• १२ मंसिर २०८१, बुधबार

तेक्वान्दो सङ्घद्वारा पलेशा सम्मानित

blog

नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान ।

काठमाडौं, कात्तिक १७ गते । नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई तीन लाख लाख रुपियाँसहित प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । पलेशाका बुवा प्रदीप र आमा मनिता पनि सम्मानित हुनुभयो ।

सोही कार्यक्रममा एभरेष्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान ग¥यो । फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गनुभयो ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउनुभएको थियो । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो । पलेशाले करियरमा जितेको यो तेस्राे अन्तर्राष्ट्रिय पदक हो । यसअघि पलेशाले १ स्वर्ण र २ काँस्य रजत पदक जित्नुभएको थियो । पलेशाले टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास पनि रचनुभएको थियो । पलेशा ओलम्पिकमा दुई खेल जित्ने एक्ली नेपाली खेलाडी हुनुहुन्छ । काँस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुक्नुभएको थियो ।

प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको ९ औं पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ काँस्य जितेको छ । पलेशाले १ स्वर्ण र १ काँस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ काँस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ काँस्य पदक जित्नुभएको छ । टोकियो पारा ओलम्पिकमा पनि लामानै पलेशाका प्रशिक्षक हुनुहुन्थ्यो ।