• १० मंसिर २०८१, सोमबार

दसैँले सम्झाएको गाउँ

blog

अब त गाउँ सम्झन दसैँ आउनुपर्ने भएछ । हो, मलाई पनि यस्तै अनुभूति भइरहेछ । दसैँ आउँछ, गाउँ भरिन्छ, गाउँ साँच्चिकै गाउँ जस्तो देखिन्छ । भुरुरुरु उडेर वा मोटरमा गुडेर आएका चार दिने गाउँका पाहुनाहरू त्यसै गरी उडेर वा गुडेर जान्छन् । गाउँ पूर्ववत् शून्य हुन्छ । गाउँ यथार्थमा गाउँ जस्तो रहन्न । गाउँको वर्तमान अवस्था यस्तै छ । दिन दुगुना, रात चौगुना गाउँको रूपरङ्ग यसै गरी बदलिएको छ ।

पोहोर साल जस्तै मलाई यस पाला पनि दसैँले गाउँ सम्झायो । मातापिताले दसनङ्ग्रा खियाएर आर्जेको भूमिको सम्झना गरायो । उहाँहरूका पौरखले ठड्याएको तीनतले घरले मोहित तुल्यायो । आफैँले चहारेको खेतबारी, पाखोपखेरो र वनजङ्गलको सम्झनाले मनलाई आन्दोलित गरायो । ८० उन्मुख दाइको हातबाट टीका लगाउने रहरले कुत्कुत्यायो । म हौसिएँ, रौसिएँ, मेरो ७० वर्षे ज्यानमा अकल्पनीय ऊर्जा आयो । उडेर जाने हो कि गुडेर, थाहा छैन । बिनापूर्वतयारी उड्ने कुरामा विश्वास भएन । म एक थान लुगा झोलामा हालेर बसपार्क पुगेँ । 

हामी काठमाडौँबाट बुटवल र बुटवलबाट तम्घासको बस चढेर कालिका मोड ओर्लियौँ । त्यहाँबाट दस मिनेटको बाटो कृषि सडकमा पाइला चाल्दै गर्दा मेरो गाउँघर पूरै आफ्नै घर जस्तो लाग्यो । म घर घरमा पस्दै गएँ । मैले देखेँ– ममाथिको पुस्ता मेरो गाउँमा छैन । मेरा दाजुभाउजूहरू छन् । भाइभतिजाहरू छन् । जति छन्, ज्यादै कम छन् । पढ्न नसकेका र गाउँ छोडेर अन्त जाने सामथ्र्य नभएका मात्र छन् गाउँमा । केही नगन्य युवा छन् गाउँमा । जो छन्, ती मास्टर छन् । व्यापार व्यवसायमा लागेका छन् । एक प्रकारले युवाविहीन, शिशुविहीन देखियो मेरो गाउँघर । 

दसैँ जस्तो महान् पर्वमा अग्रजको आशीर्वाद लिन सन्ततिहरू गाउँमा नजानुको गम्भीर रहस्य पत्ता लगाउँछु । सहरमा बस्ने सहस्र सन्तान लुँडो लागेर गाउँ जानुभन्दा त बरु बुढाबुढी सुरुक्क सहर पसे वेश भयो नि ! उदाहरणका लागि मैले ८८ वर्षीय दाजुलाई सम्झिएँ, छ भाइका परिवार काठमाडौँमा जमेर बसेका छन् भने उतै रमाइलो । 

मेरो जिल्ला जागिर खानेमा पनि माहिर छ । केही वर्षयता लोक सेवा पास गर्नेमा प्रथम हुँदै गएको छ गुल्मी । मेरै गाउँको कुरा गर्ने हो भने एकै बाबुआमाका तीन भाइ सन्तान नेपाल सरकारको सचिव र सहसचिवमा कार्यरत छन् । केही पत्रकार छन्, केही वकिल र केही प्राध्यापक छन् । यस्तो भएपछि गाउँ त रित्तिने नै भयो नि !

