• ११ मंसिर २०८१, मङ्गलबार

सार्वजनिक स्वामित्वमा सञ्चार माध्यम

blog

आज विश्वव्यापी रूपमा हेर्ने हो भने मिडिया हाउस पुँजीपतिहरूको स्वामित्व र नियन्त्रणबाट सञ्चालन भएको पाइन्छ । पुँजीवादको गुणगान गाउन, उनीहरूका उत्पादित वस्तुको प्रचारप्रसार र बजार एकाधिकार गर्न उनीहरूको मिडियामा बढी रुचि भएको पाइन्छ । पुँजीवादी मास मिडियाका बारेमा माक्र्स र एगेल्सले यसरी उल्लेख गरेका छन् ‘‘समाजको शासक भौतिक शक्ति भनेको वर्ग एकै समयमा यसको शासक बौद्धिक शक्ति हो । जसको हातमा भौतिक उत्पादनका साधनहरू हुन्छन्, त्यहीँ वर्गको मानसिक उत्पादनका साधनमा पनि नियन्त्रण हुन्छ ।” यस्तै प्रेसका बारेमा लेनिन उल्लेख गर्छन् ‘‘संसारभरि जहाँ पुँजीपतिहरू छन्, त्यहाँ प्रेस स्वतन्त्रता भनेको पुँजीपति वर्गको हितका लागि पत्रपत्रिका किन्न, लेखक किन्न, घुस दिन, नक्कली जनमत बनाउने स्वतन्त्रता हो ।’’ 

त्यस्तै नोम चोम्स्कीले कर्पोरेट मिडियाले शासक वर्गको हितमा काम गर्ने उल्लेख गरेका छन् । वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता अहिले अपराधीहरूको जञ्जाल र सञ्जालबाट घेरिन थालेको, व्यापारीको कुण्ठा ओकल्ने जस्तो भएको टिप्पणी गर्नुभएको छ । हतारो पत्रकारितासँगै भ्रम र अन्योल सिर्जना गरेको भन्दै उहाँले पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभएको छ । 

मिडिया सञ्चालनमा खास गरी तेल कम्पनीहरू, औषधी उत्पादक कम्पनीहरू, निर्माण कम्पनीहरूको बढी चासो रहेको पाइएको छ । अमेरिकामा जनरल इलेक्ट्रिक, कम फास्ट, डिज्नी, न्युज वर्क, सिबिएस र टाइम वार्नर जस्ता कर्पाेरेट मिडियाले टेलिभिजन, रेडियो र अखबारको बहुसङ्ख्यक सम्पत्ति मात्रै नियन्त्रण गर्दैनन्, तिनीहरूले धेरै जसो बाहिरी विज्ञापनमा पनि एकाधिकार जमाएका छन् । 

कर्पोरेट कम्पनीहरूले मिडिया सञ्चालन गर्दा उनीहरूलाई घाटा हुँदैन । विज्ञापनमा उनीहरूले एकाधिकार जमाएका हुन्छन् । राज्यबाट उनीहरूले सार्वजनिक फ्रिक्वेन्सीहरूको इजाजतपत्र प्राप्त गर्छन् र उनीहरूले नै बढी विज्ञापन पाउने र राज्यका सूचनाहरू पनि उनीहरूबाट नै प्रवाह हुने गर्दछ । यसबाट राज्यसमेत उनीहरूको प्रभाव र नियन्त्रणमा रहने गर्दछ । अझ कतिपय पत्रकार त राज्य, मन्त्रालय र पुँजीवादी राजनीतिक दलको पेरोलमा आबद्ध हुने गर्छन् ।

