• १३ असार २०८२, शुक्रबार

घुम्ती कोषमार्फत माछापालनमा प्रोत्साहन

blog

घुम्ती कोषमार्फत माछा पालन गरिएको बृजा ताल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार १३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछापालनलाई प्रवर्द्धन गरिएको छ । 

नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपियाँको घुम्ते कोष स्थापना गर्दै माछापालनका परियोजनाहरू सञ्चालनमा ल्याएको हो । नगरप्रमुख केशवकुमार श्रेष्ठले घुम्ती कोषबाट प्राप्त लगानीले समुदायमा आयआर्जन बढाउने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने गरी योजना बनाएको बताउनुभएको छ । 

तालहरूको निर्माण र संरक्षणसँगै खेतीका लागि सिँचाइमा सहयोग पुगेको स्थानीयहरूले बताएका छन् । “खडेरीका बेला खेत सिँचाइमा यी तालहरू उपयोगी छन् । साथै, वन्यजन्तु र भूमिगत जल व्यवस्थापनमा समेत टेवा पुगेको छ । तर समुदायसँग पर्याप्त लगानी भने छैन । तालमा पानीको स्रोतको लागी बोरिङको समेत अभाव छ ।” जिसस कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनुभयो। तर माछा पालनलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने दाना खरिदका लागि स्रोत अभाव हुँदा उत्पादनमा असर परेको जनाइएको छ ।

वडा नम्बर ९ मा रहेको हरियाली सामुदायिक वनअन्तर्गतको १३.२ हेक्टर क्षेत्रफलको बृजा तालमा ४९ लाख रुपियाँभन्दा बढी खर्च गरेर माछापालन सुरु गरिएको छ । “तालमा पक्की संरचना बनायौँ, भुरा र दाना समुदायको सहभागितामा किन्यौँ । तर पर्याप्त लगानी गर्न अझै चुनौती छ । घुम्ते कोषमा ३१ लाख रकम फिर्ता गरेका छौं,” अध्यक्ष मीना थारुले बताउनुभयो । 

यसैगरी, तिनघेरवा सामुदायिक वनले ३.३ हेक्टर क्षेत्रफलको तिनघेरवा ताल निर्माणमा ३६ लाख रुपियाँ खर्च गरेको छ । समुदायबाट केही रकम सङ्कलन गरी गरी दाना, भुरा र हेरालुको व्यवस्थापन गरिएको छ ।  

त्यस्तै, टोल बासीको अगुवाइमा वडा नम्बर ४ स्थित बुड्डी तालमा ३० लाख र वडा नम्बर ९ को मैटहवा तालमा १६ लाख रुपियाँको लगानी गरिएको कार्यक्रम संयोजक सुनीता टण्डनले जानकारी दिनुभयो। 

माछापालनलाई थप प्रभावकारी बनाउन आवश्यक दाना खरिदका लागि स्रोत अभाव हुँदा उत्पादनमा असर परेको जनाइएको छ । द च्यारिटेबल फाउन्डेसन अस्ट्रेलियाबाट प्राप्त रकम पालिकाको समन्वयमा ५ वर्षभित्र फिर्ता गर्ने शर्तमा लगानी गरिएको थियो । यही कोषबाट दुई वर्षअघि मैटहवा तालमा लगानी गरिएको हो । कोषमार्फत हालसम्म ११ सय घरधुरी लाभान्वित भएको संस्थाको अध्यक्ष शकुन्तला भुसालले बताउनुभयो ।