• २४ वैशाख २०८१, सोमबार

नेपालको स्तरोन्नतिबारे युरोपमा चासो

blog

ब्रसेल्स (बेल्जियम), असोज २६ गते । नेपालबारे युरोपमा चासो र चर्चा दुवै बढेको छ । सन् २०२६ मा विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपालले अब के कस्तो प्रक्रियाबाट आफूलाई अझ बलियो बनाएर लैजान्छ भन्ने चासो युरोपेली सङ्घ (इयु) र यसका सरोकारवाला निकायमा बढेको हो । 

बेल्जियमस्थित युरोपेली सङ्घको मुख्यालयसँगै यसका विविध निकाय अवस्थित छ । जसले आफूले विभिन्न माध्यमबाट सहयोग गरिरहेका नेपाललगायतका मुलुकबारे विगत र वर्तमानमा भइरहेको परिवर्तनको लेखाजोखा गरिरहेको छ । 

नेपाल सरकारले स्तारोन्नतिका लागि आफ्नोतर्फबाट गृहकार्य थालिसकेको बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीले बताउनुभयो । विकासोन्मुखबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि आवश्यक तयारीसँगै त्यसपछि लिन सकिने सहयोगबारे पनि सरकारले पहल थालेको उहाँले बताउनुभयो । 

इयु मानव अधिकार पत्रकार पुरस्कार प्राप्त गरेका गोरखापत्रका पत्रकारसँग दूतावासमा कुरा गर्दै उहाँले युरोपेली सङ्घ नेपालको प्रमुख सहयोगी मुलुकमध्येको एउटा भएकाले पनि सरकार सचेत रहेर काम गरिरहेको औँल्याउनुभयो । उहाँले इयु नेपाल सम्बन्ध थप प्रगाढ बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले इयुका उच्चाधिकारीसँग कुराकानी गर्ने, थप प्रक्रियाबारे बुझ्ने काम गरिरहेको बताउनुभयो ।

युरोपेली सङ्घले अन्य विविध सहयोगको दायरा फराकिलो बनाउँदै अघि बढ्ने विषयमा नेपालका अध्ययन प्रतिवेदनलाई गहनतासाथ नियालिरहेको मानव अधिकारका लागि इयुका विशेष प्रतिनिध इमोन गिलमोरले बताउनुभयो । उहाँले मानव अधिकारसहित विभिन्न पाँच वटा आधारशिलामा युरोपेली सङ्घको विदेश नीतिले काम गर्ने भएकाले त्यही अनुसार नेपालले तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।  त्यसका लागि सङ्घले नेपालको विकास रणनीतिको मूल्याङ्कन गर्दै अन्य मुलुकसँग पनि नेपालको वार्षिक प्रतिवेदनको तुलना गर्दै अवस्था सुधार गर्न सुझाउने गरेको जानकारी उहाँले दिनुभयो । 

त्यस्तै इयुको एसिया प्रशान्त महाशाखाका निमित्त प्रबन्ध निर्देशक पाओला पाम्पोलिनीले इयु नेपालको संयुक्त आयोगको बैठकले तय गरेका निर्णयमा नेपालले ध्यान दिनुपर्ने सुझाउनुभयो । संयुक्त राष्ट्रसङ्घको बडापत्रको आधारभूत विषयलाई सम्मान गर्दै इयुले अत्यधिक महत्वपूर्ण पाटोका रूपमा राखेको मानव अधिकारको विषयलाई सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि युरोपेली सङ्घले थप सहयोग र सहकार्य गर्न तयार रहेको र त्यही अनुसार गृहकार्य गरिरहेको उहाँले प्रस्ट पार्नुभयो । 

पाँच दिनदेखि युरोप भ्रमणमा रहँदै युरोपेली सङ्घका विभिन्न प्रमुख निकायको भ्रमण गरिरहेका पत्रकारलाई त्यहाँको कामको प्रक्रिया र महत्वपूर्ण स्थलको अवलोकन भ्रमण गराउने क्रम बिहीबार पनि जारी छ ।

गत शनिबारदेखि पाँच दिनसम्म युरोपेली सङ्घका अति महत्वपूर्ण स्थलहरू युरोपियन एक्सटर्नल एक्सन सर्भिसको मुख्यालय र यहाँ हुने पत्रकार सम्मेलन स्थल, युरोपेली संसद्, युरोपेली परिषद्, युरोपेली आयोगका महत्वपूर्ण वार्तास्थल, उच्चस्तरीय भ्रमणको प्रक्रिया तथा सहभागिताबारे जानकारी गराइएको छ । 

त्यस्तै युरोपको इतिहास बोल्ने हाउस अफ युरोपियन हिस्ट्री, संसद्को इतिहास बोल्ने पार्लियामेन्ट्रियमलगातका महìवपूर्ण स्थलको अवलोकन भ्रमण गराइएको छ ।