हामी सोच्छौंँ, मान्छेहरू हाँसीखुसी नै देखिन्छन् । आहा ! कति आनन्दको जिन्दगी उनीहरूको तर जीवन हामीले सोचे जस्तो छैन, हामी एकथोक सोच्छौँ तर अर्कै थोक भइरहेको हुन्छ । यो तरको अल्झाइमा मान्छे रुमल्लिरहेको छ, हराइरहेको छ । आजको यान्त्रिक युगमा मलाई लाग्छ, मान्छे अनेक किसिमका तनाव बोकेर बाँचिरहेको छ । मलाई कुनै किसिमको तनाव छैन भनेर कसैले भन्यो भने ठान्नुस्, त्यसले आफ्नो सक्कली स्वरूपलाई लुकाउँदै छ । मलाई तनाव छैन भन्नु नै एक किसिमको तनाव हो ।
अरूका कुरा प्रसङ्गवश गरौँला । अहिले आफ्नै कुरा गरौँ । अरूलाई सुनाउँदा मलाई कुनै तनाव छैन भने पनि म तनाव बोकेर बाँचिरहेको छु, मात्राको हिसाबले कहिले धेरै, कहिले थोरै हुन्छ नै तर तनाव चाहिँ हुन्छ । प्रत्येक दिन विद्यालय जानु पर्छ । विद्यार्थीलाई पढाउनु पर्छ । दुई सय जना विद्यार्थीमध्ये सबै समान हुँदैनन् । कुनै न कुनैले सम्झाएको कुरालाई गाली ठान्छन् र सनक्क सन्कन्छन् अनि सुरु हुन्छ तनाव । संसार ठुलो छ, बाटोमा यात्री भेटिन्छन्, पसलमा पसले भेटिन्छन्, सभा–समारोहमा मैमत्त भएका राजनीतिज्ञ, साहित्यिक कार्यक्रममा साहित्यकार, अस्पतालमा डाक्टर; जीवन हिँडाइमा यस्ता अनेक मान्छेहरूसँग भेट हुन्छ । ती सबै सज्जन हुँदैनन् । कुनै न कुनैले, केही न केही चोट दिएकै हुन्छन् र विवश हुनु पर्छ मनभरि तनाव बोक्न । यस्तो लाग्छ, यो टाउको तनावै तनावले भरिएको छ ।
तनावले गर्दा मेरो टाउको खुइलिसकेको छ । पाँच सात वर्ष पछाडि म यति ठुलो तनावमा परेको थिइनँ । हिजो अचानक ठुलो तनावमा परेँ । बेलुका ७ः३० मा सुतेको म आधा रातमा बिउँझेपछि छटपटीमै रात बिताएँ । शनिबारको दिन एउटा प्रोल्लास सिन्धुलीयको बागबजार बोल्दैन पुस्तक परिचर्चा कार्यक्रममा एकेडेमी जानु थियो । अर्को केएमसी बागबजारको नयाँ भवनमा हुने प्राध्यापक राजेन्द्र सुवेदीसम्बन्धी कार्यक्रमको निमन्त्रणा मेसेन्जरमा देखेको थिएँ । परिचितको जानैपर्ने कार्यक्रम थियो त्यो पनि । ९ बजे खाना खाएँ । तनावले एकछिन पल्टिएँ । पूर्ण निन्द्रा पनि थिएन तर उठ्दा १२ः४५ भएको थियो । कार्यक्रममा जाने जाँगरै चलेन । प्रोल्लासजीको कार्यक्रममा त जानु नै पथ्र्यो, जान सकिएन । मेसेन्जरमा लेखिदिएँ– “आज अत्यधिक तनावले कार्यक्रममा आउन सकिनँ ।” मैले साहित्यिक कार्यव्रmमलाई अपमान गरेको चाहिँ होइन नि । साहित्यलाई म अत्याधिक प्रेम गर्छु तर मनमा तनाव भएपछि कसको के लाग्दो रहेछ र ! दिनभरि साहित्यिक कार्यक्रममा नगएको तनावले धेरै थोरै सताइरह्यो । म झन्डै एक