• २ असोज २०८२, बिहिबार

तनहुँमा बेवारिसे अवस्थामा घाइते फेला

blog

बेवारिसे अवस्थामा फेला परेका घाइते । तस्बिर : गोरखापत्र

अमरराज नहर्की
तनहुँ, असोज २ गते ।
तनहुँको व्यास नगरपालिका–५ कन्टारमा बेवारिसे घाइते फेला परेका छन् । नामथर नखुलेका ३५–४० वर्षका पुरुष लडी अचेत भएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  

प्रहरी टोली तुरुन्त खटिएको र मङ्गलबार राति घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको थियो । थप उपचारका लागि पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) भेन्टिलेटर कक्षमा रिफर गरिएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सिरियस छ र हालसम्म बोल्न सक्ने अवस्था छैन । उहाँको बायाँ आँखाभौं माथि, बायाँ गाला र दायाँ कन्चटमा चोट लागेको छ ।

हालसम्म घाइतेसँग कुनै आफन्त सम्पर्कमा आएका छैनन् । निजलाई चिन्ने वा भेट्न चाहने व्यक्तिहरू जिल्ला प्रहरी कार्यालय तनहुँ वा सो अस्पतालमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।