• १ असार २०८२, आइतबार

योग्यता प्रणालीको संरक्षण

blog

नेपालमा कर्मचारी छनोटको इतिहास हेर्दा विक्रम संवत् १९७३ को सनदबाट राणाहरूले कर्मचारी नियुक्तिका लागि कमाण्डरी किताबखाना (जसलाई दर्शन फाँट भनिन्थ्यो स्थापना भएको देखिन्छ । नेपालको अन्तरिम शासन विधान २००४ मा ‘दरखास्त परिषद्’ नामले आयोगको परिकल्पना गरिएको थियो तर त्यो कार्यान्वयनमा आउन सकेन । प्रजातन्त्र स्थापनापछि सरकारी कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यसहित ‘पब्लिक सर्भिस कमिसन’ नामबाट विसं २००८ असार १ गते लोक सेवा आयोग स्थापना भयो । आयोगले सर्वप्रथम विसं २००८ भदौ १८ गते ६ पदका लागि विज्ञापन प्रकाशित गरी कार्य प्रारम्भ गरेको थियो । आयोग स्थापनाको ऐतिहासिक दिनलाई आधार मानी प्रत्येक वर्ष असार १ गते स्थापना दिवस मनाइँदै आइरहेकोमा स्थापनाको ७५ औँ वर्ष पूरा भएकाले यस वर्ष आयोगबाट ‘हीरक जयन्ती’ वर्षभरि नै कार्यक्रम गरी मनाइँदै छ । 

नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र २४३ मा आयोगको गठन तथा काम, कर्तव्य र अधिकार व्यवस्था गरिएका छन् । निजामती सेवामा नियुक्तिका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारको छनोट गर्नु आयोगको प्रमुख कार्य हो । आयोगको कार्यक्षेत्र केवल निजामती सेवामा सीमित नरही सुरक्षा निकाय तथा अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थाका लागि आवश्यक लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारीसमेत आयोगलाई प्राप्त छ । यसका अतिरिक्त सरकारी सेवाका सेवासर्तसम्बन्धी परामर्श दिने संवैधानिक भूमिकासमेत निर्वाह गर्दै आएको छ । निजामती सेवालगायत सुरक्षा निकाय तथा अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषय, सेवाको सर्तसम्बन्धी कानुनको विषय, सङ्घीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सिद्धान्तको विषय, छ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषय, सङ्घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायलगायत विषयमा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ । यस्तो संवैधानिक व्यवस्थाले आयोगको प्रभाव, विश्वसनीयता र उत्तरदायित्वको दायरालाई अझ व्यापक बनाएको छ । योग्यता प्रणालीको संरक्षण र सार्वजनिक सेवाको गुणस्तर, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि एवं समावेशी, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा यसको महत्वपूर्ण योगदान छ ।

