• १३ पुस २०८१, शनिबार

समाजको ऐना शिक्षक

blog

केही दिनअघि मात्रै हामीले विश्व शिक्षक दिवस मनायौँ । चाहेको शिक्षाका लागि शिक्षक चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अपरिहार्य भन्ने नाराका साथ दिवस मनाइयो । मानव समाजले धेरै किसिमका दिवस मनाइरहेका बेला शिक्षक दिवस पनि मनाउने प्रचलन आएको हो । विश्व शिक्षक दिवसको उद्देश्य संसारका शिक्षकहरूको प्रशंसा, मूल्याङ्कन र सुधारमा ध्यान केन्द्रित गर्नु र शिक्षक र शिक्षणसँग सम्बन्धित मुद्दाहरू विचार गर्ने अवसर प्रदान गर्नु हो । 

सन् १९९४ मा पेरिसमा युनेस्कोले आयोजना गरेको विशेष अन्तरसरकारी सम्मेलनमा शिक्षकको स्थितिसम्बन्धी युनेस्को र विश्व श्रम सङ्गठनको सिफारिसलाई स्वीकार गरेपछि यस दिनको सम्झनामा विश्व शिक्षक दिवसका रूपमा मनाउने घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष विश्व शिक्षक दिवसका रूपमा मनाइँदै आएको छ । शिक्षकको कडा परिश्रम र समर्पणलाई सम्मान गर्ने दिन भएकाले पनि शिक्षक दिवसलाई संसारभर निकै महत्वका साथ हेर्ने गरिन्छ । 

सबै पेसाकर्मीले वर्षको एक दिन आफ्नो दिवसको रूपमा मनाउने विश्वव्यापी अभ्यास हो । यद्यपि नेपालको सन्दर्भमा भने गुरु पूर्णिमाका दिन अनौपचारिक रूपमा आफूलाई शिक्षादीक्षा दिने गुरुलाई सम्झने गरिन्छ । केही शिक्षकले चैत २९ गतेलाई शिक्षक दिवसका रूपमा मनाउँदै आएका छन् भने अहिलेसम्म सरकारी पक्षबाट औपचारिक रूपमा विशेष दिन पारेर शिक्षक दिवस मनाउने गरेको पाइँदैन । शिक्षकले कुनै खास दिनलाई शिक्षक दिवसका रूपमा मनाउन नपाउनुमा सरकारको मात्रै दोष छैन । पेसागतभन्दा राजनीतिक बढी भएको आरोप लाग्ने गरेका शिक्षक पेसागत सङ्घ/सङ्गठन बढी जिम्मेवार छन् ।

विभिन्न समूहले छुटछुट्टै दिनमा शिक्षक दिवस मनाउनुको सट्टा युनेस्कोलगायत सयभन्दा बढी देशमा मनाइने र विश्वभरका शिक्षकलाई सम्मान गर्ने इतिहाससँग जोडिएको अक्टोबर ५ तारिखमा नेपालले पनि औपचारिक रूपमा शिक्षक दिवस मनाउने प्रचलनको सुरुवात गर्न सके शिक्षकहरूमा हौसला बढ्ने आमशिक्षकको बुझाइ छ । हरेक शिक्षकले आफूप्रति सम्मान भएको महसुस गर्ने छन् । उनीहरूले समाजमा असल शिक्षकका रूपमा चिनिने अवसर पाउने छन् । शिक्षक, विद्यार्थी र अभिभावकबिच साक्षात्कार हुने अवसर प्राप्त हुने छ । त्यसै गरी शिक्षक दिवसको अवसरमा शिक्षकलाई योगदान र क्षमताका आधारमा सम्मान गर्ने प्रचलन सुरु गर्न सकियो भने त्यो नै शिक्षकप्रति सच्चा सम्मान हुने छ ।

सरकारले विश्व श्रमिक दिवस, निजामती सेवा दिवस, प्रहरी दिवस, सेना दिवस औपचारिक रूपमै तामझामका साथ मनाए पनि शिक्षक दिवसलाई बेवास्ता गर्नु र शिक्षक दिवस नामको एउटा पनि औपचारिक कार्यक्रम नगर्नुलाई विडम्बना नै मान्नु पर्छ । यसले शिक्षकप्रति राज्यको दृष्टिकोण अझै पनि सकारात्मक नभएको हो कि भन्नेमा आशङ्का उब्जिएका छन् । बालबालिका मुलुकको भविष्य हुन् । तिनै बालबालिकाको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएका शिक्षक सधैँभरि राज्यको छायामा पर्नु कदापि उचित हुँदैन । यसतर्फ सरकारले गम्भीर ढङ्गले सोच्न जरुरी छ । 

