• ८ जेठ २०८१, मङ्गलबार

नारायणघाट–बुटवल सडक निर्माणको काम थपिएको समयावधिमा पनि नसकिने

blog

निर्माण गरिँदै गरेको नारायणघाट–बुटवल सडकखण्ड । तस्बिर : बोमलाल गिरी

नवलपुर, कात्तिक १५ गते । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर साढे चार वर्षको अवधिमा पनि बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ ।

पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुने गरी ३३० दिनको म्याद थप भएको छ । जुन म्याद २०८१ को साउनमा सकिँदैछ । तर थपिएको अवधिमा पनि सडक निर्माणको काम नसकिने भएको छ । अनि निर्माण कम्पनी र सडक आयोजनाबीच थपिएको म्याद कहिलेसम्म हो र कहिलेसम्म काम सक्ने भनेर पनि विवाद सुरु भएको छ ।

निर्माण कम्पनीले सरकारले दिएको समयमा काम नसक्ने स्पष्ट बताइसकेको छ र थपिने समयलाई समेत आधार मानेर भावी कार्ययोजना तयार गरेको छ । ठेकेदार कम्पनी चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.लि.ले सन् २०२५ को मार्च महिनासम्म ९५ प्रतिशत काम सक्ने गरी कार्ययोजना बनाएको हो । हालसम्म झण्डै ४१ प्रतिशत काम सकिएको र झण्डै ६५ किलोमिटरमध्ये १६.६ किलोमिटर बाटो एकतर्फी पीच भएको छ ।

यस्तो छ १९ महिने कार्ययोजना
निर्माण कम्पनीलाई सरकारले दिएको समय आगामी साउनसम्म हो । तर त्यो अवधिलाई निर्माण कम्पनीले सिँधै अस्वीकार गरेको छ र १९ महिने कार्ययोजना तयार गरेको छ । चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.लि.का प्रोजेक्ट म्यानेजर राकेश झाले दिएको जानकारी अनुसार गत सेप्टेम्बर महिनामा १.१ प्रतिशत काम सक्नुपर्नेमा १.०८ प्रतशित र अक्टुबरमा १.५ प्रतिशत काम गर्नुपर्नेमा जम्मा ०.५ प्रतिशत काम सम्पन्न भयो ।

यसैगरी, सन् २०२३ को नोभेम्बरमा २.५ प्रतिशत, डिसेम्बरमा ३ प्रतिशत, जनवरीमा ४.३ फ्रेबुअरी ४.५, मार्चमा ४.७, अप्रिलमा ४.७, मेमा ४.७, जुनमा ३, जुलाईमा ०.४, अगस्टमा ०.४ प्रतिशत, सेप्टेम्बरमा १.१, अक्टुबरमा २, नोभेम्बरमा ३.१, डिसेम्बरमा ३.४, सन् २०२५ को जनवरीमा ३.४, फ्रेबुरीमा ३.४, मार्चमा ३.४ गरी ९५ प्रतिशत बाटोको काम सक्ने योजना तयार गरिएको छ ।

काम सकिएको पाँच वर्षसम्म बाटो मर्मतको काम स्वयम् निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले बाँकी ५ प्रतिशत निर्माणको कामलाई समेत त्यही मर्मत सम्भार गर्नुपर्ने अवधिमा राखेको छ । त्यसैले ९५ प्रतिशत काम सक्नुलाई कम्पनीले सम्झौता अवधि भित्रको श प्रतिशत ठानेको छ । यसले गर्दा काम पूर्ण हुन स्वयं कम्पनीले मागेको समयभित्र पनि नसकिने देखिएको छ ।