मैले मेरो गाउँको अवस्था देखेर यस्तै अनुमान लगाउँछु, गाउँको युवा अध्ययन र अवसरको खोजीमा सहर वा राजधानी पसेको छ । राजधानीको मानिस वृत्ति विकासका लागि विदेश पलायन भएको छ । विदेश गएको मानिस नेपाल फर्कंंदैन । सहर पसेको मानिस गाउँ आउँदैन भने भविष्यको गाउँ कस्तो होला ? मैले मेरो गाउँको मात्र कुरा गरेको छैन, समग्र नेपालका गाउँको अवस्थाको परिकल्पना गरिरहेको छु । 

मेरो गाउँका प्रायःजसो घरहरू जस्तापाताले छाएका तीनतले छन् । मेरा जिजुहजुरबाले किनेको दुई सय वर्षअघिको पुरानो तीनतले घर अझै पनि सुन्दर मुहार लिएर उभिएको छ । मेरा मातापिताले एक सय वर्षअघि बनाएको म जन्मेको घर त्यसै गरी ठडिएको छ । कम्तीमा मुडीहात चौडा गारोमा बनेका ती घरलाई नब्बे सालको भूकम्पले पनि छोएन र बहत्तर सालको भूकम्पले पनि क्षति पु¥याएन । क्षति पु¥याउन सक्थ्यो तर लिपपोतले घरलाई प्राणदान दियो र आगोको धुवाँले प्राणवायु सञ्चार ग¥यो अनि अमर भए यी घरहरू । लाग्छ, यसै गरी संरक्षण पाएमा मेरो मावली घरले जिएको तीन सय वर्षको आयु जिउने छन् यी घरहरूले पनि ।

अब भने ती घरमा बस्ने मानिसको अभाव खट्किन थालेको छ । कसैले वल्लो पल्लो गाउँबाट विपन्न वर्गका मानिस खोजेर राख्ने गरेका छन् तर हामी दुई भाइ यस अर्थमा भाग्यमानी छौँ, हामीले आफ्नै भतिजालाई संरक्षणको जिम्मा दिएका छौँ । त्यसै भएर त आफ्नै घरमा बस्ने सौभाग्य पाएका छौँ । भविष्यको कुरा बेग्लै ।

मलाई गाउँको माया छ । आफ्ना मातापिताले आर्जेको जग्गा–जमिन र घरको माया छ । त्यसै भएर त मैले पैतृक सम्पत्ति एक इन्च पनि बेचेको छैन र औपचारिक बसाइँसराइ पनि गरेको छैन । गौरवसाथ भन्न पाएको छु, “मेरो घर दार्सिङ्बास गुल्मी हो, म दार्सिङ्बासे माइँलो हुँ ।” 

मैले तितोसत्य बोल्नु पर्छ– मेरा दाइले धेरै पढ्न सक्नुभएन, त्यसैले म भाग्यमानी ! मेरो भाइ भाग्यमानी ! पढ्न नसकेकै कारण दाइ गाउँमै बस्नुभयो र दाइकै पिँडो थाम्यो जेठो भतिजोले पनि । दाइ बसेकै कारण दाइको घर सुरक्षित भयो । भतिजोले दाइकै पिँडो थामेको कारण हामी दुई भाइको नाममा रहेको मातापिताद्वारा निर्मित बुढो घर पनि सुरक्षित भयो । यसै भएर त मेरी आमाले मलाई धर्ती टेकाएको घरको मझेरीलाई नमन गर्न पाएँ र त्यसै ठाउँमा बसेर भोजन गर्न पाएँ ।  म अहिले कल्पना गर्छु, दाइले पढेर जागिर खाएको भए उहाँ कहाँ हुनुहुन्थ्यो होला ! मेरा सन्तान जस्तै उहाँका सन्तान पनि कहाँ कहाँ पुगेका हुन्थे होलान् ! त्यो घर, त्यो जग्गा आज कसको संरक्षणमा हुन्थ्यो होला ! मैले मेरो घर, मेरो जग्गा भनेर गाउँ जान पाउने थिएँ कि थिइनँ होला ! सत्यलाई साक्षी राखेर भन्छु– एउटो पछि नपरीकन अर्काेले अघि बढ्ने सौभाग्य पाउँदो रहेनछ । एउटालाई नढालीकन अर्काे विजयी हुन नसक्दो रहेछ । प्रथम श्रेणीमा प्रथम हुन सबै प्रतिस्पर्धीलाई जित्नुपर्दाे रहेछ । 

