• ९ साउन २०८१, बुधबार

डाँडाकाँडाका पनि जरा हल्लिए

blog

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका लगातारका पराकम्पनबाट त्रस्त स्थनीय ।

जाजरकोट (रिम्ना), कात्तिक २३ गते । जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली पहाड, पिल चौर डाँडाका जरा नराम्ररी हल्लिएका छन् । 

पहाडका मात्र होइन, यसको फेदीलाई बास बनाएका मानिसका सास र बास उठे । बारम्बारको पराकम्पनको हल्लाइबाट थामिन धौ धौ भएका अजङ्गका पहाड पनि आड खोजिरहे झैँ हलचल गरिरहन्छन् । भूकम्पको हलचलले धेरै घर बगरका ढुङ्गा गिट्टी जस्तै सोत्र्याम्म भए । नढलेका घर पनि घर जस्ता छैनन् । धेरैको ज्यान गयो । बाँचेका घरमूली र परिवारजन कोही त्रिपालमुनि अनि कोही खुला आकाशमुनि अनिँदो बसिरहेका छन् ।

स्थानीय टीकाराम ओलीले भन्नुभयो, “कतिखेर हल्लिन्छन् यी पहाड थाहै हुन्न, अनि भाग्नुपर्छ ऊ खोलको किनारतिर, कहाँ निदाउन सक्नु ?” उहाँले भने जस्तै यहाँका बासिन्दालाई आफ्नै घर अचेल भूतघर जस्तो लाग्छ । भित्र वा आँगनमै बसे पनि छैन चैन ।

उहाँका अनुसार शुक्रबार राति घरक्क आवाज आएपछि भुइँचालो आएको थाहा भयो । पक्की घरभित्रका दराज र अरू सामान गल्र्यामगुर्लुम ढले भने कच्ची घर सोत्तर भए । छेउकै घर भत्केर दुई जना बिते । 

भत्केका घरका समेटिन बाँकी अनेक सामान चोक, आँगन र सडकमै असरल्ल छन् । श्रीमान् र छोरा भूकम्पमा गुमाएकी २५ वर्षकी माया ओलीले भन्नुभयो, “सामान त बटुल्यौँ तर त्यही सामानले च्यापेका श्रीमान् र छोराको सास बटुल्न सकिनँ ।”

घरको भग्नावशेषले च्यापिएर घाइते भएका उहाँ र अन्य परिवारलाई छिमेकीले बचाएका थिए । उहाँका २७ वर्षीय श्रीमान् पूर्णबहादुर ओली र छोरा परिवेश ओलीको काजकिरिया पनि त्रासकै कारण पाँच दिनमै परिवारजनले फुकाए । पाँच दिनअघिसम्म आफूसँगै रहेको छोरा र श्रीमान् फोटोभित्र अडिए तर उहाँको मन अडिएको छैन । एक्लै टोलाइरहनुहुन्छ । आँखाका किनार आफैँ ठुलीभेरी र सानीभेरी जस्तै रसाइरहन्छन् । 

अर्का स्थानीय नवीन पुनले भन्नुभयो, “घरि घरि त यो मात्रै होइन, यो सिङ्गै डाँडो आएर चेप्छ कि झैँ लाग्छ ।” उहाँलाई यी पहाड र लेकबेँसी खुब मन पर्थे तर अचेल पहाड नभई सम्म मैदान भइदिएको भए भाग्न सजिलो हुन्थ्यो जस्तो लाग्न थालेको छ । १२ वर्षका किशोर भन्नुहुन्छ, “अचेल मलाई रात नपरिदिए हुन्थ्यो जस्तो लाग्छ । सधैँ दिन भएको भए यत्रा मान्छे मर्दैन थिए ।” 

घर भत्किएका मात्र होइन, घर सद्दे भएका पनि खुला आकाशमुनि लहरै त्रिपालभित्र निदाउने कोसिस गर्छन् । मङ्गलबार सडकछेउका एक घरले एक त्रिपाल पाए । बाँकी खुला आकाशमुनि लहरै सुते । पहिले पहिले पालेका कुकुर मात्र बाहिर सुत्थे । अहिले कुकुरका साथमा स्थानीय सुत्न बाध्य छन् । 

वर्षा पुनले अहिलेसम्म यस्तो हलचल अनुभव गर्नुभएको थिएन । खाटमै जुरुक्क उचालेर फालेको स्मरण छ । बिहान घरबाहिर छ जनाका लागि चिया पकाउँदै भन्नुभयो, “भत्केपछि भित्र बस्नै डर लाग्छ । बल्लतल्ल छोराछोरी च्याप्दै सडकमा निस्केका दीपक रानाको परिवार पनि घरभित्र पस्न सक्नुभएको छैन ।”

एकै निमेषमा वडाका आठ जनाले ज्यान गुमाए । बाँचेकाले बचाउन कोसिस गरे तर चोट लागेर पुरिएकाले बाहिर निकालेपछि सास फेरेनन् । नेत्र विक, चामलचिउरो बज्यै भन्ने पूर्णकला पुनलगायत आठ जनाले ज्यान गुमाएका हुन् ।