नेपालको सन्दर्भमा लोक सेवा आयोग योग्यता प्रणालीको पर्याय बनेको छ । निष्पक्षता र क्षमताको मापदण्डमा आधारित मूल्य प्रणाली विकास गर्ने मूल केन्द्र बनेको छ । बेलायतमा प्रचलनमा रहेको योग्यता प्रणाली भनेको कुनै पनि पदमा नियुक्ति गर्दा त्यसका लागि आवश्यक मापदण्ड पूरा गर्ने उत्कृष्ट व्यक्तिलाई रोजिनु पर्छ भन्ने हो । काम गर्न योग्य नहुँदासम्म कसैलाई नियुक्त गर्नु हुँदैन, त्यो जिम्मेवारी त्यसैलाई दिनु पर्छ जो सो कार्य सबैभन्दा प्रभावकारी रूपमा गर्न सक्छ भन्ने मान्यता बेलायतको योग्यता प्रणालीले राख्छ । नेपालमा पनि हरेक क्षेत्रमा योग्यताको कदर, कामको सम्मान, कार्यसम्पादनका आधारमा मात्र मूल्याङ्कन गर्ने प्रणाली र नेतृत्वबाट प्रणालीमा सुनिश्चितता विकास भएमा नेपालमा क्रमशः योग्यता प्रणाली थप सुदृढ हुँदै जाने अपेक्षा गर्न सकिन्छ । ‘सार्वजनिक वा सरकारी सेवा सबैभन्दा योग्य जनशक्तिले मात्र गर्न पाउनु पर्छ’ भन्ने योग्यता प्रणालीको आधारभूत मान्यतालाई आयोगले आत्मसात् गरेको छ । आयोगले सम्पादन गर्ने हरेक कार्यमा ‘योग्यता प्रणाली मर्नु हुँदैन’ भन्ने मर्मलाई व्यवहारमै लागु गर्ने गरिएको छ । योग्यता प्रणालीले सार्वजनिक पदलाई राजनीतिक वा अन्य कुनै पनि प्रकारको आग्रह वा पहुँच र शक्तिका आधारमा विश्वास पात्रहरूले मात्र अवसर पाउने पद्धति पूर्ण रूपमा निषेध गर्छ । योग्यता प्रणालीका तत्व कार्य सम्पादनको गुणस्तर, ल्याकत, ज्ञान, सिप र व्यक्तिगत गुणलाई आधार मान्ने विश्वव्यापी परिपाटी कायम गरिएको छ । आयोगले विगत र वर्तमानको कुशल नेतृत्वबाट आफ्नो संवैधानिक भूमिका प्रभावकारी रूपमा निभाउन सफल भएको छ । वर्तमान अवस्थामा समेत आयोगले आफ्नो संवैधानिक भूमिका निर्वाहमा कुनै कमी हुन दिएको छैन । सीमित स्रोतभित्र रहेर पनि संस्थाले योग्यता प्रणालीको जगेर्ना र प्रवर्धन गर्ने कार्यमा निरन्तर अग्रसरता देखाएको छ । आयोगले आर्जन गरेको विश्वासिलो छविले यसलाई पुष्टि गरेको छ ।

आयोगले समयको माग र सार्वजनिक प्रशासनका सम्बन्धमा आएका नवीन अवधारणा तथा चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति भित्र्याउन समयसापेक्ष रूपमा परीक्षण विधि, पाठ्यक्रम र परीक्षा प्रणालीमा निरन्तर सुधार एवं परिमार्जन गर्दै आएको छ । एसेसमेन्ट सेन्टर मेथोडोलोजीका नवीनतम विधिको प्रयोगलाई बढाउँदै लगिएको छ । पदपूर्ति प्रक्रियामा सहभागी हुने आयोगका पदाधिकारी, कर्मचारी तथा विज्ञहरूलाई आचरसंहिताको व्यवस्था गरिएको छ र त्यसको सूक्ष्म अनुगमन आयोगबाट हुँदै आएको छ । उत्तरपुस्तिकाको दोहोरो सङ्केतीकरण पद्धतिले परीक्षार्थीको परिचय गोप्य राख्न सहयोग गरेको छ । मूल्याङ्कन प्रक्रियामा जान पहिचान र पक्षपातको सम्भावना हटेको छ । एकै उत्तरपुस्तिकाको दोहोरो परीक्षण पद्धतिले परीक्षकबिच उत्पन्न हुन सक्ने व्यक्तिगत पूर्वाग्रह हटाउने र नतिजा यथार्थपरक बनाउने काम गरेको छ । यति मात्र नभई आयोगले प्रविधिमैत्री सुधारको प्रक्रियालाई पनि उच्च प्राथमिकता दिएको छ । प्रारम्भिक र मुख्य परीक्षामा ‘ओएमआर’ उत्तरपुस्तिका प्रयोग भएबाट मानवीय त्रुटि एवं कमीकमजोरी हुने सम्भावना न्यून भएको छ । व्यक्तिगत विवेकमा आधारित निर्णय घटाउँदै प्रस्ट मापदण्डका आधारमा मूल्याङ्कन हुने पद्धति स्थापित भएको छ । यी प्रयासबाट परीक्षा प्रणाली अझ सुदृढ, वस्तुगत मापनयोग्य र निष्पक्ष हुँदै गएको छ । योग्यता प्रणाली सबल बन्दै गएको छ । परीक्षार्थीमा प्रणालीभित्रको ‘प्रक्रिया’ प्रतिको विश्वास अझ दरिलो भएको छ ।