त्यो दसैँ, यो दसैँ

पहिले पहिले बुढो घरमा मनाउने गरेको दसैँ यसपाला दाइ छुट्टीभिन्न भएर बसेको घरमा मनाइयो । दाइका सन्ततिहरूको सघन उपस्थिति त्यहीँ भयो । अग्रज पुस्ताबाट अनुज पुस्तालाई टीका लगाइदिने  म अघि बढ्यो । राता अक्षता र जमराले निधार रङ्गियो । आशीर्वाद लिनेदिने कुरामा कन्जुस्याइँ भएन तर मातापिता छँदाको दसैँको अनुभूति भने गर्न पाइएन । घरमा थरीथरीका रोटीहरू पाकेनन् । घैँटाभरि चापिएको काँव्रmाको अचारको के कुरा, एउटा काँव्रmो पनि देख्न पाइएन । केराका घरी पाकेनन्, कुरौनी घोटिएन । एक जना भतिजोले बुटवलबाट किनी ल्याएको बोडीको तरकारी पाक्यो । अर्काे भतिजोले टक्सार बजारबाट किनी ल्याएको दहीले अक्षता मुछियो र किनेकै दुध हालेर चिया खाइयो । पहिले जस्तो “फलफूल बेच्नु हुन्न, तिहुन तरकारी बेच्नु हुन्न, गोरस बेच्नु हुन्न । बेचियो भने घोर पाप लाग्छ” भन्ने स्थिति अब रहेन ।

यातायातसँगै व्यापारी बन्यो मानिस । पल्लो घरले आफ्नो उत्पादित वस्तु बजार पु¥यायो, वल्लो घरले त्यही किनेर ल्यायो । यस्तै बन्दै गएछ हिजोआज 

गाउँघरको चलन । 

यसै बेला मलाई बाल्यकालको मधुर स्मृति भइरह्यो । घरपछाडिको गोठमा बाँधिएका चार वटा भैँसीमध्ये तीन वटा दुहुना थिए । घरअगाडिको गोठमा बाँधिएका नौ÷दस वटा गाईमध्ये दुई वटा गाई दुहुना थिए । कुँडेभरी दुध तात्थ्यो । दुध, दही, मोही र घिउको छेलोखेलो । मोही त के खाइसक्नु भैँसीले नै खान्थ्यो । परिवारले खाएर बढी भएको दुध ठेकीमा जमाइन्थ्यो । मोही पारिन्थ्यो र निस्केको नौनी खारेर बटौली पु¥याइन्थ्यो । नुन, मट्टितेल, लत्ताकपडा र भाँडाकुँडाको जोहो त गर्नुप¥यो नि !

जङ्गल बन्दै छ गाउँ

गाउँको बदलिँदो अवस्था देखेर मेरो मस्तिष्क चक्करायो– गाउँ अब कता जाँदै छ र के हुँदै छ ? घर घरमा पानी छ । पाखोभरि घाँसदाउरा छ । जमिन उर्वर छ तथापि केही घरमा ताला लगाइएको छ, केही घरबारीहरू पराईलाई जिम्मा लगाइएको छ । घर वरिपरिको जमिनमा अनाज वा सागपात लगाइएको छ, बाँकी जमिन बाँझिएको छ । जमिन जोत्ने गोरु गाउँमा छैनन्, केही गरौँ भन्नेले हातेट्याक्टर राखेका छन् । ढिकी, जाँतो पुराताìिवक बनेर ढुङ्गामुडासरी कुनामा फ्याँकिएका छन् । कुटान पिसानका लागि सगोलमा मेसिनहरू राखिएका छन् ।  बस्तुभाउ पाल्न छाडेपछि भएका गौचरनहरू झाडी बन्दै गए । झाडी जङ्गलमा परिणत हुँदै गए । खुला चौर जङ्गल भएपछि के हुन्छ ? बाँदरको राज हुन्छ । दुम्सी र भालुले सताउँछ । मृग र मलसाँप्रोले भएको बालीनाली नास गर्छ । अहिले भइरहेको छ त्यही । 

