बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार ३२ गते । बीपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्री हिँड्डुल गर्नका लागि सडक पेटी निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले कमलामाई नगरपालिकाको माझिटार, मल्लागाँउ, भिमान र गोलन्जोर गाउँपालिकाको खनियाखर्क क्षेत्रमा बीपी राजमार्गमा जोडेर सडक पेटी(फुटपाथ) निर्माण गरेको हो । सडक पेटी निर्माणसँगै पैदलयात्रीलाई हिँड्डुल गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।
मल्लागाउँ क्षेत्रमा विगत डेढ महिनादेखि बीपी राजमार्गको क्षेत्राधिकारभित्र पैदलयात्री हिँड्डुलका लागि सडक पेटी निर्माण कार्य भइरहेको स्थानीय बलराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसको बढी चहलपहल हुने ठाउँ हेरेर बीपी राजमार्गमा बनाएको सडक पेटीले पैदलयात्रीलाई धेरै सजिलो भएको छ ।’
‘बीपी राजमार्ग साँगुरो भएका कारण उक्त सडक पेटी नहुदा पैदलयात्रीलाई हिँड्डुल गर्न साह्रै जोखिम र कठिन थियो,’ उहाँले थप्नुभयो, ‘सवारी चापका कारण हरेक दिन बिहान ९ बजेपछिदेखि एक÷दुई बजेसम्म बीपी राजमार्ग निकै व्यस्त रहन्छ । त्यो समयमा बाटो पैदलयात्रीलाई बाटो काट्न पनि मुस्किल हुन्छ ।’
केडिएन ब्रदर्श प्रालिले एक करोड ३४ लाख रुपियाँको लागतमा मल्लागाउँमा ४६० मिटर र खनियाखर्क क्षेत्रमा ३६० मिटर लम्बाइको सडक पेटी निर्माण काय गरिरहेको छ । त्यस्तै सुनापाती कन्ट्रक्सन प्रालिले एक करोड १२ लाख रुपियाँ लागतमा माझीटारमा तीन सय मिटर लम्बाइको र रोईलिङ् कन्ट्रक्सन प्रालिले भिमानमा पाँच सय मिटर लम्बाइको सडक पेटी बनाइरहेको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ ।
सडक पेटी निर्माण रेखदेखमा संलग्न कार्यालयका प्राविधिक नवीन चौलागाईले सडक पेटीको चौडाइ डेढमिटर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक पेटी निर्माण कार्य मल्लागाउँ क्षेत्र अन्तिम चरणमा पुगेको छ । माझीटारमा ७५ प्रतिशत, भिमानमा ९५ प्रतिशत सकिएको अवस्था छ ।’
आवश्यकता अनुसार रिटेनिङ्वाल, छेउमा रेलिङ् र इटा बिच्छ्याएर प्राविधिक स्टिमेट अनुसार सडक पेटी निर्माण कार्य भइरहेको उहाँको भनाइ छ ।
सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक (बीपी राजमार्ग) आयोजनाले गत वर्ष पनि बीपी राजमार्गको मल्लागाउँ, रातमाटा, माझीटार क्षेत्रमा सडक पेटी निर्माण गरेको र निर्माणमा लापर्बाही गर्नाले माझीटार क्षेत्रमा सडक पेटी भत्किएको अवस्था रहेको स्थानीयले गुनासो गरेका छन् ।