आयोगको सेवा प्रवाहमा परीक्षार्थी तथा आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न आयोगले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । आयोगका कामकारबाही सूचना प्रविधिमा आधारित बनाउँदै लगिएको छ । अनलाइन दरखास्त प्रणालीको सञ्चालनले आवेदन प्रक्रियालाई छरितो र पारदर्शी बनाएको छ । आज देश विदेशको जुनसुकै कुनाबाट लोक सेवा आयोगको परीक्षामा सहभागी हुन आवेदन दिन सकिन्छ । परीक्षा दस्तुर अनलाइन सेवाको प्रयोग गरी घरैबाट वा बैङ्कमार्फत नै गर्न सकिन्छ । यसबाट परीक्षार्थीको श्रम, समय र लागतमा उल्लेख बचत भएको छ, सेवा प्राप्तिमा सहज भएको छ । परीक्षामा सहभागी हुन पाउने अवसरबाट कोही वञ्चित हुन नपरोस् भन्ने ध्येयका साथ परीक्षा केन्द्र विस्तार गरी थप उपकेन्द्रको व्यवस्था गरेर ग्रामीण तथा दुर्गम क्षेत्रका परीक्षार्थीलाई परीक्षाको पहुँचमा ल्याउने निरन्तर प्रयास भएको छ । मोबाइल एप्स तथा आयोगको आधिकारिक वेबसाइटमार्फत सूचना र सेवा प्रवाहमा सुधार आएको छ । फारम स्वीकृत भए/नभएको जानकारी एवं प्रवेशपत्र वेबसाइटमार्फत नै प्राप्त गर्न सकिन्छ । नतिजा प्रकाशित हुना साथ सिफारिस भएको जानकारी एसएमएसमार्फत सम्बन्धित उम्मेदवारलाई जनकारी दिइन्छ । अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारले निश्चित प्रक्रिया पूरा गरी अनलाइनबाटै प्राप्ताङ्कसमेत हेर्न सक्ने व्यवस्था गरिएको छ । यसले आयोगलाई डिजिटल युगमा अग्रसर गराएको छ भने सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज बनाएको छ । 

संवैधानिक जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन आयोगले रणनीतिक योजना तयार गरी कार्यान्वयन भइरहेको छ । आयोगका असल अभ्यास अन्य निकायले समेत आफ्नो कार्यप्रणालीमा समावेश गरेका छन् । प्रदेश लोक सेवा आयोगहरूले आयोगको सामान्य सिद्धान्तलाई आधार मान्ने गरेका छन् । आयोग निष्पक्षताको कारण नेपाली युवा जनशक्तिको आकर्षणको केन्द्र बनेको छ तर निजामती सेवामा आकर्षण वृद्धि गर्नुपर्ने अवस्था छ । यस संस्थाप्रति आमनागरिकमा रहेको भरोसा, योग्यता प्रणालीप्रतिको उच्चतम प्रतिबद्धता, निष्पक्ष र समन्यायिक कार्यप्रक्रिया एवं आयोगको स्वच्छ छविका कारण लाखौँ युवालाई सरकारी सेवातर्फ आकर्षित गरेको छ । बर्सेनि पाँच लाख हाराहारीमा युवाले आयोगमार्फत सार्वजनिक सेवामा प्रवेश गर्न आवेदन दिने गरेका छन् । सुरक्षा निकाय तथा सङ्गठित संस्थाको परीक्षासमेत लोक सेवा आयोगबाट नै हुने हुँदा आयोग र योग्यता प्रणालीप्रतिको जनविश्वास झनै बढेको छ । सरकारी सेवा प्रवेशमा समान अवसर र योग्यतामा आधारित छनोटको ग्यारेन्टी हुन्छ भन्ने नागरिक विश्वास झनै बलियो हुँदै आएको छ । 