गाउँको मानिस अल्छी भयो । उसले मोटरमार्गबाहेक अरू गोरेटा बाटाहरू प्रयोग गर्न छाड्यो । दुर्गा लागेपछि बाजागाजासहित खनिने बाटाघाटाहरू खनिन छाडे । दसैँको बेला मान्यजनको हातको टीका लगाउनका लागि लाम लागेर वारिपारि गर्ने मानिसहरू देखिन छाडे । दुर्गा मन्दिरमा भेला हुने, रौनक र उत्साहका साथ दुर्गाको पूजाआजा गर्ने बलि दिने र वीरताको प्रतीक सरायँ खेल्ने प्रव्रिmयामा पूर्णविरामै त लागेको होइन, शून्यता छायो । 

गाउँमा जन्मेर सहर पसेको मानिस “मेरो गाउँ कस्तो भएछ त !” भनेर गाउँ जाला तर सहरमा जन्मेको मानिसलाई गाउँको के माया ? यस्तै सहरमा जन्मेर विदेश गएको मानिस आफू जन्मेको भूमि सम्झेर नेपाल फर्किंदै गर्ला तर विदेशमा जन्मेको उसको सन्तानलाई नेपालको के माया ? विदेशमा जन्मेको मानिस नेपाल नफर्कंंदैमा नेपालै त नरित्तिएला तर गाउँ त रित्तिन्छ नि ! त्यसबेला उसको नाममा रहेको गाउँको जग्गाको स्वामित्व कसको नाममा हस्तान्तरण हुन्छ ? जङ्गलमा परिणत भएका त्यस्ता बेवारिस जग्गाहरू आखिर सरकारी नियन्त्रणमा त पुग्लान् नि ! 

न चङ्गा देखियो न पिङ

युवाका लागि हुन् चङ्गा र पिङ । गाउँमा युवा बस्दैनन् । कसले उडाउने चङ्गा र कसले हाल्ने पिङ ? गाउँमा जन्मेका युवा त छन् तर ती गाउँमा होइन, वृत्ति विकासका लागि सहरमा बस्छन् । दसैँ जस्ता चाडपर्वहरूमा पाहुना बनेर गाउँ जान्छन् र फर्कन्छन् । तिनलाई के चासो चङ्गा र पिङको ? तिनलाई के थाहा चङ्गा र पिङको महìव ।

करिब तीन सय वर्षअघि चीनबाट भित्रिएको चङ्गा हाम्रो संस्कृति बनिसकेको छ । चङ्गा उडाउँदा हाम्रो मनमस्तिष्क चङ्गासरी उड्छ । शरीरमा फूर्ति र आनन्द प्राप्त हुन्छ । “पानी धेरै परिसक्यो, अब पानी नपारिदिनू” भन्ने सन्देश इन्द्रसमक्ष पु¥याएको सन्देश दिन्छ चङ्गाले । दिवङ्गत आत्मासँग सम्पर्क स्थापना गर्ने सेतुका रूपमा पनि चङ्गालाई लिइन्छ । यसै गरी मानिसले वर्षमा एकचोटि पृथ्वीको टेकाइबाट मुक्त हुनु पर्छ भन्ने सङ्केत पनि पिङले दिन्छ । के थाहा यस्ता कुरा वर्तमान पुस्तालाई ?

तर म विगत सम्झेर हैरान हुन्छु– बाबियो काटेर तिजमै पिङ बाटिन्थ्यो र खेलिन्थ्यो । त्यसै गरी चङ्गा उडाएर दसैँलाई आमन्त्रित गरिन्थ्यो तर अहिले न मैले चङ्गा उडेको देख्न पाएँ न त पिङ खेलेको । हो, मैले अवश्य देखेँ बलेटक्सार बजारमा लिङ्गेपिङ र मावली गाउँमा रोटेपिङ तर जाँतेपिङ कहीँ पनि देखिनँ । 