सरकार भन्छ, वहाना स्वीकार्य छैन
सरकारले भने पछिल्लो पटक थपेको समय ३ सय ३० दिनभन्दा दायाँबायाँ नगर्न निर्माण कम्पनीलाई चुनौती दिइरहेको छ । नारायणघाट–बुटबल सडकको पूर्वी खण्डका प्रमुख आशिष थापाले ठेकोदार कम्पनीलाई थपिएको म्याद २०८१ साउनसम्म मात्रै भएकाले त्यो म्यादभित्र सबै काम सक्नुको विकल्प नरहेको बताउनुहुन्छ । ‘‘सम्झौताले बाँधेको छ, त्यसैले २०८१ साउनभन्दा बाहिरको योजना बनाउने छुट निर्माण कम्पनीलाई छैन,’’ थापाले गोरखा पत्रसँग भन्नुभयो, ‘‘हामीले पटक पटकका छलफलहरुमा समयमै काम सक्नुपर्छ भनेर भनेका छौं । कुन समयमा कुन साेत साधन बढाएर सक्ने हो, सक्नुपर्छ, अन्य कुनै पनि बहाना स्वीकार्य हुँदैन ।’’

वर्खाको दुई महिना बढीमा ०.४ प्रतिशत काम हुने योजना सुनेपछि आयोजना प्रमुख आक्रोशित हुनुभएको छ । ‘‘अहिलेसम्म ४१ प्रतिशतभन्दा केही बढी काम सकिएकाले सम्झौता सकिन अब सात महिना बाँकी छ, यो सात महिनामा मासिक कम्तीमा सात प्रतिशतका दरले काम सक्नुपर्छ,’’ आयोजना प्रमुख थापाले भन्नुभयो, ‘‘कम्पनीले बनाएको योजना अनुसारको कामले निर्माण सम्पन्न हुँदैन । तपाईलाई दिएको बाँकी समयलाई हिसाब गरेर काम गर्नुस्, तर, आदि, इत्यादि जस्ता समस्या देखाएर उम्कने छुट छैन ।’’

विगतमा पोल सार्ने, रुख कटान, खाने पानी, गिटी बालुवा लगायतका समस्या भए पनि अहिले ती सबै समस्या समाधान भएको उहाँको भनाइ छ । आन्तरिक क्षमता बढाउनुस्, भएका स्राेत साधन परिचालन गर्नुस्, सूक्ष्म अध्ययन गर्नुस्, भएका कमजोरी हटाउनुस्, व्यवस्थापकीय क्षमता बढाउनुस्, कम्पनीलाई निर्देशन दिँदै थापाले भन्नुभयो ।

कम्पनी भन्छ, म्याद नथपि सुखै छैन
वर्खाको दुई महिना अवधिलाई गणना नगर्ने हो भने काम गर्ने समय सात महिना बाँकी छ । तर यो सात महिनामा काम नसकिने निर्माण कम्पनीको भनाइ छ । कम्तीमा पनि सन २०२५ मार्चसम्म म्याद थप्नुपर्ने निर्माण कम्पनीको भनाइ छ । ‘‘हामीले दोस्रो पटक म्याद थप्दा नै सरकारसँग २४ महिनाको समय मागेका थियो, तर सरकारले समय दिएन, सरकारले दिएको समयमा काम सकिन्न, त्यसका पर्याप्त आधारहरु हामीसँग छन्, प्रोजेक्ट म्यानेजर राकेश झाले गोरखापत्रसँग भन्नुभयो, ‘‘सन् २०२५ को मार्चसम्म ९५ प्रतिशत काम सकिन्छ, बाँकी पाँच प्रतिशत ममर्तसम्भार अवधिमा गर्छौं ।’’

मुख्य समस्या के हो त ?
चिनियाँ ठेकेदार योहाङ जेनखुनका अनुसार कामलाई द्रुत गति दिन कुनै पनि समस्या छैन । स्थानीय निकाय र प्रशासनबाट धेरै सहयोग भएको छ । उहाँका अनुसार अहिलेको मुख्य समस्या भनेको आफूहरुलाई चाहिएको बेलामा बिजुली कटौती हुनु हो । ‘‘धेरै समय बिजुली कटौती गर्नु पर्ने हुन्छ । त्यसका लागि विद्युत् कार्यालयबाट जुन अनुमति प्राप्त भएको छ, त्यसमा स्थानीयबाट बेलाबेला समस्या आउने गरेको छ । त्यो बाहेक अरु समस्या छैन,’’ योहाङले भन्नुभयो ।

