• २२ वैशाख २०८१, शनिबार

‘फ्लावर अफ इभिल’ मा आधारित ‘दुरङ्गा’

blog

काठमाडौँ, कात्तिक २१ गते । गत वर्ष प्रदर्शन भएको वेब सिरिज चलचित्र ‘दुरङ्गा’ लाई दर्शकले निकै रुचाए । सस्पेन्स, थ्रिलरका कारण शरीर थर थर कपाउन बाध्य बनाउने यस शृङ्खलाको दोस्रो सिजनलाई रोहन सिप्पीले निर्देशन गर्नुभएको छ । सिरिजमा अमित साध, दृष्टि धामी, गुल्सन दैवेया, अभिजित खाण्डेकर, दिव्या सेठ, हीरा मिश्रा, राजेश खट्टर, जाकिर हुसेन, बरखा सेनगुप्ता र निवेदिता सर्राफलगायतका कलाकारको अभिनय छ । चलचित्र साइकोलोजिकल क्राइम थ्रिलर कोरियन ड्रामा ‘फ्लावर अफ इभिल’ मा आधारित छ ।

चलचित्रको कथा १७ वर्ष पुरानो सारङ्गवाडी शृङ्खला प्रकरणबाट सकियो भन्ने सबैलाई लागेको हुन्छ तर छ महिनापछि फेरि यस्तै घटनाले प्रहरी विभागमा हलचल मच्चाउँछ । १४ वर्षदेखि कोमामा रहेका वास्तविक समित पटेल (अमित साध) जब कोमाबाट बाहिर आउँछन् । त्यसपछि चलचित्रको कथाले धेरै कुरा खलबलाउँछ । समितलाई थाहा छ कि उसको नाम प्रयोग गरेर अरू कसैले आफ्नो जीवन बिताइरहेको छ । यता समितका रूपमा दोहोरो जीवन बिताइरहेका अभिषेक बाने (गुल्सन देवैया) लाई आफ्ना बुवाको नराम्रो कुराको पर्दाफास गर्नुका साथै बुवाको हत्याराको पनि पत्ता लगाउनु छ । अभिषेको श्रीमती इरा (दृष्टि धामी) लाई अभिषेक समित होइनन् भन्ने कुराको पत्तो छैन । उनी केवल समितलाई हेरक अप्ठ्यारामा साथ दिन लागिपरेकी हुन्छिन् । उनको र इराको जीवन अहिले पनि पहिले जस्तै अलमलमा भने पक्कै छ । घरमा दुवै सँगै भए पनि सँगै छैनन् । यता जब वास्तविक समितलाई अभिषेकको परिवारभित्रको सबै कुरा थाहा हुन्छ, आफ्नो जीवनमा अराजकता सिर्जना गर्न थाल्छ । के समितले आफ्नो पहिचान फिर्ता लिन सक्छन् ? के उनले आफ्नो परिवारसँग फेरि आफ्नो जीवन बिताउन सक्छन् ? यही कुरा चलचित्रभित्र लुकेको छ । चलचित्रमा समित र अभिषेकको लडाइँ बिल्कुलै भिन्न शैलीमा देखाउन खोजिएको छ । इराले अभिषेकको असली रूप थाहा पाएपछि उनले गर्ने व्यवहार कस्तो होला त । यो कुराले पनि चलचित्रमा धेरै ठुलो तुक राख्छ । 

पहिलो सिजन जस्तै यस सिजनमा पनि सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । अमित साधले आफ्नो चरित्रलाई जसरी प्रस्तुत गर्नुभएको छ त्यो वास्तवमै प्रशंसनीय छ । प्रत्येक दृश्यमा उहाँको अनुहारको भाव अचम्मको छ । गुल्सन देवैयाले आफ्नो उत्कृष्ट अभिनयबाट सबैलाई चकित पार्नुभएको छ । उहाँले अमितलाई कडा प्रतिस्पर्धा दिनुभएको छ । इराको चरित्रमा दृष्टिले पनि आफ्नो मन र आत्मा लगाउनुभएको छ । अन्य सबै कलाकारले पनि प्रशंसायोग्य छ ।

चलचित्रको पछिल्लो सिजनलाई प्रदीप सरकार र एजाज खानले निर्देशन गर्नुभएको थियो भने यस सिजनलाई रोहन सिप्पीले निर्देशन गर्नुभएको छ । गत सिजनमा दर्शकको मनमा उब्जिएका सबै प्रश्नको उत्तर यस सिजनमा एक एक गरेर आउँछन् । अघिल्लो कथामा थप्दै दोस्रो सिजनले दर्शकलाई साहसिक संसारमा लैजान्छ जहाँ सबै कुरा रहस्य र अपराधसँग सम्बन्धित छ । शृङ्खलाको प्रत्येक भागसँगै दर्शकको मनमा उत्साह बढ्दै जाने छ, जसले दर्शकलाई अन्त्यसम्म जोडिराख्ने छ ।