• ८ मंसिर २०८१, शनिबार

बैगुनी माया (कथा)

blog

खै के भन्नु आज त्यसै मन छट्पटाएको छ । क्यान्सर पीडित बिरामी श्रीमान्लाई केही सोध्न पनि सक्दिनँ । डाक्टरले भनेको छ कुनै पनि किसिमको तनाव नदिनु भनेर । एउटै छोरो पनि अमेरिकातिर भासिएको छ । छोरी पनि पढाइका लागि अर्कै सहर पुगेकी छ, लामो बिदा भयो भने कहिलेकाहीँ झुल्किन्छे । घरमा बोले पनि नबोले पनि हामी दुई जना त हो । कहिल्यै दिउँसो नसुत्ने म सल्लाको ठुलो रुख ढले झैँ गम्रङ्ग बिस्तरामा ढलेकी मात्र के थिएँ बैठककोठामा भएको फोनको घन्टी बजेको सुनँे टिङ्ग टिङ्ग । बिस्तराबाट उठेर बैठक कोठामा पुगेँ र फोन उठाएँ । हेलो फोनको रिसिभर उठाएर बोल्न नपाउँदै उताबाट आवाज आयो ।

“ओई के गर्दै छस् ?“

मीना मेरी साथीको स्वर सुन्ने बित्तिकै मलाई त्यो बेला आमाको काखमा पुगेको जस्तै लाग्यो । 

“मीना तैँले कस्तो बेलामा फोन गरिस ! तँसित धेरै कुरा गर्नु छ, फोनमा होइन कतै भेटेरै गफ गरौँ न ।” उसले किन फोन गरेकी भन्ने पनि नसोधी मैले मेरो कुराको घैला घोप्ट्याएँ ।

“लौ फोन गर्ने म अनि कुरा चाहिँ तेरो पहिला सुन्नु पर्ने ? क्या छेस् तँ पनि । फोनबाटै भन न के कुरा हो  ।” मीनाले हाँस्दै सोधी ।


“होइन के साथी म अहिले एकदम तनावमा छु  । यस्तो बेलामा चाहिने नै साथी त हो । म नै तँलाई फोन गर्छु भन्दै थिएँ । मेरो छटपटी बुझेर जति सक्दो चाँडो मेरो घरमै आइज न त ।”

मेरो छटपटी बुझेर त होला मीना पनि एक घण्टा नभई मेरो अगाडि आइसकेकी थिई । 

कुनै भूमिका नै नबाँधी मैले सीधै भनेँ, “हेर न मीना, निरूले त मलाई कस्तो टेन्सन दी ।”

“को निरू नि तेरो लगौँटिया  साथी ?”

मैले हो मा धार्नीको टाउको हल्लाएँ ।

“के भो ?”

“उसको र मेरो बुढाको इलुइलु परेको  हो कि जस्तो लाग्यो,” मैले गम्भीर भएर जवाफ दिएपछि ऊ मेरो कुरालाई उडाउँदै हाँसी  ।

भिनाजुको अवस्था यस्तो छ, क्यान्सरले झन्डै लगेको, तँ थिइस् र बचाइस । अनि यस्तो बिरामीको बारेमा तँ यो के भन्दैछस् ? तँ पागल पनि नचाहिने कुरा गर्छेस् ।” 

“आफूलाई यहाँ कस्तो भएको छ तलाई नचाहिने कुरा लाग्या छ ।” मैले अलि बढी नै चिन्तित भएर भनँे ।

“किन तलाई त्यस्तो लाग्यो भन त ?” 

तलाई किन त्यस्तो नचाहिने कुरा मनमा आयो ? फेरि दुवैको लभ गर्ने उमेर पनि त हैन । दुवैका छोराछोरीको बिहे गर्ने उमेर भइसकेको छ । अहिले आएर तलाई कसरी यस्तो सोच आयो  ?” 

