• १३ असार २०८२, शुक्रबार

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

blog

राइनासको प्रशासकीय भवन । तस्विरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असार १३ गते । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट प्रशासकीय काम थालेको हो । 

भवन निर्माणको सम्झौताअनुरूप तीन वर्षमा सक्नुपर्ने भए पनि सात वर्षमा मात्र सम्पन्न भएपछि पालिकाले आफ्नै भवन प्रयोग गर्न पाएको हो । पालिकाले असारको दोस्रो हप्तादेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । 

नगरप्रमूख खड्कबहादुर गुरुङले नागरिकको सेवा प्रवाहमा सहजता र अन्य व्यवस्थापनका लागि भवन अति नै महत्वपूर्ण रहेको बतानउनुभयो । स्थानीय तहबाट प्रवाह हुने सेवाहरुलाई सहज बनाउन, विषयगत शाखा व्यवस्थापन तथा स्थायी सुरक्षाका लागि पनि भवन तथा संरचना अति अवश्यक रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५–७६ बाट सुरु भएको सो प्रशासकीय भवन निर्माण व्यवसायीको लापरबाहीले सात वर्ष लागेको थियो । सात करोड ३३ लाख २४ हजार तीनसय १७ रुपिया ३५ पैसा कुल लागत अनुमान गरिएकोमा कञ्चनजंगा निर्माण सेवाले चार करोड ६३ लाख ११ हजार तीनसय ५४ रुपियाँमा सम्झौता गरेको थियो । 

तीन वर्षमा निर्माण सक्नेगरी २०७६ भदौ १८ गते सम्झौता भए पनि काम अन्तिम चरणमा पुगेर लामो समय काम रोकिएपछि नगरपालिका आँफैले थप लगानी गरी बाह्य संरचना निर्माण एवं अन्य व्यवस्थापकीय कामहरु गरेर भवन निर्माणको काम सम्पन्न गरेको थियो ।