वर्षअघिदेखि तनावमै छु । छोराले काठमाडौँ विश्वविद्यालय धुलिखेलमा इन्जिनियरिङ अध्ययनको इन्ट्रान्समा नाम निकाल्यो । हप्ता दिनको समय दिएर भर्नाको लागि सूचना आयो । छोराले भर्ना गरिदिन कर ग-यो । उसको खुसीको लागि भर्ना गर्नु नै थियो । भर्ना शुल्क एक लाख पन्चानब्बे हजार रहेछ । सामान्य निजी विद्यालयमा पढाउने व्यक्तिसँग त्यति रकम कहाँ हुनु र ! ऋण लिएर भर्ना गरिदिएँ । जग्गा बेचेर १७–१८ लाख खर्चिनु पर्ला, सोचिरहेको थिएँ । एक महिनापछि भएको पुल्चोकको इन्ट्रान्स परीक्षामा पनि छोरोले नाम निकाल्यो । अब छोरोलाई पढाउन जग्गा बेच्नु परेन, म खुसी भएँ । सरकारी क्याम्पस पुल्चोक इन्जिनियरिङ क्याम्पसको नाम संसारभरि नै बिकेको छ । छोरो पुल्चोेकमा पढ्न थाल्यो, म हर्षले गदगद थिएँ नै तर फेरि अर्को तनाव थपियो ।
काठमाडौँ विश्वविद्यालयले भर्ना शुल्क फिर्ता नदिएर । पुल्चोकमा नाम निकाल्यो र न छोरो त्यहाँ पढेन । यो कारणले रकम फिर्ता हुनुपथ्र्यो । काठमाडौँ विश्वविद्यालयको लुट मलाई मन परेन । त्यसले छ महिनाको मेरो पसिना खाइदियो । यो तनाव मनमा बोकिरहेको थिएँ । फेरि अर्को तनाव थपियो । छोराको पछाडि बस्ने ठाउँमा घाउ देखियो । अपरेसन गर्नुपर्ने भयो । निजी अस्पतालमा अपरेसन गर्ने आफ्नो ल्याकत थिएन । शिक्षण अस्पताल महाराजगञ्जले एक वर्षपछिको मिति लेखिदियो । घाउ अहिले पाकेको छ, एक वर्षपछि अपरेसनको मिति; सरकारी अस्पताल कसका लागि होला जस्तो लाग्यो । पहुँच हुनेले त्यहाँ आजको भोलि अपरेसनको मिति मिलाउँदा रहेछन् भन्ने पनि बुझियो । आफ्नो त त्यहाँ कुनै आफन्त डाक्टर थिएनन् । छोराको अपरेसन नगरी पनि भएको थिएन । मैले झट्ट डाक्टर सुदीप पराजुलीको नाम सम्झेँ । उहाँ टिचिङको डाक्टर हुनुहुन्थ्यो । उहाँको ससुरासँगको सम्बन्धले म त्यहाँ पुगेको थिएँ । धेरै पटक धाएपछि डाक्टर पराजुलीका कारण तीन महिना जतिमा अपरेसनको पालो आयो । चिसोको समय केही समयअघिदेखि मलाई रुघाखोकीले सताएको थियो । अपरेसनपछि झन्डै अढाई महिना छोराको स्याहारसुसार गर्नु परेकाले मैले पिनासको सामना झेल्नुपर्यो । ठिक्क कक्षा सुरु भएपछि छोराको अपरेसन गर्नुपर्याे । आफन्त डाक्टर भइदिएको भए सेमेस्टर सकिएपछि छोराको डेढ महिना कलेज बिदा थियो । त्यही बेला अपरेसन हुन्थ्यो । छोराको पढाइ छुटेको र प्रयोगात्मक परीक्षा दिन नपाएको तनाव फेरि थपियो । उपचारका क्रममा मैले थाहा पाएँ, ती मेसिन जस्ता डाक्टरहरू जो आफ्नो र अर्को छुट्याउँदा रहेछन् । ती मानव नै हुन्, तिनको सोचाइले थोरै ठाउँ छोड्यो भने के पो हुन्छ होला ? केही समयदेखि यस्तै तनावले घेरिरहेको बेला फेरि अर्को तनाव थपियो ।
