• ११ साउन २०८२, आइतबार

घटेन जातीय विभेद

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ११ गते ।  दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतका घटना कर्णाली प्रदेशभन्दा बागमती प्रदेशमा धेरै भएका छन् । जातीय विभेद गर्ने सवालमा बागमती प्रदेश कोशी, लुम्बिनी र गण्डकीभन्दा पनि अगाडि देखिएको छ । समता फाउन्डेसनले सार्वजनिक गरेको दलित मानव अधिकार पुस्तक, २०८१ ले जातका आधारमा भएका हिंसाका घटनाको अध्ययनले यस्तो अवस्था देखाएको हो । 

दलितमाथि विभिन्न ढङ्गले चरम विभेद भइरहेको घटना अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययन प्रतिवेदन अनुसार २०८१ मा सबैभन्दा बढी मधेश प्रदेशमा जातीय विभेद र छुवाछुतका घटना भएका छन् । मधेश प्रदेशमा कुल घटनाको २८ प्रतिशत छ भने सबैभन्दा थोरै कोशी र गण्डकीमा सात/सात प्रतिशत छन् । मधेशपछि सुदूरपश्चिम प्रदेशमा १७ प्रतिशत र बागमतीमा १५ प्रतिशत घटना भएका छन् । सङ्घीय राजधानी रहेको बागमती प्रदेशमा लुम्बिनी, कोशी, कर्णाली र गण्डकीमा भन्दा बढी जातीय विभेदका घटना भएको देखिन्छ । लुम्बिनी र कर्णालीमा क्रमशः १३ र १२ प्रतिशत घटना भएका छन् ।