केही दिनदेखि शैलुङ सम्झिरहेको छु । खै ! किन मेरा सपना शैलुङमा परेड खेलिरहेका छन् । मस्तिष्कमा शैलुङको चित्र निर्बाध बसिरहेको छ । पहाडमध्येको रानीपहाड ! सुकोमल÷सुकुमार प्रकृतिको शालीन सौन्दर्य । मनमोहक र चित्ताकर्षक त्यो रानी पहाड बसिरहेको छ आँखाको भित्री कापमा । दोलखाको पर्यटकीय र धार्मिक आस्थाको धरोहर । मेरो जन्मस्थलको सुवास हो शैलुङ ! मैले चिनेको पहिलो पहाड हो शैलुङ ! घाम ढल्दै गर्दा हरेक दिन मैले स्पर्श गर्ने सौन्दर्यको अर्को नाम हो शैलुङ ।
आँखाका परेलामा
झुन्डिएको छ शैलुङ
हृदयको गहिराइमा
टाँसिएको छ शैलुङ
मस्तिष्कको पत्रपत्रमा
अक्षरका भएर
बसिरहेको छ शैलुङ
मेरो प्रिय शैलुङ !
म तिमीलाई सम्झिरहेको छु ।
सम्झनाका हरेक खोँचहरूमा तिमी छौ ।
यो मस्तिष्कमा परेड खेलिरने विचारको एक टुकडी छ । जो नित्य परेड खेलिरहन्छ । स्मृतिको लट्ठामा मच्चाइरहन्छ पिङ । खै ! आज अचानक मैले शैलुङ सम्झिरहेको छु । शैलुङबाट ठिक पूर्वतिर छ मेरो जन्मस्थल झुले । म जन्मिएको गाउँको ठिक पश्चिमतर्फको पहाड हो शैलुङ । यसर्थ मैले शैशवकालमै चिनेको पहिलो पहाड । मैरा यौवनका दिनमा देखिरहेको शिखर । म त्यही शैलुङको चिसो बताससँग पौँठेजोरी खेल्दै हुर्किएको हुँ । मेरा आँखाले पहिलो पटक स्पर्श गरेको पहाड हो शैलुङ ! मेरो हृदयले पहिलो पटक महसुस गरेको अग्लो भूगोल हो शैलुङ ! मलाई शैलुङको अगाध माया छ । यो मुटुको स्नेहिल सौन्दर्य हो शैलुङ !
हरेक दिन म शैलुङ हेरेर उठेको छु । शैलुङ हेरेर निदाएको छु । शैलुङ मेरो सपना भएको छ । शैलुङ मेरो विपना भएको छ । शैलुङ हेरेर म कैयौँ पटक टोलाएको छु । मैले लेख्ने कवितामा शैलुङको सुगन्ध छ । मैले कोर्ने निबन्धमा शैलुङको अथाह सौन्दर्य छ । मैले बोल्ने शब्दमा शैलुङको मिठो हार्दिकपन छ । मभित्र पनि शैलुङ विराजमान छ । मेरो चैतन्यमा बसेको छ शैलुङ ।
किसानले थुपारेका धानका रास झैँ अनेकौँ चित्ताकर्षक थुप्रा छन् । कुनै अग्ला त कुनै होचा । जुन थुम्कारोहण गरे पनि आँखामा सेताम्मे हिमाल देखिन्छन् । शैलुङबाट देखिने हिमाल अन्नपूर्ण, मनासलु, गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र नुम्बुरसम्म दर्जनौँ हिमालको हिमाच्छादित दृश्यले जोकोही लट्ठ हुन्छन् । सौन्दर्यको अनुपम खानी छ शैलुङ । यस्तो लाग्छ शैलुङ पुगेपछि देखिने हिमालय पर्वत शृङ्खला हेर्दा एकछिन पनि आँखा झिम्क्याउन मन लाग्दैन ।
यो दिव्य सौन्दर्यमा लट्ठ नपर्ने सायद कोही हुँदैन ।
मैले कैयौँ पटक शैलुङ पुग्दा सम्झिएको छु । स्वर्ग अन्त कहीँ छैन, स्वर्ग छ भने यस्तै ठाउँ हुन् स्वर्ग । कतिपय कुरामा म अलिक फरक पनि छु, भिडभन्दा फरक ! म अदृश्य कुराको पछि लाग्दिनँ । अफवाहमा विश्वास गर्दिनँ । मानिस अदृश्य कुरामा आस्था राख्छन् । म दृश्यमा विश्वास गर्छु । शाश्वत कुरामा विश्वास राख्छु । तिम्रा नदेखिने ईश्वर छन्÷मेरो देखिने ईश्वर ! म प्रकृति नै ईश्वर हुन् भन्ने मान्यता राख्छु । यो माटो ईश्वर हो÷यो पानी ईश्वर हो÷यो आगो ईश्वर हो÷यो वायु ईश्वर हो ! हिमालको कापबाट उदाउने यो घाम ईश्वर हो । मेरा सबै देखिने ईश्वर छन् ।
