सिराज खान
नेपालगन्ज, असार ३२ गते । भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली बाँकेको कोहलपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सबै कालिकोटका बासिन्दा हुन् ।
उनीहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद सात लाख ८७ हजार रुपियाँ बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारि दिनुभयो ।
पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पंकज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री रहेको प्रहरी नायब उपरिक्षक खनालले बताउनुभयो ।
उहाँका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका ११ स्थित होटल न्यु कालिकोटेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू भारतको दिल्लीस्थित एक घरबाट धनमाल लुटेर आई त्यहाँ बसिरहेका थिए ।
पक्राउ परेकामध्ये २८ वर्षीया सरिता करिब एक वर्षअघि नयाँ दिल्लीस्थित सो घरमा काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट समूहका सदस्यहरुको योजनाअनुसार नै सरितालाई सो घरमा काम गर्न लगाइएको थियो ।
घरेलु कामदार बनेर विश्वास जितेपछि घरधनी नभएको मौका छोपी गहना र नगद लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका लागि सात दिनको थुनामा राख्न म्याद दिएकोमा थप अनुसन्धान भइरहेका कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।