• २७ पुस २०८१, शनिबार

हिमपात हुँदा किसान खुसी

blog

सोमबार माथिल्लो मनाङमा भएको हिमपात । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, कात्तिक १ गते ।
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।

तराई तथा पहाडमा सोमबार परेको वर्षा अनि हावाहुरी असिनाले पाकेको बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । तर हिमालपारिको जिल्ला मनाङमा भने यस वर्षको सुरुआती हिमपातले किसानलाई दसैँसँगै खुसी थपेको छ ।

‘हिमालको खेती बाह्र वर्षमा १ पटक’ मात्रै राम्रो हुने मान्यता अहिले पनि छँदै छ । थोरै मात्र पानी भए पुग्ने र हिमपातले चिस्यानलाई बचाइराख्ने हुनाले यहाँका किसानहरु हिमपातका कारण बालीनाली सप्रने भयो भन्दै खुसी भएका हुन् ।

‘‘गतवर्ष यो समयमा हिमपात भएको थिएन, यस वर्ष माथिल्लो क्षेत्रमा हिमपात भएको छ,’’ ङिस्याङ गाउँपालिका–९ का वडा अध्यक्ष चोल्पा गुरुङले भन्नुभयो । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको उहाँको भनाइ छ ।

तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा मजासँग हिमपात भएको पर्यटक गाइड प्रदीपजंग कार्कीले जानकारी दिनुभयो । कार्कीले आफूसँगै थोराङ्ला गएका पर्यटक खुसी भएको बताउनुभयो । दसैँ, पर्यटक र हिमपातले यात्रामा रोमाञ्चकता थपेको कार्कीको भनाइ छ ।

‘‘हिमपात नहुँदा पानीको अभावले उत्पादक कम हुन्छ, यसपालि बेलैमा हिमपात भएको छ, यसले बालीनाली सप्रन्छ, हामी त खुसी छौं,’’ ङिस्याङका अगुवा चौंरीपालक कृषक याङदुङ गुरुङले भन्नुभयो, ‘‘हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ ।’’ हिमपात भएपछि याक, चौंरीका लागि पनि हुने र घाँस पनि राम्रोसँग पलाउने गुरुङ आशावादी हुनुहुन्छ । यसरी नै हिमपात हुँदै गयो भने मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौंरी बेँसी झार्ने बेला आउनेमा गुरुङले जोड दिनुभयो ।