काठमाडौँ, भदौ ३० गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको सोचबमोजिम काम गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार पद बहालीपछि भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्ने अठोटका साथ काम गर्नसमेत सचिवहरूलाई सुझाउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायका सचिव र उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “२७ घण्टाको आन्दोलनमा कायापलट गरेको समूहले मागेको कुरा भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको माग पूरा गर्न हामी–तपाईंहरूले अठोट गर्नुपर्ने अवस्था छ ।”
“जुन परिस्थितिमा म आएको छु, रहरले आएको होइन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनु प¥यो । म कुनै सत्ता र यो पदको रसास्वादन गर्न आएको होइन,” उहाँले भन्नुभयो, “छ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । छ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने संसद् र मन्त्रीलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन ।”
मुलुकमा भदौ २३ र २४ गते भएको जनधनको क्षति र सार्वजनिक सम्पत्तिमाथिको आगजनी र लुटपाट योजनाबद्ध भएको बताउँदै उहाँले यस विषयमा अनुसन्धान गरी दोषीलाई छाड्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो अपराधीले गरेको हामीमाथिको चुनौती हो । यो मुलुकका विरुद्ध गरेको चुनौती हो ।” मुलुकका अत्यन्त आवश्यक संस्थामा छानी छानी प्रहार भएको बताउँदै उहाँले सर्वोच्च अदालत, उच्च अदालत, तराईका जिल्ला अदालतलगायत सिंहदरबार, सुरक्षा निकाय, प्रहरीका बिट बीभत्स तरिकाले जलाएर प्रमाण, अदालतका फाइल नष्ट गराइएको र यसले ठुलो समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भौतिक संरचना त बनाउन पनि सकिन्छ तर ती रेकर्ड, ती जमानाका फाइल, ती विवरण सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ । हाम्रा सुरक्षाकर्मीको पनि देहावसान भयो । देशभरिका सुरक्षाकर्मीलाई दिइएका वाहन अर्को खरिद नगरी नहुने अवस्था भएको छ ।”
मुख्य सचिव एकनारायण अर्यालले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएकाले त्यसको पुनर्संरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनर्निर्माण गरिने स्पष्ट पार्नुभयो ।
सहिद घोषणा गर्ने निर्णय
सो अवसरमा प्रधानमन्त्री कार्कीले प्रदर्शनका क्रममा मृत्युवरण गरेकालाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । त्यसै गरी मृत्युवरण गरेका परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ राज्यका तर्फबाट उपलब्ध गराइने निर्णय भएको उहाँले बताउनुभयो । मृत्युवरण गरेका नाबालक, साना साना स्कुले र कलेजका विद्यार्थी, छात्र छात्राका परिवारलाई आफूले भेटेको र उहाँहरूको आँसु देखेर ज्यादै दुःख लागेको बताउनुभयो । यसैबिच आइतबारै प्रधानमन्त्री कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी सहिदहरूको सम्मानमा सालिकमा मल्यार्पण गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, निकायमा भएको क्षतिबारे मूल्याङ्कन गर्ने निर्णय प्रधानमन्त्रीले गर्नुभएको जानकारी दिनुभयो । त्यसै गरी क्षति मूल्याङ्कन भइसकेपछि त्यसको पुनर्निर्माण (रिभाइभ) गर्न लाग्ने समयबारे कार्ययोजना बनाउन विषयगत मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । त्यसै गरी अहिलेको विषम परिस्थितिमा भएका क्षतिको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सेवा र सामग्री खरिद गर्न खरिद प्रक्रियालाई छिटोछरितो, सरल र प्रभावकारी बनाउन खरिद नियमावलीमा गर्नुपर्ने संशोधनका लागि मसौदा तयार गर्ने निर्णय प्रधानमन्त्री कार्कीले गर्नुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।