“त्यै त हेर्न मलाई कस्तो टेन्सन भएको छ । म त पागल नै हुन आँटिसकेँ ।” साथीलाई अगाडि पाएर त होला मेरा दुवै आँखा रसाए । गला भारी भएर आयो ।

सायद मीनाले मेरो अनुहार पढी होला मेरो नजिकै आएर मेरो कपाल सुमसुम्याउन थाली ।

“अस्ति १३ गते हाम्रो म्यारिज एनिभर्सरी थियो । भिनाजुले मोबाइलबाट हामी दुईको फोटो लिएर फेसबुकमा हाल्नु भएछ । त्यो फोटो देखेपछि निरुलाई औडाहा नै भएछ । अफिसबाटै हाप छुछट्टी लिएर ऊ हाम्रो घरमा आई । म त साथी आई भनेर खुसी भएको त उसले त क्या नाटक नै देखाई ।”

“के भनी ? के गरी र ?” अब भने मीना पनि सिरियस भई । 

उसले भिनाजुलाई नै फोन गरी र के के भनी त्यो त मैले सुन्नमा ध्यान दिइनँ । तर बुढाले यताबाट तिमी नै यता आउन म त्यता आउन सक्दिनँ त भनेको सुनँे । पछि कसको फोन भनेर सोधेको बुढाले निरूको भनेका थिए । ऊ हाम्रोमा आइरहने भएकोले मैले त्यति ध्यान नै दिइनँ ।

ऊ आई उसको मोबाइलबाट मलाई उसको र मेरो बुढाको फोटो खिच्न लगाई । यहाँसम्म त मलाई पनि केही लागेको थिएन तर उसले मोबाइलमा मेरो र बुढाको फोटो देखाएर यस्तै चाहियोभन्दा म झसङ्ग भएँ । 

म केही बोल्नै सकिनँ र उसले भिनाजुलाई नै उठाएर मेरै अगाडि त्यस्तै गरी फोटो खिच्न भनी । भिनाजु पनि मक्ख परेर श्रीमान् श्रीमतीको फोटो जस्तो गरेर ऊसित फोटो लिए । जुन फोटोको पोज श्रीमान् श्रीमतीका लागि मात्र हुन्थ्यो त्यो पोजमा फोटो लिई सकेपछि म दुवै जनालाई नियाल्न पुगँे ।

बिरामी बुढा त निरु घरमा आएपछि त्यसै त्यसै मक्ख परेर बिरामी जस्तै नदेखिएर ऊसित जिस्की जिस्की गफ गरेका । निरू, मेरो साथी मेरो घरमा मलाई भेट्न हैन उसको प्रेमी भेट्न आएको जस्तो बुढासंँगै जिस्किएर, टाँसिएरै बसी बाबै ।” 

“अनि तैले भिनाजु या निरूलाई केही भनिनस् ?”

“बुढासित कुरा गर्न सकिनँ । बिरामी मान्छे होइन रहेछ भने कत्ति टेन्सन हुने होला जस्तो लाग्यो । आफ्नो लोग्नेसित कुरा गर्न नसक्ने मान्छेले निरूसित के कुरा गर्नु ? के भन्नु ? 

“भिनाजुसित केही भनिनस्, सामान्य हुन सकिस् अरू दिनको जस्तो ?”

“मलाई पिर लाग्यो, खान मन लागेन । बुढादेखि रिस उठ्थ्यो । लोग्ने सध्दे भएको भए त हात नै हालेर कुट्थेँ पनि होला । त्यही दिन उसलाई घरबाट निकालिदिन्थेँ होला तर म मरिच हुन विवश भएँ ।”

मलाई यो कुराले धेरै नै टेन्सन दियो । बुढालाई क्यान्सर हुँदा रोग लाग्यो भन्ने पिर थियो तर यसले त मलाई मानसिक क्यान्सर रोगी बनायो । त्यो दिनदेखि म बुढासितसँगै सुत्न पनि सकेकी छैन । म त त्यो दिनपछि केही सोच्नै सकेकी छैन, न भोक न निन्द्रा भएकी छु । मर्नै लागे छट्पटिएर लौन मलाई हेल्प गरिदे न ।” मैले मीनासित गुहार नै मागेँ । 

“के गरी म तेरो हेल्प गरूँ त भन्, मसित कस्तो हेल्प मागेकी होस् तैले ?” मीनाले प्रश्न तेर्साएपछि म मा पनि अलिकति राहत पाए जस्तो भयो र भनेँ ।