युरोपतिर त यसअगाडि हरेक घर घरमा न्युजपेपर निःशुल्क वितरण गरिन्थ्यो । मिडिया मालिकलाई पुँजीपतिहरूले उपलब्ध गराउने विज्ञापनले पत्रिका छपाइको लागत मात्रै उठने होइन, नाफा नै हुने गर्दथ्यो, त्यसैले उनीहरूले पाठकलाई निःशुल्क रूपमा घर घरमा वितरण गरिदिने गर्दथे । यसमा उद्यमी पुँजीपति वर्गकै स्वार्थ छ, उसले मिडियालाई विज्ञापन उपलब्ध गराउनको कारण आफ्नो उत्पादित वस्तुको प्रचारप्रसार हरेक उपभोक्तासम्म पुगोस् भनेर मिडिया मालिकसँग सम्झौता गरेका हुन्छन् । वास्तवमा पुँजीपति र उद्योगपति वा पुँजीपतिबिच हुने समझदारी वा सम्झौता उपभोक्ता, ग्राहकको हितका लागि होइन, पुँजीपतिले उत्पादन गरेको वस्तुको बजारीकरण हो । अहिले बहुर्राष्ट्रिय निगमका कम्पनीहरूले यसरी नै बजारको एकाधिकार जमाएका छन् । कम्पनीहरूबाट सञ्चालित यस्ता मिडियाबाट श्रमजीवी वर्गका माग र आन्दोलनलाई निस्तेज बनाएर आफ्नो उद्देश्य हासिल गर्न र प्रतिस्पर्धीलाई पनि पछि पार्ने काम गर्दै आएका छन् ।

मिडियामा दुई खाले श्रमिक पाइन्छ, पहिलो उच्च तहका पत्रकारहरू जसलाई उच्चकोटीकै तलब, गाडीलगायत सुविधा प्राप्त हुन्छ । बहुसङ्ख्यक श्रमजीवी पत्रकारले प्रायः अन्य पेसामाभन्दा न्यून तलब सुविधा पाउँछन् तर समयमा तलब भुक्तानी नपाउने समस्याले गर्दा पारिश्रमिक पाउन पनि पत्रकारले सङ्घर्ष गर्नुपर्ने अवस्था छ । पत्रकारका लागि कति कार्य घण्टा काम गर्नु पर्छ भन्ने कुनै टुङ्गो हुँदैन, अप्रत्याशित कार्य घण्टा फेरबदल भइरहन्छ । यसले उत्पन्न हुने तनावले स्वस्थ्य कार्यजीवन सन्तुलन कायम गर्न गाह्रो बनाउँछ ।

पत्रकारहरूको नोकरी पनि सुरक्षित हुँदैन । ठुला ठुला मिडिया हाउसमा काम गरेका पत्रकारहरू लामो समयसम्म टिक्न नसक्नु वा छोडेर अनलाइन सञ्चालन वा अन्य व्यवसायतिर जाने गरेको पाइन्छ । 

मिडियामा काम गर्ने पत्रकारका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड अनुसार न्यूनतम श्रम मापदण्ड लागु गराउने विषय चुनौतीपूर्ण रहेको छ । विश्वव्यापी आर्थिक सङ्कट, जुन पुँजीवादले सिर्जना गरेको सङ्कट हो । यो सङ्कट देखाएर मिडियामा काम गर्ने श्रमिकहरूको रोजगारी सङ्कटमा परेको छ । नोकरीको स्थायित्व, वृत्तिविकास र सामाजिक सुरक्षाका सुविधा प्राप्त गर्ने विषय श्रमजीवी पत्रकारका लागि चुनौतीपूर्ण रहेको छ ।

पत्रकारिता खतरा र जोखिमपूर्ण पेसा पनि हो । युद्ध र द्वन्द्वग्रस्त देशहरूमा त पत्रकारहरूको सुरक्षा नै चुनौतीपूर्ण बनेको छ । समाचार लेखेबापत भोग्नुपर्ने चुनौती त झन् जोखिम नै हुन्छ । हरेक चार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । सन् २०२२ मा ८६ जना पत्रकारको हत्या भएको युनेस्कोको अब्जरभेटरी अफ किल्ड जर्नलिस्ट प्रतिवेदनले उल्लेख गरेको छ । 

नेपालमा पहिलो पटक सुधा सागर विसं १९५५ साउनमा प्रकाशित भएको थियो । गोरखापत्रको प्रकाशन सुरु भएपछि नेपाली पत्रकारितामा यसले नयाँ मोड लिएको पाइन्छ । गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवशमशेरले १९५८ साल वैशाख २४ गते सुरु गर्नुभएको थियो । 

