• २२ वैशाख २०८१, शनिबार

सङ्गीतका उज्ज्वल प्रतिभा प्रज्वल

blog

काठमाडौँ, कात्तिक १७ गते । पियानिस्ट प्रज्वल लामा किबोर्ड राम्रो बजाउनुहुन्छ । किबोर्डबाट उहाँले निकालेका मिठा मिठा धुनले धेरैलाई मन्त्रमुग्ध बनाइसकेको छ । एलकेजी पढ्दादेखि नै उहाँले किबोर्ड बजाउन सुरु गर्नुभएको थियो । अहिले उहाँ किबोर्ड बजाउन पारङ्गत भइसक्नुभएको छ । उहाँलाई अहिले विभिन्न स्टेज कार्यक्रममा बोलाइन्छ ।  किबोर्ड बजाउन पिताबाट प्रेरित हुनुभएको उहाँ बुवासँग किबोर्ड बजाउँदा धेरै कुराको ज्ञान पाएको बताउनुहुन्छ । 

किबोर्डका रिडहरूमा जीवन खोजिरहेका उहाँले थुप्रै गीतमा किबोर्ड बजाइसक्नुभएको छ । न्ह्यु वज्राचार्यका ‘सयौँ काँडा’, ‘टाढा टाढा’ लगायत डेढ दर्जनभन्दा धेरै गीतमा उहाँले किबोर्ड मात्रै बजाउनुभएको छैन्, म्युजिक एरेन्ज पनि गर्नुभएको छ । दर्जनौँ म्युजिकल रियालिटी सोमा किबोर्ड बजाइसक्नुभएका उहाँले सुरु ‘सुरसाला आइडल’ बाट गर्नुभएको हो । त्यसयता ‘नेपाल आइडल’ पहिलो सिजनमा किबोर्ड बजाउनुभएका प्रज्वलले ‘भ्वाइस अफ नेपाल’ का तीन वटै सिजन र सारेगमप लिटिल च्याम्प्समा आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ । म्युजिकल रियालिटी सोमा मात्रै होइन, उहाँले थुप्रै कन्सर्टमा पनि किबोर्ड बजाउनुभएको छ । एड्रियन प्रधान, सबिन राई, नरेन लिम्बू, सत्य–स्वरूप, कालीप्रसाद बास्कोटा, इन्दिरा जोशीलगायत अधिकांश गायक गायिकाको कन्सर्टमा उहाँले किबोर्डमा आफ्ना औँला चलाउनुभएको छ ।

करिव पाँच वर्षको उमेरदेखि नै किबोर्ड बजाउन थालेको उहाँ सम्झिनुहुन्छ । “चार पाँच वर्षको थिएँ होला, त्यही बेलादेखि म किबोर्ड बजाउँथे,” उहाँले भन्नुभयो, “मैले थाहै नपाई मलाई पियानो बजाउने बानी बसिसकेको रहेछ । ममी टिभीमा हिन्दी धारावाहिक र गीत सुन्नु हुन्थ्यो, म तीनै धारावाहिकका सिग्नेचर ट्युन र गीतको धुनमा किबोर्ड बजाउँथेँ । सुरु सुरुमा नमिले पनि बजाउँदै गएपछि मिल्न थालेको जस्तो लाग्यो ।” कक्षा २ मा अध्ययनरत छँदै किबोर्ड वादनको कक्षा लिन थालेका प्रज्वलले त्यस क्रममा नोटेसन सिक्नुभयो । 

प्रदीप श्रेष्ठ, उपेन्द्र सिंह आदि गुरुसहित विभिन्न विदेशीबाट समेत पियानोको औपचारिक प्रशिक्षण लिनुभएका प्रज्वल अहिले पनि युट्युब तथा अनलाइनमार्फत पियानोमार्फत अझै राम्रो धुन निकाल्न सिकिरहनुभएकै हुन्छ ।  प्रभुराज ढकालसँग पनि चार वर्षसम्म शास्त्रीय सङ्गीतको प्रशिक्षण लिइसक्नुभएका प्रज्वलले नेपालका स्थापित अधिकांश सङ्गीतकार तथा गायक गायिकाका गीतमा किबोर्ड बजाउनुभएको छ । रियालिटी सोमा काम गर्न जति रमाइलो हुन्छ त्यति नै चुनौती पनि । “रियालिटी सोमा धेरै गीत आउँछन् । ६० देखि सय वटासम्म गीत एकै पटक आउँछ, त्यो बेला निकै प्रेसर हुन्छ,” प्रज्वल सुनाउनुहुन्छ, “त्यस्तो बेला सबै याद गर्छु भनेर हुँदैन, नोटेसन गर्नु पर्छ । ब्यान्डसँग प्राक्टिस गर्नु पर्छ । जसका लागि निकै छोटो समय हुन्छ ।” 

अब्बल पियानिस्टका रूपमा स्थापित भइसक्नुभएका प्रज्वल अधिकांश फ्रेन्चाइज सोका अनिवार्य सदस्य हुनुहुन्छ् । किबोर्डको ग्रेड आठसम्मको अध्ययनमध्ये रोयल लन्डन कलेज अफ म्युजिकबाट उहाँले क्लासिकल पियानोको ग्रेड फाइभ उत्तीर्ण गरिसक्नुभएको छ । रोयल एबिआरएसएममा पनि अध्ययन सरिसक्नुभएको छ । काठमाडौँ युनिभर्सिटी अफ म्युजिकोलोजीबाट ब्याचलर्स गरिसकेका प्रज्वल यसमै मास्टर्ससम्मको अध्ययन गर्ने योजना बनाउनुभएको छ । 

सङ्गीत जगत्मा कलाकारको नाम उज्ज्वल गर्दै हुनुहुन्छ प्रज्वल । सङ्गीतमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका पियानिस्टहरूको शिक्षण, मातापिताको हौसला र सङ्गीतप्रति उहाँको उत्कृष्ट प्रेमले उहाँलाई निखार्दै लगेको छ । साथै उहाँका मेन्टर विष्णु अधिकारीको स्नेहले उहाँलाई सङ्गीतमा साधनारत रहिरहन प्रेरित गरिरहनुभएको छ ।  किबोर्डमा मात्र नभई विभिन्न बाजामा अधिक उत्साहका साथ आफ्नो प्यासन र कठिन परिश्रमले उहाँलाई नेपालका कुशल वाद्यवादकका रूपमा स्थापित गरिसकेको छ ।