• २० कात्तिक २०८२, बिहिबार

सनाखत नहुँदा दश दिनदेखि अस्पतालमै शव

blog

भक्तिविलास पोखरेल

गाईघाट, कात्तिक २० गते । जिल्ला अस्पताल उदयपुरमा १० दिनअघि मृत्यु भएका एक अपरिचित मानिसको अझै सनाखत हुन सकेको छैन । 

भुइमा लडिरहेको अचेत अबस्थाका त्रियुगा नगरपालिका –८ स्थित मदन भण्डारी लोकमार्गको शाहीखोला पुल छेउबाट कात्तिक १० गते बेलुका एक बृद्ध पुरुष मानिसलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरेकोमा चिकित्सकले त्यसैबेला मृत घोषणा गरेको ती मानिसको १० दिन बितिसक्दा समेत सनाखत हुन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार निजको लाश जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखी फोटोसहितको प्रहरी टोली खटिइ गई थप अनुसन्धान तथा लाशको पहिचानको कार्य भइरहेकोमा हालसम्म पहिचान हुन नसकेपछि जिल्ला अस्पताल उदयपुरको शव गृहमा नै शव राखिएको छ ।

करिव ५५ वर्षको जस्तो पुरुष मानिस खैरो कलरको भेष्ट, निलो कलरको हाप पाइन्ट लगाएको, पहाडे मूलको जस्तो देखिने, मंगोलियन अनुहार भएको वर्ण गहुगोरो रहेको र निजको साथमा परिचय खुल्ने केही कागजात पनि नभएको र स्थानीयहरुले समेत नचिनेका कारण अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी उपरीक्षक दोङले बताउनुभयो ।