नेपालमा राजनीतिक व्यवस्था परिवर्तनका हरेक मोडमा सञ्चार माध्यम र श्रमजीवी पत्रकारले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । २०४६ र २०६३ को लोकतान्त्रिक आन्दोलन एवं गणतान्त्रिक आन्दोलनमा पत्रकारहरूले आन्दोलनको मोर्चाको अग्रभागमा उत्रिएर महìवपूर्ण भूमिका निर्वाह गरेको तथ्य सबैका सामु छर्लङ्ग छ । परिणाम स्वरूप युगान्तकारी परिवर्तनपछि जारी भएको संविधानमा प्रेस जगतले संवैधानिक मौलिक हक अन्तर्गत वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सङ्गठन गर्न पाउने स्वतन्त्रता जस्ता हक अधिकार मौलिक हकको रूपमा प्राप्त गरेको छ । संवैधानिक रूपमा प्राप्त भएका यी मौलिक हकको उपयोग गर्दै पेसागत हकहितका लागि सङ्गठित हुने र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरेर समाजवादी आन्दोलनमा योगदान पु¥याउने गरी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

आज मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने युगीन अभिभारा रहेको सन्दर्भमा मिडियालाई समाजवादी विचारका लेख रचना, समाचार प्रकाशन गरेर व्यापक प्रचारप्रसार गर्ने दिशामा उन्मुख गराउन जरुरी छ । 

यसै गरी, नवउदारवादी पुँजीवादी अर्थनीतिका दुष्परिणामहरू, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा दलाल पुँजीवादले पारेको प्रभावहरू, सर्वत्र बढी रहेको अनियमितता, भ्रष्टाचारको खोजमूलक ढङ्गबाट उजागर गर्न आवश्यक छ । मुलुकमा बैङ्क वित्तीय संस्थाहरूको उदयीमान अवस्था हुने तर जनता गरिब र बेरोजगार हुनुपर्ने जुन अवस्था छ यसप्रति मिडियाले राष्ट्रिय पुँजी निर्माण, लगानी विस्तार, औद्योगिकीकरणको थालनीसँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा खोजमूलक ढङ्गबाट योगदान पु¥याउन जरुरी छ । 

आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरणबिना समाजवाद स्थापना हुँदैन । आर्थिक सामाजिक रूपान्तरणका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीति, कार्यव्रmममा मिडियाले सशक्त भूमिका निर्वाह गर्न आवश्यक छ । यस्तै छिमेकी मुलुक चीनलगायत समाजवादी मुलुकमा भएको आर्थिक सामाजिक चमत्कारिक विकासलाई त अझ केस्रा केस्रा केलाएर पाठकसामु पस्कनुपर्ने भएको छ । 

विश्वभर जुन ढङ्गबाट हत्या हिंसा, आतङ्क मच्चाउने र श्रमजीवी वर्गलाई श्रम शोषण गर्ने, शरणार्थी बनाउने, सस्तोमा श्रमका लागि बिदेसिन बाध्य बनाउने काम भएको छ, यसका विरुद्ध श्रमजीवी वर्गको आन्दोलन पनि विश्वव्यापी रूपमा सञ्चालन भएको छ । यस्ता विषयमा मिडियाले प्रचारप्रसार गर्न पर्दछ । विश्व पुँजीवादका विरुद्धको लडाइँ लड्न समाजवादी विचार पक्षधर श्रमजीवी पत्रकारहरूको अन्तर्राष्ट्रिय नेटवर्क बनाउन जरुरी छ । 

मिडियामा पुँजीपतिहरू, कर्पोरेट हाउस, राजनीतिज्ञको जुन मात्रामा वर्चस्व बढ्दै गएको छ यो चुनौतीपूर्ण छ । मिडियालाई सार्वजनिक स्वामित्वमा सञ्चालन गर्न जोड दिनु पर्छ । सहकारीका माध्यमबाट पनि मिडिया अगाडि बढाउनुपर्ने आवश्यकता छ । साथै पत्रकारहरूको क्षमता अभिवृद्वि गर्दै पाठक, दर्शक र नागरिक समाजमा पत्रकारितालाई साथीको रूपमा स्थापित गर्दै विश्वसनीय, पारदर्शी बनाउनु आवश्यक छ । प्राज्ञिक र विषय विज्ञता भएका पत्रकारको विकास गर्दै विकाउ र पीत पत्रकारिताबाट जोगाउँदै आवाज विहीनहरूको आवाजको रूपमा पत्रकारितालाई विकास गर्नु अहिलेको मुख्य आवश्यकता हो । 

  

Author

प्रेमलकुमार खनाल