शैलुङबाट देखिने हरेक दृश्य अर्थपूर्ण छन् । म यी दृश्यमा द्रव्यको झलक देख्छु । यो सौन्दर्यमा म देशको समृद्धि देख्छु । शैलुङ वैभवको खानी हो । पर्यटनको आधारशिला हो । जनजीविकाको अटुट स्रोत हो । यहाँको चिसो पानीमा पैसा बगेको छ । यी धानका रास रत्नका खानी हुन् । यहाँबाट देखिने हरेक दृश्य हाम्रो अभौतिक सम्पत्ति हुन् । यो उचाइ हाम्रो गौरव हो । यहाँको हरेक दृश्यमा म मोहित भएको छु । यो अनुपम भूगोल प्रकृतिले दिएको अक्षय उपहार हो ।
शैलुङ नाम तामाङ भाषाबाट निर्मित छ । तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का हुन्छ । अन्ततः सय थुम्का नै ‘शै–लुङ’ का रूपमा नामकरण भएको मानिन्छ । शैलुङले दोलखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महìव बोकेको छ । बौद्ध, हिन्दु, व्रिmस्चियन र बोन धर्मावलम्बीको पवित्र स्थल । शैलुङ नामाङ्कनका सम्बन्धमा स्थानीयमाझ विभिन्न किंवदन्ती प्रचलनमा छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै शैलुङ रहन गएको भन्ने मान्यता पनि छ ।
जे होस् यो तामाङको आदिभूमि हो । तामाङ संस्कृति र सभ्यताको जग हो । शैलुङको सिरेटोमा फर्फराउने राता, सेता, निला, पहेँला लुङ्दर दृश्यमा म धेरै पटक लट्ठ परेको छु । यो शैलुङको अर्को विशिष्टता बन्न पुगेको देखिन्छ । आँखामा नाचिरहेका हजारौँ लुङ्दरको फर्फराइले कति पटक ध्यानस्थ बनेको छु । शृङ्ग ऋषिलगायत कैयौँ ऋषिमुनिको व्रmीडास्थल । अध्यात्मको केन्द्र÷ध्यान र साधनाको अप्रतिम तपोभूमि । महाभारत पर्वत शृङ्खलाको उच्च पर्वत । ३४ सय मिटरको उचाइमा सुशोभित । हाम्रो हृदयको अनन्त आयाममा फैलिएको छ । पर्यटकको आँखाभरि छाएको छ शैलुङ !
चौरीका समूह निर्बाध चरिरहेका । भेडाका बगाल छन् खर्कमा खेलिरहेका । चराका बथान छन् नीलो आकाशमा उडिरहेका । आलु खनिरहेका खेतालाको निःस्वार्थ मुस्कान पोखिएको छ शैलुङमा । कर्मशील बुढाबाहरू डोका, थुन्सेमा जीवनका चोया थपिरहेका छन् । दाउराका भारी बोकेर फर्किरहेका श्रमजीवी छन् । आमाहरू राडीसँगै आफ्नो सपना बुनिरहेका छन् । ससाना केटाकेटी हिउँसँग सङ्घर्षको पाठ सिकिरहेका छन् । खस्रुका बोटमा चढेर घँसेरुहरू गाइरहेका छन् दुःखका गीत ।
चौँरीगोठमा छुर्पीका माला छन् । ध्वार्र ध्वार्र मही पारिरहेको आवाज आइरहेको हुन्छ । गोठमा चौँरीगाईका बाच्छा छन् । प्रकृतिको विशिष्ट आनन्द छ शैलुङको सेरोफेरो । म हृदयमा शैलुङ राखेर पोखिरहेको छु किबोर्डमा निबन्धचित्र ।
म कान्तिपुरमा बसेर कवि श्रवण मुकारुङको शब्द र कुन्ति मोक्तानको यो कालजयी गीत रेडियोमा सुनिरहेको छु ।
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ ...!