एक जना आफन्तले साह्रै अप्ठ्यारो पर्यो भनेपछि पाँच लाख ऋण खोजेर उनको अप्ठ्यारो टारिदिएँ । तिनले त अरूको जग्गा आफ्नो हो भनेर देखाउँदै झन्डै तीन करोड ऋण लिएका रहेछन् । घरजग्गाको कारोबार गर्ने उनको कुरा मान्छेले नपत्याउनु पनि कसरी ! उपाय नभएर तिनी परिवारसहित डेरै छाडेर भागेछन् । ६–७ महिनादेखि घरभाडा नतिरेकाले घरधनीले ढोकाको चाबी नै फुटाल्यो भन्ने सुनेँ । आफन्तले मोबाइल स्विच अफ गरेका छन् । तीसँग सम्पर्क बन्द भयो । तिनका लागि लिइदिएको पाँच लाख कसरी तिर्ने ? यो तनावले फेरि एउटा गह्रुँगो पहाडले टाउको थिचे जस्तो भएको छु म ।
मान्छे यस्ता अनेक तनाव बोकेर बाँच्दोरहेछ । मैले तनावहरू सम्झँदै गएँ । मेरी सानीमाले दिएको तनाव, सानीमाको छोराले दिएको तनाव, काकाले दिएको तनाव; सबैभन्दा ठुलो तनाव त आफन्तले दिएको तनाव हुँदो रहेछ । तनावका शृङ्खलाहरू खोज्दै जाँदा थुप्रै भेटिन्छन् । म तिनका अनुहार सम्झन्छु– सामाजिक अगुवा, राजनीतिज्ञ, साहित्यकार, व्यापारी; यस्ता अनेक जात थरका केही नामहरू, जो परपीडक हुनुमा खुसी हुन्छन् । यी तनावका कुराले मलाई नमिठोसँग दुखाउँछ । शिक्षकले तनाव लिँदा विद्यार्थीको भविष्यमाथि खेलवाड हुन्छ, डाक्टरले तनाव लिँदा बिरामीको स्वास्थ्यमा खेलबाड हुन्छ, कर्मचारीले तनाव लिँदा देशको अर्थव्यवस्था कमजोर बन्छ, राजनीतिज्ञले तनाव लिँदा देश नै बर्बाद हुन्छ । यो देशसँग प्रत्येक नेपाली नागरिकको नाता छ । ती कसैको तनावको सम्बन्ध देशसँग जोडिएको हुन्छ ।
तनावका स्वरूपहरू सम्झँदै जाँदा बेसरी चिमट्छ मेरो मनलाई । मान्छेले मान्छेलाई किन तनाव दिएको होला ? तनाव दिनु पनि त अपराध हो । अपराधबोधले तिनलाई सताउँदैन कि क्या हो ! तनावै नदिए मान्छे फुक्का भएर बाँच्दो हो । निस्फिव्रक्र हाँस्दो हो । मान्छे, मान्छे जस्ता हुँदा हुन्; देश, देश जस्तो हुँदो हो । मलाई घरी घरी देशसँग रिस उठ्छ । यो देश उमेर र शक्ति भएका युवा किन विदेश पठाउँछ ? देश रोजगार नदिएर लन्ठु बनाइरहेको छ, आफ्ना नागरिकलाई । अनि उठ्नै नसक्ने गरी तनावको पहाडले थिचिएका छौँ हामी । कल्पना गर्छु, तनाव नभए हाम्रो जीवन कति खुसी र सुखी हुन्थ्यो होला । म यस्तो एउटा समाज होस् भन्ने चाहन्छु, यस्तो एउटा देश होस् भन्ने चाहन्छु; जहाँ मान्छेले मान्छेका कारण तनाव नबोकुन्, सर्वाेच्च विचार बोकेर बाँचून्, तिनका मनभरि मुस्कुराइरहून् रङ्गीबिरङ्गी फूलहरू । ती हिमाल जस्तै अग्लो बनून् ।