• २२ वैशाख २०८१, शनिबार

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग

हाइब्रिजका लागि ८२ मिटर अग्ला खम्बा

blog

लेनडाँडा (मकवानपुर), कात्तिक २५ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् ।

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताउनुभयो । उहाँले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताउनुभयो । आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।

प्रमुख सेनानी श्रेष्ठले निर्माणाधीन तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अहिलेसम्म ३.१५३ किलोमिटर अर्थात् ४९.१६ प्रतिशत सुरुङ निर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार महादेवटार सुरुङ मार्गको कुल लम्बाइ ३.३५५ किलोमिटरमध्ये अहिलेसम्म १.४९० किलोमिटर, धेदे्र सुरुङ मार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये अहिलेसम्म ८०६ मिटर र लेनडाँडा सुरुङ मार्गको कुल लम्बाइ १.४३ किलोमिटरमध्ये अहिलेसम्म ८५७ मिटर सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने सुरुङ मार्गको कुल लम्बाइ १०.०५५ किलोमिटर छ ।

उक्त आयोजना अन्तर्गत छ वटा सुरुङ मार्ग निर्माण गर्नुपर्नेमा अहिलेसम्म तीन वटाको ठेक्का लगाउन बाँकी छ । ठेक्का लगाउन बाँकी रहेका देवीचौर सुरुङ मार्गको लम्बाइ एक किलोमिटर, सिसौटार सुरुङ मार्गको लम्बाइ ०.३९ किलोमिटर र चन्दाम भीर सुरुङ मार्गको लम्बाइ २.२५ किलोमिटर हुने छ ।

छ प्याकेजको ठेक्का लगाउन बाँकी

आयोजनाका ११ क्लस्टर अन्तर्गतका कुल १३ वटा निर्माण प्याकेजमध्ये प्याकेज एकदेखि सातसम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । अरू प्याकेजको भने ठेक्का लगाउन बाँकी छ । आयोजनाका अनुसार प्याकेज नम्बर ८ ‘क’ तथा ९ ‘क’ र ‘ख’ का लागि गत असार २८ गते ठेक्का आह्‍वान गरिएको र अहिले मूल्याङ्कन प्रक्रिया चलिरहेको छ । प्याकेज नम्बर ८ ‘ख’ का लागि भदौ १ गते आह्‍वान गरिएको ठेक्कामा सहभागी निर्माण कम्पनी प्राविधिक रूपमा अयोग्य ठहरिएपछि कात्तिक १२ गते पुनः बोलपत्र आह्वान गरिएको छ । त्यसै गरी प्याकेज नम्बर १० का लागि भदौ १ गते आह्‍वान गरिएको ठेक्कामा भाग लिएका कम्पनीको प्राविधिक मूल्याङ्कन गर्ने काम भइरहेको छ ।

जग्गा अधिग्रहण गर्न बाँकी

द्रुतमार्ग आयोजना अन्तर्गत जग्गा अधिग्रहणको काम भने अझै सकिएको छैन । आयोजनाका अनुसार अहिलेसम्म ललितपुरको खोकनालगायत विभिन्न ठाउँमा गरी ४०६ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ । आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा लिइएको ललितपुरको खोकना प्याकेज नम्बर ११ अन्तर्गत पर्छ । यो प्याकेजमा ५.६ किलोमिटर सडक बनाउनु पर्छ तर अहिलेसम्म यस क्षेत्रमा जग्गा विवाद समाधान हुन सकेको छैन ।

आयोजनाका लागि कुल १५ हजार ४१६ रोपनी जग्गा आवश्यक पर्नेमा त्यसमध्ये १० हजार २४४ रोपनी सार्वजनिक जग्गा हो । निजी चार हजार ७६६ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । खोकना क्षेत्रका जग्गाधनीले मुआब्जा लिइसकेका छन् तर केहीले भने पुरानै दरमा मुआब्जा लिन मानेका छैनन् । 

पछिल्लो पटक आयोजनाको समय २०८३ चैतसम्म थपिएको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशत छ । आयोजनाको लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ रहेको छ । २०७४ वैशाख २१ गतेको मन्त्रीपरिषद् बैठकले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७४ जेठ १४ गते दु्रतमार्गको शिलान्यास गर्नुभएको थियो ।