हरेक पटक यो गीत सुन्दा मेरो मन शैलुङ पुग्छ । मनमा हठात् शैलुङका अनेकौँ चित्र आइपुग्छन् । गुराँसका राताम्मे जङ्गल÷खोलाखोल्सीको सङ्गीत÷भुइँफूलको मादक बास्नाले नाक खसखसाउँछ÷पानीचराको नृत्य÷जौ, गहुँका हरिया बालीमा हावाले खेलिरहेको बहेली÷हरेक पाइला पाइलामा आउने देवीदेवताको बास÷ढुङ्गा ढुङ्गामा प्रकृतिले खोपेको अनेकौँ एब्स्ट्रयाक आकृति÷ती घनाजङ्गल र जङ्गलमा अविरल कराइरहेका झ्याउँकिरीको कर्णप्रिय सङ्गीत । सिजनैपिच्छे शैलुङको सौन्दर्य फरक हुन्छ । हिउँदको शैलुङबाट देखिने हिमाच्छादित रङ फरक हुन्छ । वसन्तमा शैलुङको इन्द्रेणी रङ फरक हुन्छ र बर्खामा देखिने शैलुङको हरियो रङ विशिष्ट हुन्छ ।
शैलुङ–
अनेकौँ रङमा फुल्छ ।
अनेकौँ विचारमा खुल्छ
अनेकौँ सभ्यतामा र
अनेकौँ दर्शनमा घुल्छ ।
अनेकतामा एकताको मियो हो शैलुङ !
एकतामा अनेकताको वैभव हो शैलुङ !
जब जब म कुन्ति मोक्तानको माथि माथि शैलुङ्गेमा भन्ने गीत सुन्छु । म शैलुङमा चौँरी चराइरहेको हुन्छु । भेडाका बथानसँग गोठालासँग बिनायो बजाइरहेको हुन्छु ।
घँसेनी दिदीबहिनीसँग गुराँसका जङ्गलहरूमा दौडिँदै
म त लालीगुराँस भएछु ।
वनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु...!
भन्दै नारायणगोपालको गीत झैँ पाखापर्वत घन्किदिन्छु । हिमालको श्वेत पर्दा आँखामा टाँगेर सौन्दर्यको शब्दातीत संसारमा हराइदिन्छु । हिउँले खाएका ढुङ्गामा निर्मित अनेकौँ आकृति छन् । ती प्राकृतिक कलाप्रदर्शनी हेरेर विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्ची÷सेल्भादोर दाली÷पाब्लो पिकासोको चित्र पनि फिका लाग्छ । प्रकृतिको यस्तो कला ढुङ्गामा मात्रै होइन । रुखमा छन् । जरामा छन् । पातमा छन् । झारमा छन् । हिउँले खाएको माटोमा छन् । म ती कलामा लोभिएको छु ।
मेरो घर झुलेमा कति पटक शैलुङबाट अस्ताउँदै गरेको पहेँलो घाम हेरेर भावुक बनेको छु । कति पटक शैलुङको आकाशमा देखिने बादलका अनेकौँ आकृतिसँग रमाएको छु । मेरो जन्मस्थलबाट नजिकैको यो अग्लो पहाड । कहिले हिउँको घुम्टो ओढेर बेहुली झैँ लजाउँदै बस्छ । कहिले गौरीशङ्कर हिमालको सौन्दर्य हेरिरहेको बुढो मानिस झैँ चुपचाप उभिरहेको हुन्छ । कहिले घाँटीमा कुहिरोको गलबन्दी बेरेर अनि थाप्लोमा बर्खे झरी थापेर मौनता साँधिरहेको हुन्छ । कहिले छातीमा अनेकौँ सपना अस्तव्यस्त राखेर निदाइरहेको हुन्छ शैलुङ ।
तामाकोशी र सुनकोशीको पिँधबाट उठेको शिर हो शैलुङ । महाभारत पर्वत शृङ्खलाको चुली अनि कविको विम्बमा ‘पहाडहरूकी रानी, आँखाकी नानी हो शैलुङ ।’
म गीत सुनेर आज शैलुङको उडान भर्दै छु । मेरो कतिपय विस्मृति गीतले कोट्याइदिन्छ । मन न हो भुरुरु उडेर शैलुङ पुगिदिन्छ । शैलुङको सौन्दर्यमा हराउँछ । सशरीर कैयौँ पटक शैलुङ पुगे पनि कहिल्यै धीत नमरेको ठाउँ । कहिले मन पुग्छ । कहिले तन पुग्छ । कहिले निद्रामा । कहिले तन्द्रामा पुगिरहेको हुन्छु शैलुङ । भोग्नेहरू भन्छन्– केटाकेटी र हिमाल टाढाबाट हेर्दा मात्रै सुन्दर देखिन्छन् । नजिकबाट त सकस पनि लाग्छन् तर मलाई त्यस्तो कहिल्यै भएन । हिउँको चिसो नजिकबाट खपेको छु । सिरेटोले धेरै पटक कानको जरो उखेलेको छ । हातखुट्टाका औँला चिमोटेको छ । मुटुको कम्पन धेरै पटक उछालेको छ । हिउँ सुमसुम्याउनुको आनन्द म कुन शब्दमा भन्न सकूँला खै !