विद्यालय विस्थापन र औद्योगिक आकर्षण

ठुलो सङ्घर्षबाट स्थापित भएको मेरै गाउँको कमलडाँडा प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढेर एकताका करिब दुई सय पुगेको थियो । त्यसै अनुरूप शिक्षकहरू व्यवस्थापन गरिएका थिए तर परिवर्तित कालखण्डमा गाउँमा युवा रित्तिँदै गए । युवा नै नभएपछि शिशुको कल्पना गरिरहनु परेन । हुँदा हुँदा विद्यार्थी सङ्ख्या घट्दै गयो । दसबाट पनि ओरालो लाग्न थालेपछि शिशुकक्षा सञ्चालनार्थ एक जना शिक्षिका व्यवस्था गरेर स्कुल भवन खाली गरिएछ र थप संरचनाहरू बनाएर उखु मिल राख्ने व्यवस्था मिलाइएछ । सरकार र उपभोक्ताको आधा आधा लगानीमा मेसिन आएर पनि जडानको स्थितिमा पुगिसकेको स्थिति रहेछ । यसलाई मैले कुन रूपमा लिऊँ ? हर्षबढाइँ गरूँँ कि निराशा व्यक्त गरूँ ?

हो, आधुनिकताले गाउँका मानिसलाई तीव्र रूपमा छोएको देखियो । पिच रोडमा बस–मोटर गुड्छन्, कृषि रोडमा ट्याक्टर र जिप गुड्छन्, घरका आँगनमा बाइक पुग्छन् । किन हिँडिरहने एक किलोमिटर पनि ? बजारमा जे चाह्यो त्यही पाइन्छ । पैसा सहर वा विदेशबाट हात लागिहाल्छ, किन पाल्ने गाईवस्तु ? किन गर्ने खेती ? किन काट्ने घाँस र किन खोज्ने दाउरा ? फोन गर्नेबित्तिकै आइहाल्छ चामलको बोरा, दाल, तरकारी, दुध, दही र ग्यास सिलेन्डर । 

गाउँको अवस्था देखेर म केही अर्थमा खुसी पनि भएँ, केही अर्थमा दुःखी । गाउँ गाउँ जस्तो रहोस् र गाउँको सर्वाङ्गीण विकास होस् भन्ने मेरो चाहना पूर्ण रूपेण पूरा हुन पाएन तथापि विद्यमान गाउँको दोस्रो ज्येष्ठ नागरिक आफ्नै सहोदर दाइको हातबाट टीका लगाउन पाएँ । ९० वर्ष नाघेका साहिँला मामा र ठुलाकान्छा मामाको हातबाट पनि टीका ग्रहण गर्न पाएँ, मावली भाइहरूबाट सम्मान पाएँ । र, फर्कंंदै गर्द शृङ्गी ऋषिको हिउँदे तपस्थल (मुख्य तपोभूमि रेसुङ्गा) शृङ्गा लेकको भौतिक विकास पनि प्रत्यक्ष देख्न पाएँ ।

पैदल बाटो फर्कंंदै गर्दा मैले पहिलेको प्राकृत भूगोल सम्झेँ– बाटोको छेउछाउमा आकाशै ढाकेर उभिएका विशालकाय बर, पिपल र समीहरू देखिएनन् । ती सबै मोटरबाटोले खाइसक्यो । पोखरीहरू देखिएनन् । गाईबस्तु नै नभएपछि पोखरी किन चाहियो ? पाटी–पौवा र चौताराहरू पनि देखिएनन् । बाटोमा हिँड्ने बटुवाहरू नै नभएपछि बास किन चाहियो ?

जेसुकै भए पनि दसैँले सम्झाएर जन्मगाउँ पुग्न पाउँदाको उपलब्धि सार्थक नै भयो । प्रकृति र संस्कृतिको अनुपम पर्व, फूलको सुवास र मालश्री धुनले अनुगुञ्जित पर्व, हिन्दुकेन्द्रित तर सबै जसो जातजाति र धर्मावलम्बीले आंशिक रूपमा मनाउँदै आएको पर्व, महान् दसैँ पर्वप्रति म अनुगृहित भएँ ।   

Author

रामप्रसाद पन्त