• ६ जेठ २०८१, आइतबार

एसिसी प्रिमियर कप क्रिकेट : नेपालले बहराइनलाई हरायो

blog

काठमाडौं, असोज २८ गते । मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२/३२ रनको योगदान दिनुभयो । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोड्नु भयो । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट हुनुभयो । ओपनर दीपक बोहराले चार रन जोड्नु भयो । 

बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिनुभयो ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले  सर्वाधिक ३४ रनको योगदान दिनुभयो । उहाँले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बताउनुभएको हो । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनका कप्तान सीफे रमेशले छ रन जोड्नुभयो भने आयन ओबैद सैइदले तीन रन जोड्नुभयो । सार्थक वैद्दराजु दुई रनमा आउट हुनुभयो । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिनुभयो भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिनुभयो । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् । रासस