• १ साउन २०८२, बिहिबार

पाँच करोडको अवैध सामान बरामद

blog

सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ३२ गते। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले छ महिनामा करिब पाँच करोड बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ। 

चाड पर्व नजिकिएसँगै अवैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले छ महिनामा चार करोड ९० लाख ९ हजार २८३ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले बताउनुभयो। 

सरकारले निर्धारण गरेको सामान भन्दा बढी सामान ल्याउने माथि समेत निगरानी गरिरहेको सशस्त्र प्रहरी एसपी खनालले बताउनुभयो। उहाँले सशस्त्र प्रहरीले नाकामा सरकारको नीति पालना गरेको जनाउँदै एक सय रुपियाँ भन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने नियमलाई कडाईका साथ पालना गरिएको बताउनुभयो। 

उहाँले असार महिनामा  एक करोड आठ लाख १६ हजार ५५५ रुपियाँ बराबरको अवैध सामान बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको जानकारी दिनुभयो। एसपी खनालले लुम्बिनी प्रदेश सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरको निर्देशनमा बाँके जिल्लामा मातहतका सबै युनिटमा कडाई गरिएको बताउनुभयो। 

सशस्त्र प्रहरीले नाकामा कडाई गरेपछि अवैध आयात गर्ने त्रसित भएका छन्। प्रहरीले कडाई गरेपछि काम ठप्प भएको उनीहरूको भनाइ छ।