आयोगले आफूलाई अब्बल साबित गर्दागर्दै पनि आयोगलाई चिन्तित बनाउने केही विषय भने रहेका छन् । आयोगको सुपरीवेक्षण तथा निरीक्षणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने छ । आयोगलाई आफ्नो कार्य प्रभावकारी रूपमा सम्पादन गर्न आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था नेपाल सरकारबाट भइरहेको अवस्था भए पनि त्यति पर्याप्त भइनसकेको अवस्था छ । आयोगका केही कार्यालय भवन जीर्ण अवस्थामा छन् । सवारीसाधन तथा अन्य उपकरणसमेत आयोगको कार्यजिम्मेवारी अनुरूपका नहुँदा कार्यसम्पादनमा बेलाबखत समस्या हुने गरेको छ । योग्यता प्रणालीलगायत आयोगले आफ्नो कार्यक्षेत्रमा पर्ने विषयमा आयोगबाट प्रदान गरिने परामर्श तथा सुझावको कार्यान्वयन स्थिति कमजोर रहेका छन् । योग्यता प्रणाली भर्ना छनोट सिफारिसमा मात्र होइन, सार्वजनिक क्षेत्रका हरेक आयाममा लागु हुनु पर्छ भन्ने आयोगको सिद्धान्त वा मर्मको आन्तरिकीकरण सबै क्षेत्रमा हुन सकिरहेको छैन । 

विभिन्न आरोहअवरोह तथा अन्तरदबाब पार गर्दै आयोगले ७५ वर्षको लामो यात्रा तय गरी आजको उचाइ हासिल गरेको हो । आयोगको यस हिरक जयन्ती महोत्सवको सुखद क्षणमा गर्बिलो इतिहासलाई मनन गर्दै आयोगको पूर्ण विश्वसनीयता प्राप्तिमा भएका योगदान स्मरणीय छन् र भइरहने छन् । स्थापनाकालदेखि हालसम्मको निरन्तर सुधारले नेपालमा योग्यता प्रणालीलाई संस्थागत गर्ने बलियो आधार तय भएको छ । विगतदेखिको अनवरत प्रयास तथा असल अभ्यासको निरन्तरताबाट आयोगप्रतिको विश्वास, यसको कार्य प्रक्रिया र कार्यशैली आज सार्वजनिक सेवा क्षेत्रमा उच्च बनेको छ । संस्थागत सुधार, प्रविधिको प्रयोग, प्रक्रियागत सरलीकरण र योग्यता प्रणालीप्रतिको अटुट विश्वास र लगावले आयोग संस्थागत संस्कृतिको रूपमा पनि आफूलाई स्थापित गर्न सफल भएको छ, यसको निरन्तरता पनि जरुरी छ । आयोगको कार्यसम्पादनलाई अझ प्रविधिमैत्री, समावेशी र परिणाममुखी प्रणाली विकास गर्दै योग्यता प्रणालीलाई अझ सुदृढ र व्यापक बनाउँदै लैजाने कार्यमा सबै सरोकारवालाको सक्रिय सहभागिता सहयोग र सद्भाव आवश्यक हुन्छ । नवप्रवर्तन, मानव स्रोत विकास, अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन तथा उपयुक्त अनुकरणमार्फत आयोगले योग्यता प्रणालीको संरक्षण र प्रवर्धनको मार्गमा आफ्ना कार्यलाई विश्वस्तरीय मानकमा उभ्याउन आयोग सदैव प्रयत्नरत रहेको छ, भविष्यमा पनि रहने छ ।

(शर्मा लोक सेवा आयोगका सचिव हुनुहुन्छ ।)