• २० कात्तिक २०८२, बिहिबार

नेपाली सेनाले मनायो संयुक्त राष्ट्र सङ्घको स्थापना दिवस

blog

कार्यक्रममा सहभागी प्रधान सेनापति महारथी अशोक राज सिग्देललगायत । तस्बिरः नेपाली सेना

काठमाडौँ, कात्तिक २० गते। नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको ८० औं स्थापना दिवस बिहीबार विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।

श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। 

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरुमा समेत पहिलो स्थानमा छ। संयुक्त राष्ट्र सङ्घीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न दश वटा मिसनहरुमा नेपाली सेनाका पाँच हजार ८१९ जना शान्ति सैनिक कार्यरत छन्। 


विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरुले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिक घाइते भएका छन्।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारी, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका पदाधिकारी, मित्र राष्ट्रहरुका सैनिक सहचारी, सञ्चारकर्मी लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो।