• २२ वैशाख २०८१, शनिबार

१९औं एसियाली खेलकुद

यो पदक देशका लागि हो : एरिका

blog

पदकसहित एरिका गुरुङ । तस्बिर : लोकेन्द्रकुमार बस्नेत (राखेप)

हाङझाउ, असोज २० गते । हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) समापनको सम्मुखमा पुख्दा नेपालले शनिबार बिहानमात्र महिला कबड्डीमा औपचारिक कांस्य पदक हातमा थापेको थियो । 

दिन ढल्कँदै जाँदा शनिबार साँझ नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक महिला खेलाडी एरिका गुरुङले दिलाउनुभयो ।

हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार एरिकाले महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो ।


कराँतेमा रजत  जितेपछि एरिकाले आफ्नो पदक सिंगो नेपाल देशको लगि जितेको बताउनुभयो । ‘‘मैले आफूले सकेको बेस्ट दिएको हो । फाइनलमा सोफ्याले राम्रो खेल्यो । सायद म चुकेँ । भविष्यमा अझ धेरै कडा मिहिनेत गर्नेछु । कराँतेका लागि अझै स्मार्ट बनेर लाग्नेछु, उहाँले भन्नुभयो, ‘‘मैले फाइनल खेलाई हारभन्दा पनि एउटा लेसनको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’’

उहाँले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताउनुभयो । ‘‘देशका लागि पदक जित्न सक्दा मैले आफुलाई भाग्यमानी ठानेकी छु । आफूले आफूलाई प्राउड लागेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’’ १९ वर्षीया एरिकाले भन्नुभयो ।

नेपालका प्रशिक्षक कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा एकदमै खुशी लागेको बताउनुभयो । ‘‘यो कराँतेको ऐतिहासिक पदक हो । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ । फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्णपदक जित्न सकिन्छ,’’ कुशलले भन्नुभयो । 


एरिकालाई हराउनुभएकी काजकिस्तानकी सोफ्या बेरुल्तसेभा एरिका राम्रो खेलाडी भएको प्रतिक्रिया दिनुभयो । ‘‘जापनालाई हराएपछि मलाई गाह्रो होला भन्ने सोचेको थिएँ । फाइट प्रतिस्पर्धात्मक थियो । जित्न सकेँ खुशी छु,’’ उहाँले भन्नुभयो । सोफ्या हालै सम्पन्न एसियन कराँते च्याम्पियनसिप २०२३ की स्वर्ण विजेतासमेत हुनुहुन्छ । 

यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिकाले जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराउनुभएको थियो ।

दुवैको समान १–१ अङ्क भए पनि पहिलो अङ्क पाएको आधारमा एरिका सेमिफाइनलमा पुग्नुभएको थियो । एरिका नेपालका लागि एसियाड कराँतेमा ऐतिहासिक रजत जिताउने पहिलो खेलाडीसमेत बन्नुभएको छ ।  एरिका काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका नेपालटारमा  रहेको एन. आर. कलेजमा मानविकी संकाय स्नातक तह प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । 

नेपालले एसियाड कराँतेमा पहिलो पटक रजत पदक जितेको हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो । यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा ब्यक्तिग रजत र अघिल्लो संस्करणमा नेपालको प्याराग्लाइडिङ टोलीले टिम स्पर्धामा रजत जितेको थियो । नेपालका लागि यो समग्रमा तेस्रो र ब्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो । 

कराँते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडका करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले काँस्य पदक दिलाउनुभएको थियो ।


यस्तै शनिबार नै नेपालका सन्तोष श्रेष्ठ ६७ केजी तौल समूहको प्रिक्वार्टरमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित हुनुभयो । 

एसियाड कराँतेमा नेपालले पदकको आशा गरेको कराँते खेलाडी विप्लवलाल श्रेष्ठ शुक्रबार कांस्य नजिक पुगेर चुक्नुभएको थियो । शुक्रबार भएको पुरुष कुमुतेको ८४ केजी तौलमाथि विप्लव रिपोचको काँस्य पदक भिडन्तमा साउदी अरेबियाका तारेग हामिदसँग ९–१ ले पराजित हुनुभएको थियो ।