शिक्षक दिवस भविष्यलाई आकार दिन आफ्नो जीवन समर्पित गर्ने शिक्षकहरूप्रति कृतज्ञता र प्रशंसा व्यक्त गर्ने एउटा सुनौलो अवसर पनि हो । समाजमा शिक्षकहरूको गहिरो प्रभाव रेखाङ्कित भएको हुन्छ । तिनीहरूले सिकारुमा बुद्धिको पोषण गर्छन्, जिज्ञासा जगाउँछन्, आत्मविश्वास बढाउँछन् र जीवनभर शिक्षालाई बढावा दिन्छन् । शिक्षकलाई बहुआयामिक भूमिका निर्वाह गर्ने, ज्ञान र ज्ञानको मार्गलाई उज्यालो पार्ने समाजको उल्लेखनीय व्यक्तित्वको रूपमा लिइन्छ । 

यो शिक्षकहरूका लागि एक विशेष दिन हो, यस दिनमा शिक्षकहरूले शिक्षालाई कसरी रूपान्तरण गर्दैछन् भनेर देखाउने अवसर पनि हो । यसले आफ्नो प्रतिभा र पेसालाई पूर्ण रूपमा प्रयोग गर्न र विश्वव्यापी रूपमा पेसाको लागि अगाडि बढ्ने बाटोमा पुनर्विचार गर्ने मौका दिनका साथै सरकारले के–कस्ता सेवाहरू उपलब्ध गराउनु पर्छ भनेर आफ्ना विद्यार्थीमार्फत अभिभावक, नेतृत्व, नियामक निकाय र सरोकारवालालाई जानकारी गराउन एउटा अवसर पनि प्रदान गर्ने छ । 

शिक्षकहरूले सबैको जीवनमा महत्वपूर्ण भूमिका खेल्छन् । शिक्षकहरू मानव जीवनको एक महत्वपूर्ण हिस्सा हुन् । किनभने उनीहरूले बच्चाहरूको भविष्यको पालनपोषण र आकार दिन महत्वपूर्ण भूमिका खेल्छन् । शिक्षक दिवसलाई अवसरको रूपमा लिँदै, हामीले वास्तविक आध्यात्मिक गुरुसँगको सम्बन्धलाई बलियो बनाउनु पर्छ । अध्यात्म जीवन एक अर्थपूर्ण जीवन हो । भगवान् कविरले भनेका छन्, “साँचो आध्यात्मिक गुरुबिना हाम्रो जीवन जनावर जस्तै हो ।” एक आध्यात्मिक शिक्षक एक रचनात्मक शिक्षक पनि हो । जसले बच्चाहरूको खाली दिमाग भर्छ र तिनीहरूलाई तर्कसङ्गत मानव बनाउँछ ।

अन्य दिवस जस्तै शिक्षक दिवसलाई पनि सरकारले राष्ट्रिय दिवस घोषणा गरी औपचारिकता दिनु पर्छ । एक दिनका लागि मात्रै भए पनि शिक्षकहरूले स्वतन्त्र वातावरणमा आफ्ना लागि आफ्नै कार्यक्रम गर्न पाउने वातावरण सिर्जना गर्न सके शिक्षकप्रति सम्मान बढ्ने छ । सबै शिक्षकको हौसला बढ्ने छ । शिक्षकलाई सधैँ भेदभाव र अपमानित गर्ने मात्र होइन सरोकारवाला, समाज र आमजनताको शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । यो कुरामा सबैले सोच्न जरुरी छ । 

सामाजिक रूपमा मिलेर बस्नु मानवीय स्वभाव हो । समाज मानिसहरूको सङ्गठित रूप हो, जहाँ असल र खराब दुवै प्रकारका मानिस हुन्छन् । निःसन्देह, असल मानिसहरूले समाजलाई राम्रो बनाउन प्रयास गर्छन् तर खराब मानिसको कारणले समाजमा खराबी, निराशा, घृणा आदि जन्मन्छ । यस्तो अवस्थामा शिक्षकहरूले आफ्नो योगदानबाट ती निराशा, विकृति, अज्ञानता आदि हटाउने प्रयास गरिरहेका हुन्छन् । शिक्षक समाजका उदाहरण बन्न सक्नु पर्छ । जसले हाम्रो समाज रूपान्तरणमा महìवपूर्ण योगदान पु¥याउँदै आएका छन् । शिक्षक समाजको ऐना हुन् । 

एक शिक्षक हुनुले अरूको जीवनमा परिवर्तनकारी र दिगो प्रभाव पार्ने, दिगो भविष्यलाई आकार दिन र व्यक्तिगत पूर्ति प्रदान गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । यद्यपि विश्वले मात्र होइन, हाम्रो मुलुकले पनि अभूतपूर्व शिक्षक अभावको सामना गरिरहेको छ । जुन उनीहरूको कामको अवस्था र स्थितिमा आएको गिरावटले बढेको छ ।

शिक्षकहरूले सामना गरिरहेका समस्याहरू पहिचान गरी ती समस्याको समाधान खोज्ने अवसरको रूपमा प्रयोग गर्न सके शिक्षा क्षेत्रमा देखिएका जटिलतालाई न्यूनीकरण गर्दै शिक्षालाई जनमुखी, उत्पादनमुखी, रोजगारमुखी बनाउन सकिन्छ । 

  

Author

चिन्तामणि रिजाल