“तेरो पनि निरूसित राम्रै छ, यसो उसलाई भेटेर मन चोर न उसको, के भन्ने रहिछ । बुझिदे न म गलत हो कि साँच्चै यिनीहरू एकअर्कालाई चाहन्छन् ।” मैले यति भनेपछि मीना चुप भई केहीबेर । 

“ल म पर्सि शनिबार उसकै घरमा जान्छु र बुझ्ने कोसिस गर्दछु ।” 

त्यो दिन मीना धेरैबेर मेरोमा बसेर साँझपरेपछि मात्र फर्किई । 

शनिबार बेलुका मीनाले मलाई फोन गरेर आइतबार उसैको घरमा बोलाई । छोरी घरमा आएको बेला परेकाले मलाई पनि बुढालाई छोडेर बाहिर निस्कन सजिलै हुने थियो ।

हतार मलाई परेको थियो मीनाको कुरा सुन्न । रातभरि निदाउन सकिनँ । बिहानको नित्यकर्म भात भान्सा गर्दै दस बजिहाल्यो । बुढा र छोरीलाई खान दिएर म तयार भएर लागेँ मीनाको घरमा ।

मीना पनि मलाई नै कुरेर बसिरहेकी रेछ । उसले मलाई केही भनिन, आफ्नो मोबाइलमा भएको फोटोहरू हेर्न भनी । “हेर तेरो छातीमा छुरा घोप्ने तेरै साथीको कर्तुत । निरूको मोबाइलबाट लिएका फोटाहरू ।”

पहिलो फोटो त्यही फोटो थियो जुन निरूले हाम्रो घरमा आएर मेरो बुढासित लिएकी थिई । “उसको मोबाइल स्व्रिmनमै यो फोटो देखेँ ।” मीनाले भनी । म चुप लागिरहेँ ।

त्यसपछि अरू देखाउँदै गई त्यहाँ मेरो बुढासित पोखरा घुम्न गएको, अरू ठाउँहरू पनि गएको फोटोहरू थिए तर ती मेरो बुढालाई क्यान्सर हुनुभन्दा पहिलेका जस्ता थिए ।

त्यसपछि केही मेसिन्जरमा च्याट गरेका कुरा फोटो खिचेर ल्याएकी रहिछ जुन निरू र मेरो बुढाको बिचमा सबै सीमा तोडिएका प्रमाण थिए । फोटोहरू अरू पनि हेर्न बाँकी थियो तर मैले हेर्न सकिनँ र रोकिएँ । यति हेरिसकेपछि म मीनालाई एकोहोरो हेर्न पुगेछु । बोल्ने शब्द आएन । मन छट्पटियो तर शरीर स्थिर भयो ।

मेरो बुढा अर्को महिलासित छिः, मैले त कहिल्यै उनीमाथि शङ्का पनि गरेकी थिइनँ । दिल्ली पुगेर क्यान्सर भन्ने थाहा पाएपछि निरूलाई धेरै सम्झाएर बुढाले म्यासेज गरेका रहेछन् । तर त्यो दिन ममाथि कत्रो चट्याङ परेको थियो तर मलाई सम्झाउने को त्यहाँ ? 

विदेशमा बुढाबुढी मात्र गएका थियौँ, उहालाई क्यान्सर भनेपछि म नै दह्रो भएर उहाँलाई सम्झाएकी थिएँ । जिन्दगीभरीको माया त्यही दिन सबै पोखाएर श्रीमान्लाई निको हुन्छ भनेर हौसाएकी थिएँ । तर उहाँको माया त त्यो दिन पनि निरूका लागि पोखिएको रहेछ ।

“अब हामी पहिलेको जस्तो भेटिन सक्दैनौँ होला निरू । तर तिमीलाई मैले गर्ने माया झन् गहिरो हुनेछ । कहिले काहीँ साथीलाई भेट्न आएको जस्तो गरेर मलाई तिम्रो त्यो हँसिलो अनुहार देखाउन मात्रै भएपनि आऊ ल ।” बुढाले अस्पतालको रिपोर्ट पाउनासाथ निरूलाई यस्तो म्यासेज गरेका रहेछन् ।