‘क्रसर व्यवसायीको रकम भुक्तानी गर्नुस्’
चिनियाँ कम्पनीले आफूलाई चाहिएको बेला विजुली कटौटी गर्न पाउनुपर्ने बाहेक अरु समस्या नरहेको बताए पनि भविस्यमा आउन सक्ने मुख्य समस्या भनेको क्रसर व्यवसायीको रकम भुक्तानी हो । नवलपुरका प्रमुख जिल्ला अधिकार कल्पना श्रेष्ठका अनुसार क्रसर व्यवसायीहरु आफूकहाँ चिनियाँ निर्माण कम्पनीबाट पटक पटक रकम भुक्तानी दिलाइदिनका लागि आग्रह गर्दै आइरहेको बताउनुहुन्छ । प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘‘क्रसर व्यवसायीको ठूलो रकम भुक्तानी भएको छैन, पैसा नपाए हामी काम रोक्न सक्छौं भनेर गुनासो आइरहेको छ । भोलि यही कारण काम नरोकियोस् । भुक्तानीको काम छिटो गर्नुस् ।’’

बिजुलीको बारेमा कार्यालय समयमा कटौती गर्न नपाइने भन्दै प्रजिअ श्रेष्ठले बाँकी समयमा मागेको बेलामा चाहिए जति बिजुली कटौती गर्न पाउने र त्यहीअनुसार विद्युत प्राधिकरणलाई निर्देशन पनि दिएको पनि बताउनुभयो ।

अहिलेसम्मको प्रगति
जम्मा ६५ किलोमिटरमध्ये बजार क्षेत्रको १७ किलोमिटरमा ६ लेन र बाँकी भागमा ४ लेनको बाटो बनाउनुपर्नेछ । निर्माण कम्पनीका अनुसार त्यसमध्ये अहिलेसम्म पोल सार्ने काम ५१ प्रतिशत प्रगति भएको छ । खानेपानीको वितरण हस्तान्तरण २८ मध्ये २१ किलोमिटर भएको छ । सबग्रेड ५० प्रतिशत, सबबेस २९.८८ किलोमिटर भएको छ । बेस २२ किलोमिटर र पिच १६.६ किलोमिटर भएको छ ।

१२ वटा ठूला पुलमध्ये ११ वटामा फाउन्डेसनको काम भइरहेको र केही महिनामा सकिने प्रोजेक्ट म्यानेजर राकेश झाको भनाइ छ । आरुङखोलामा बाहेकका ठूला पुलहरुमा सब स्ट्रक्चरको काम सकिएको छ । पाइल नोट टेष्ट गर्नका लागि मेशिन भारतबाट ल्याउनुपर्ने र डिसेम्बरमा खोलामा पानीको सतह घटेपछि नोट टेष्ट गरेर सब स्ट्रक्चरको काम सकिनेछ । झाका अनुसार पुलहरुमा गडर बाहिर बनाउने र क्रेनको सहायताले पुलमा ल्याएर फिट गर्नुपर्छ । त्यो २५० टनको क्रेन नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्छ । यो काम जनवरीसम्ममा गर्ने योजना रहेको उहाँको भनाइ छ ।

२५ मिटरभन्दा छोटा पुल २२ वटामध्ये १९ वटा तयार भइसकेका छन्  । जमिनमुनि पाइल गाड्ने काम ६७१ वटा मध्ये २० वटा मात्र बाँकी छ । मेशिनरी वाल ३० हजार घनमिटरमध्ये १३ हजार घनमिटर सम्पन्न भइसकेको छ । आगामी एक वर्षमा एक साइडमा ५२ किलोमिटर सडक पिच गर्ने, दुई वटा बाहेक सबै पुल बनाउने र साना पुलको काम सक्ने योजना आयोजनाको छ ।

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।