बन्धमा समीचीन प्रकाश पार्ने जमर्को गरिएको छ । त्यसै गरी ‘नेतृत्वका गुणहरू’ शीर्षकको कवितामा देशलाई हाँक्ने स्थानमा पुगेका नेताहरूले देश र समाज–हितका लागि सही नेतृत्व दिन सक्नुपर्ने, सुशासन, आर्थिक र सामाजिक उन्नतिका माध्यमबाट सही अर्थमा सभ्य र सुसंस्कृत समाज निर्माणमा यथेष्ट योगदान दिन सक्नुपर्ने आवश्यकतामा पनि कविताहरूले यथेष्ट प्रकाश पारेका छन् ।

यो काव्यात्मक कृतिको खण्ड ‘ख’ मा २०३५ सालपछि देखा परेका विविध राजनीतिक परिदृश्यमा आधारित कविताहरू समाहित छन् । यस अन्तर्गत ‘प्रजातन्त्रका लागि सङ्घर्ष’, 

‘बहुदलीय प्रजातन्त्रको स्थापना’, ‘सशस्त्र विद्रोह’ र ‘गणतन्त्र नेपाल’ शीर्षकका चार वटा लामा कविता समावेश छन् । यो कविताले सही किसिमले जनताका आशा र अपेक्षा सम्बोधन हुन नसकेको र जनताका घरआँगनमा अझै पनि लोकतन्त्रले राम्ररी स्पर्श गर्न नसकेको यथार्थमा आधारित भएर विविध विचार सम्प्रेषण गर्न सकेका छन् । त्यसै गरी खण्ड ‘ग’ मा ‘भ्रष्टाचार’ र ‘कुशासन’ शीर्षकका दुई कविता समावेश गरिएका छन् । देशमा सुशासनको स्थापना र भ्रष्टाचार नियन्त्रणको पक्ष बोलीमा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्ने यथार्थ यी कवितामा सम्प्रेषित छन् । स्वार्थन्धता, आर्थिक असन्तुलन, देशमा व्याप्त रनभुल्ल अवस्था एवं विविध किसिमका विकृति र विसङ्गति अन्त्यका लागि सबै जिम्मेवार पक्ष समय छँदै जागरुक हुन सक्नुपर्ने आवश्यकतामाथि यी शीर्षकका कविताले प्रकाश पारेका छन् । कवि गणपति ओझा लेख्नुहुन्छ–

राम्रो ज्ञान प्रदान गर्न नसके के काम विद्यालय

खै के काम छ अस्पतालहरूको सेवा नराम्रो भए

भन्छन् डाक्टर जाउ है क्लिनिकमा उत्कृष्ट सेवा लिन

सर्कारी अब अस्पतालहरूमा को सक्छ सेवा लिन

यसरी समसामयिक समाजका पात्रहरूमा व्याप्त निराशा र वेदनाका अनेकौँ स्वरमाथि गणपति ओझाको ‘आमा’ शीर्षकको यो काव्यात्मक कृतिले गहन प्रकाश पार्ने काम गरेको छ । यसरी हेर्दा यो कृतिलाई आजको जीवन–दर्शन गर्न सकिने एउटा दर्पणकै रूपमा आत्मसात् गर्न सकिन्छ । यसभित्र लोकभावना छ । आजको यथार्थमा आधारित जीवन–सत्य छ । समाजका प्रत्येक नागरिकमा शक्ति र गति पैदा गराउन सक्नुपर्ने आवश्यकताको बोध छ । 

कविताहरूमा कतै कतै छन्द भङ्ग भएको र कतिपय शब्दको हिज्जे–प्रयोगमा त्रुटि देखा परे पनि यो काव्यात्मक कृतिको भाव पक्ष निकै सबल छ । यसले समसामयिक समयसन्दर्भको वस्तुनिष्ठ विश्लेषण गरेको छ र आजका मानिसका अन्तर्हृदयको भावनालाई अत्यन्त सार्थकतासाथ काव्यात्मक रूपमा अभिव्यक्त पनि गर्न सकेको छ । समग्रमा भन्नु पर्दा शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘आमा’ शीर्षकको यो कृति आजको समय र परिवेशको एउटा हस्ताक्षरका रूपमा देखिएको छ । जिम्मेवार पक्षलाई यसले सामयिक चेतावनी दिने काम गरेको छ । कवितामा अभिव्यक्त विचार कतै कतै आरोपित जस्ता लाग्ने देखिए पनि यसमा कोही कसैप्रति आग्रह वा दुराग्रहको भावना नभई सदाशययुक्त भावना नै छताछुल्ल भएर पोखिएका छन् । अभिव्यक्त भावना स्वस्थ र सन्तुलित हुनुका साथै देशहितप्रतिको इमानदार प्रस्तुतिका रूपमा पनि उभिन पुगेको छ । यसरी आजको विविध समसामयिक सन्दर्भमाथि प्रकाश पारिएको यो काव्यात्मक कृति देश र जनहितसम्बद्ध उद्देश्यप्रेरित नैतिक चेतनाको संवाहकका रूपमा देखा परेको छ । आजको परिवर्तित सन्दर्भमा परिवर्तनको सत्य–परिणाम देखिनुपर्ने विषयमा यसले बढी जोड दिएको छ । यसरी आफ्ना अनुभव र अनुभूति एवं समाजका शुद्ध र पवित्र भावनामा आधारित आवाजहरूको प्रतिनिधित्व रचनात्मक किसिमले यो काव्यात्मक कृतिले गर्न सकेको छ । यही नै यो कृतिको विशेषता र प्राप्ति पनि बन्न सकेको छ ।