मैले आजसम्म हिउँ खेलेका पहाड शैलुङ र कालिञ्चोक मात्रै हुन् । म यी न्यानो स्मृति कसरी भुलूँ ?
शैलुङको थोरै भागमा मात्रै पर्छ हिउँ । अधिकांश समय त्यहाँ पनि हिउँ रहँदैन । शैलुङको शीर्षस्थान हिउँले खाएर खल्वाट बनाएको छ । धानका रास जस्ता सयौँ सानाठुला थुम्का छन् । हिउँ नभएका बेला ती घाँसे भूमिमा चौँरीगाई चरिरहेका हुन्छन् । हिउँदमा चौँरीगोठ अलिक तल झार्छन् । गर्मी लाग्दै गएपछि माथिल्लो भेगसम्म पुग्छन् । म आज सम्झिरहेको छु एउटा मिठो विगत । शैलुङसँग सपना जोडिरहेको छु । खुसीका अनेक परिवेश खोजिरहेको छु । शैलुङबाट बग्दै बग्दै आएको स्मृतिको सङ्लो मुहान चियाउँदै छु । जीवनका अनन्त कुइनेटाबाट शैलुङ फुकाइरहेछु । सौन्दर्य देखाइरहेछु । प्रिय शैलुङ ! तिमी मेरो आँखामा छौ । मस्तिष्कमा छौ र मुटुमा धड्कन बनेर सधैँ ढुकढुकाई रहने छौ । शैलुङका ठुलनागी र साननागीमा गोठाला बिनायो बजाउँदै गीत गाइरहेका हुन्छन् । निलो आकाशमा लुङ्दरको अविरल नृत्य, त्यहाँका तामाङ बस्तीमा फर्फराउने दज्र्युको फर्फराइ र वसन्त ऋतुमा भुइँमा फुलेका भुइँफूलहरूको चित्ताकर्षक दृश्य यो मनमा अभूतपूर्व रूपमा गढेको छ । गुराँस र चिमालको मनोहर दृश्य आँखाबाट हटाउन मन मान्दैन ।
शैलुङ क्षेत्र प्राकृतिक रूपमा मात्र सुन्दर छैन, धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट समेत यो स्थल परिचित छ । शैलुङ्गेश्वर महादेव, गुप्तेश्वर महादेव, पृथ्वीको (नाभिस्थल) नाइटो पनि यो क्षेत्रलाई मान्ने गरिन्छ । अनेकौँ गुफालगायत धार्मिक महìवका स्थल छन् । दर्शनका अनेकौँ स्रोत छन् । जीवन र जगत् चियाउने अथाह विम्ब छन् ।
शैलुङ मनमा–
कहिले न्यानो घाम भएर उभिन्छ
कहिले प्रकृतिको
अनुपम सौन्दर्य भएर उभिन्छ
कहिले ‘ओम मणि पद्मे हुम्’ भन्ने
दर्शनमा उभिन्छ
कहिले ‘सत्यम् शिवम् र सुन्दरम्’ का
मन्त्रहरूमा उभिन्छ ।
कहिले ‘अपो दीपो भवः’ का
दिव्य प्रज्ञानमा उभिन्छ ।
अनेक आयाममा बाँडिएको छ शैलुङ । रङमा विविधता छ । सौन्दर्यमा विविधता छ । धर्ममा विविधता छ । दर्शनमा विविधता छ । यसर्थ यो हरेक हिसाबले साझा पावन भूमि हो । प्रकृति र अध्यात्मको केन्द्र हो शैलुङ । जहाँ पुग्दा भौतिक रूपमा नै स्वर्ग पुगेको अनुभूति गर्न सकिन्छ ।
शैलुङ पुगेपछि जोकोहीलाई यस्तो लाग्छ
एकटकले शैलुङको सुन्दरता हेरिरहूँ ।
क्यामराले यी दृश्यहरू खिचिरहूँ !
निर्बाध यो दिव्यभूमि कुल्चिरहूँ ।
धर्तीको यो अप्रतिम स्वर्गमा भुलिरहूँ ।