• २० वैशाख २०८१, बिहिबार

चिप्सले चल्ने छ दिमाग

blog

टेस्ला, स्पेसएक्स र एक्स (ट्विटर) का मालिक एलन मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस (बिसिआई) को स्टार्टअप ‘ब्रेन–चिप फर्म’ न्युरालिङ्कले पहिलो चरणमा पक्षाघात भएका बिरामीमा ‘ब्रेन चिप’ प्रत्यारोपणको अनुमति पाएको छ । 

कम्पनीलाई ‘इन्डिपेन्डेन्ट रिभ्यु बोर्ड’ बाट पहिलो पटक पक्षाघात भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने अनुमति दिएको छ । मस्कले केही समयअघिदेखि मानिसको दिमागमा कम्प्युटरमा जस्तै चिप राख्न सकिने दाबी गर्दै आएका छन् । मस्कको ‘ब्रेन–चिप फर्म’ न्युरालिङ्कले यसअघि अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) बाट पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गर्न स्वीकृति दिएको जनाएको थियो । 

न्युरालिङ्क एक स्वास्थ्यसम्बन्धी सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । जसको मुख्य उद्देश्य ‘ब्रेन–चिप’ उत्पादन गर्नु र मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु छ । यो कम्पनी मस्कले सन् २०१६ मा स्थापना गरेका हुन् । 

न्युरालिङ्कका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पारेको छ, जसको प्रयोगले आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्ने छन् । त्यस्तै शरीरको कुनै भाग नचल्ने व्यक्तिले सो भाग चलाउन सक्ने छन् । त्यति मात्र कहाँ हो र कम्पनीको दाबी अनुसार मानिसको दिमाग चिपमार्फत अब कम्प्युटरसँग जोडिने छ । मानिसको दिमागलाई कम्प्युटर वा स्मार्ट फोनबाट नियन्त्रण गर्न सकिने छ । 

त्यसो त यस कम्पनीले यसअघि यस्तो चिपको परीक्षण पशुमा सफलताका साथ गरिसकेको छ । यसअघि कम्पनीले बाँदर र सुँगुरको दिमागमा यस्तो चिप प्रत्यारोपण गरेर सफल परीक्षण गरेको थियो । मस्कले क्लब हाउसमा एक अन्तर्वार्ता दिँदै न्युरालिङ्कले बाँदरको मस्तिष्कमा वायरलेस उपकरण प्रत्यारोपण गरेको र सो प्रत्यारोपणपछि बाँदरले आफ्नो दिमागको सहारामा भिडियो गेम खेलेको खुलासा गरेका थिए । 

अब भने मस्कको यो महत्वाकाङ्क्षी परियोजना अन्तर्गत कम्पनी मानव मस्तिष्कमा ब्रेन चिपको परीक्षण गर्ने तयारीमा जुटेको छ । एउटा सानो पातलो सिक्का जस्तो देखिने लचिला तार जडित इलेक्ट्रोडहरूबाट बनेको ब्रेन चिप मानव मस्तिष्कमा जोडिने भएको छ । 

न्युरालिङ्कले आफ्नो प्रविधि मानवमा परीक्षण गर्ने बताउँदै आएको थियो तर मानवमा यस्ता परीक्षणले नकारात्मक असर गर्ने भन्दै एफडिएले न्युरालिङ्कको निवेदन अस्वीकार गरेको थियो । 

ब्रेन चिप उपकरण सर्वव्यापी रूपमा प्रयोग गर्न कम्पनीले फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट अनुमति लिनुपर्ने हुन्छ । जसका लागि कम्पनीले यो उपकरण पहिले मान्छेमा सफल परीक्षण गर्नुपर्ने छ । मस्कले अल्जाइमर, डिमेन्सियाजस्ता न्युरोलोजिकल समस्या समाधानका लागि मानव मस्तिष्कमा कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्ने लक्ष्य छ । 

न्युरालिङ्कको उद्देश्य 

यस परियोजनाको दीर्घकालीन योजना मानिस र कृत्रिम बौद्धिकताबीचको सम्बन्ध पत्ता लगाउनु रहेको छ । मस्कले सन् २०२३ को अन्तिमसम्ममा सबै कुरा पूर्वनिर्धारित योजना अनुसार भयो भने ब्रेन चिपको प्रयोग मानिसमा सुरु गरिने बताएका छन् । 

कम्प्युटरले मानिसको मस्तिष्कसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने नयाँ तरिका खोज्ने प्रयास कम्पनीले गरिरहेको जनाइएको छ ।  स्नायु प्रणालीसँग सम्बन्धित जटिल समस्या, जसको हालसम्म चिकित्सकीय उपचार सम्भव छैन, त्यस्ता स्वास्थ्य समस्याको समाधान ब्रेन चिप प्रत्यारोपणपछि हुने आशा न्युरालिङ्कको छ । 

कम्पनीका अनुसार हालको परीक्षण पक्षाघात भएका मानिसमा केन्द्रित भइरहेको र पक्षाघात भएका मानिसको मस्तिष्कमा चिप्स लगाएर मस्तिष्कलाई कम्प्युटरमा जडान गरेर उनीहरूको उपचार प्रभावकारी हुन्छ कि हुँदैन भनेर यो प्रविधि परीक्षण गर्नुपर्ने छ । 

यस्ता समस्याको समाधान वेब ब्राउजिङ र टेलिप्याथीका माध्यमबाट निर्मूल पार्न मद्दत पुग्न सक्ने न्युरालिङ्कको दाबी छ । सन् २०१९ यता नै न्युरालिङ्कले आफ्नो प्रविधि मानवमा परीक्षण गर्ने बताउँदै आएको थियो तर मानवमा यस्ता परीक्षणले नकारात्मक असर गर्ने भन्दै एफडिएले न्युरालिङ्कको निवेदन अस्वीकार गरेको थियो ।