नवराज नेपाली
बागलुङ , असोज २ गते । बागलुङको ताराखोला गाउँपालिकामा स्याउ खेतीको परीक्षण सफल भएको छ । ताराखोला गाउँपालिका–५ ठुलो हिलेको विभिन्न ठाउँमा परीक्षणका लागि उच्च घनत्वको स्याउको बिरुवा रोपिएको थियो । दुई वर्षअघि रोपेको स्याउका बिरुवामा यस वर्षदेखि फल लाग्न थालेको हो ।
तीन वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउ खेती अहिले व्यवसायिक खेतीमा परिणत भएको छ ।
रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा एक सय बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । रोयल रेड र इटालिएन फुजी जातका स्याउको बिरुवा लिएर लगाउनुभएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उहाँको बगान चार रोपनीमा फैलिएको छ । उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु ।”
स्याउ खेतीका निम्ति उहाँले एक लाख ५० हजार लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो ।
ताराखोला गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा एक सय ८० वटा बिरुवा रोपिएको थियो । रोटा, फुजी र रेड डेलिसियस जातका स्याउका बिरुवामा फल लागेको छ ।
ताराखोलामा यसअघि स्याउ खेती भएको थिएन् । समुद्र सतहदेखि २३ सय ५० देखि २४ सय मिटरमा फैलिएको ठूलोहिलेमा स्याउ खेतीको सम्भावना देखेपछि परीक्षणका लागि बिरुवा ल्याएर रोपिएको हो । पूर्ण रुपमा स्याउ पाकेपछि गुणस्तर र स्वाद पहिचान गर्ने तयारी छ रहेको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।
स्वाद परीक्षण गर्दा उपयुक्त देखिएमा यस वर्ष गाउँपालिका थप फलफूल बगैंचा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्दीप थापाले बताउनुभयो ।