• ३२ असार २०८२, बुधबार

'अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ'

blog

काठमाडौँ, असार ३२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । 

संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारसँगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुने छ भन्ने मैले अपेक्षा गरेको छु ।’ 

उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको  सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो ।