हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २६ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा दैनिकजसो चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट दैनिकजसो विद्युतीय सवारीसाधनसहित अन्य उपकरण तथा सामान बोकेका मालबाहक ट्रक र कन्टेनरहरू भित्रिरहेका छन् । बिहान र बेलुकीको समयमा माइन तापक्रममा समेत नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुदै लिजी–नेचुङ (कोरला) नाकामा नेपाली ब्यवसायी सडकमा जमेको बरफ फुटाउँदै मालबाहक ट्र«क लिएर पुग्छन् ।
अत्याधिक चिसोका कारण बस्ती पातलिँदै गएपनि मुस्ताङ भन्सार कार्यालयले मङ्सिर २४ गतेसम्म चार अर्ब ५७ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार नाकाबाट भित्रिएका सवारीसाधनको जाँचपास गरी गन्तव्यतर्फ पठाउने कार्यलाई तीव्रता दिइएको छ । मुस्ताङ भन्सार कार्यालयबाट नौ अर्ब ७८ करोड ३९ लाख बराबरको सामान मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने तथा १५ करोड ६८ लाख ५७ हजारको नेपालमा उत्पादन हुने हस्तकला साम्रागी, कपडा लगायतका सामान निकासी गरिएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी सिंहले भन्नुभयो, ‘‘यो महिनाभरी सामान आउने सूचना छ, भारीहिमपात भएमा नाका क्षेत्रबाट प्रवेश गर्न समस्या हुन्छ ।’’ भन्सार कार्यालयमा हालसम्म एक हजार सात सय ६१ वटा विद्युतीय (ईभी) भित्रिएकोमा सबै जाँचपास गरी पठाइएको छ ।
विद्युतीय सवारीसाधनलाई चिसोमा ढुवानीमा समस्या हुने भएकाले प्राथमिकता दिएर पठाउने गरिएको सूचना अधिकारी सिंहले बताउनुभयो । कोरला नाकाबाट नेचुङमा रहेको भन्सार कार्यालय करिब १४ किलोमिटरको दूरीमा छ । कोरला नाकाबाट भन्सार कार्यालयसम्मको सडक विहानको समयमा जमेर बरफ हुने समस्याका कारण दिउँसो घाम लागेपछि मात्रै ढुवानी गर्ने गरिएको छ ।
कोरला नाकामा रहेका पसलबाट दैनिकजसो चिनियाँ ब्यापारिक केन्द्रमा ५० जनासम्म जाने गरेकाले अहिले पर्यटकको चहलपहल नभएपनि फुटकर कारोबार नियमित भइरहेको छ । तिब्वत क्षेत्रमा नेपालमा निर्मत कपडा, हस्तकलाका साम्रगी रुचाइरहेकाले निर्यातमा सुधार भएपनि प्रयाप्त नभएकाले कुटनीतिक पहलमार्फत चिनियाँ बजारमा सामान ढुवानी गर्न सकिने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो । चिनियाँले नेपाली उत्पादनका बस्तु प्रयोग गर्न थालेपछि निकासीमा समेत सुधार भएको छ ।
वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो । व्यवसायिक रुपमा कोरला नाका सञ्चालनमा आएपछि उपल्लो मुस्ताङवासीले चिसोमा समेत व्यापार तथा भन्सारबाट आउने सामान ढुवानीका कारण जाडो छल्न बजार झरेका छैनन् ।
समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन समेत एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड सुधार नहुँदा ठुृला कन्टेरन सञ्चालनमा समस्या भइरहेको छ भने कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ ।