• १२ असार २०८१, बुधबार

किसानलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थालाई कृषिमन्त्रीको निर्देशन

blog

कृषि तथा पशुपंक्षि विकासमन्त्री डा वेदुराम भुसाल सोमबार मन्त्राालयले गरेको काम कारबाहीबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, असोज २९ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिनुभएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले कारोबार भएको एक महिना भित्र किसानहरूलाई दुधको भुक्तानी गर्न दुधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताउनुभएको हो ।

उहाँले दुधसँग सम्बन्धित संस्थाहरूको समस्या समाधानका लागि मन्त्रालयले उनीहरूको स्टक रहेको दुधलगायतका उत्पादनहरूलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताउनुभयो । दुधसम्बन्धी संस्थाहरूको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरूको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘कमसेकम पनि एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी भुक्तानी हुनपर्छ भनेर निर्देशन गरेका छौँ । सबैलाई यो डिडिसीको मात्रै होइन, अरू प्राइभेट कम्पनीहरूको पनि दुधको भुक्तानी बाँकी रहेको कुरा हामीलाई आएको छ । त्यसकारण सबै दुधको कारोबार गर्ने संस्थाहरूले किसानको एक महिना भन्दा बढी बाँकी राखी दिनु हुँदैन ।,’’ मन्त्री भुसालले भन्नुभयो,  ‘‘एक महिनाको व्यापार गरिसकेपछि त्यसको भुक्तानी दिन सक्नु पर्दछ । त्यसरी जानुस् भनेर हामीले भनेका छौँ । अर्को, उहाँहरूलाई परेको समस्या समाधानका लागि उहाँहरूसँग जुन स्टक छ । उहाँहरूले गरेको उत्पादन धुलो दुधलगायतको जुन उत्पादन छ । त्यो स्टक वस्तु धितो राखेर सहुलियत ऋण उपलब्ध गराउनका निम्ति हाम्रो तर्फबाट पहल गर्ने निर्णय पनि गरिएको छ ।’’

मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्‍याउनुभयो ।