• ३० वैशाख २०८१, आइतबार

नयाँ पुस्ताले बुझ्नैपर्ने सम्बन्ध

blog

धेरै समयपछि पहिलोदेखि अन्तिम पृष्ठसम्म पूरै पढेको सायद ‘जीवन्त सम्बन्ध’ मेरो पहिलो पुस्तक हो । पुस्तक पढ्ने रुचि हुँदाहुँदै पनि व्यस्त दैनिकीका कारण सम्भव भएको थिएन । २४० पृष्ठको यस पुस्तक पढ्न भने एक साता लाग्यो । यस पुस्तकले आकर्षित गर्नुको मुख्य कारण यसमा व्यक्त गरिएका विचार वा घटना मेरै आफ्नै जस्ता र मेरै वरिपरि घटेका घटनाको वृत्तान्त जस्ता छन् । त्यसैले म वित्तीय क्षेत्रको व्यक्तिले साहित्यिक कृतिका बारेमा लेख्दै छु । 

‘जीवन्त सम्बन्ध’ले साहित्यको कुन रस समातेको छ । त्यो मैले बुझेको छैन तर यो पुस्तक पढेपछि हाम्रो समाज र आफ्नै घटनाको प्रतिविम्ब हो भन्ने महसुस गर्दै यसबारे केही कुरा लेख्ने जमर्काे गरेको छु । मैले पनि केही लेख्नु पर्छ भन्ने दायित्वबोध पुस्तक अध्ययनका कारण जागृत भएको हो । मानिसले आफ्नो दायित्वलाई कसरी आत्मसात् गरेको हुन्छ भन्ने कुरालाई शब्दमार्फत दृश्यमा पुस्तकले छर्लङ्ग पारेको छ ।

‘जीवन्त सम्बन्ध’ पुस्तक एक चिकित्सकले लेख्नुभएको हो । आममानिसको बुझाइमा भावनात्मक, व्यावहारिक र सामाजिक क्षेत्रमा चिकित्सकको अलि कम रुचि र ज्ञान हुन्छ भन्ने छ । मलाई पनि चिकित्सकहरू अलि कठोर नै हुन्छन् कि भन्ने आभास हुन्थ्यो तर पुस्तक पढेपछि चिकित्सकहरूमा पनि भावना, दायित्व, कर्तव्य, समाज, व्यक्ति, प्रेम, घृणा, सम्बन्ध, दुःख र सुख आदिका बारेमा बुझ्ने, महसुस गर्ने र लेख्न सक्ने क्षमता पनि हुने रहेछ भन्ने ज्ञान भयो । ‘जीवन्त सम्बन्ध’ पुस्तक अध्ययनपछि चिकित्सकले पनि समाजका भावना र मानिसका आन्तरिक पक्षलाई बुझ्न सक्ने रहेछन् भन्ने बोध भयो । 

मानिसको जीवन र मृत्युलाई चिकित्सकले नजिकबाट हेर्ने भएकाले सामाजको यथार्थतालाई बुझ्न चिकित्सकहरूलाई सजिलो हुँदो हो । व्यक्तिका दुःख र पीडालाई प्रत्यक्ष अनुभव गर्नुका साथै परिवार र समाजको भूमिका पनि चिकित्सकलाई नै बढी जानकारी हुने रहेछ भन्ने आभास पुस्तकको अध्ययनबाट हुन्छ । 

व्यक्ति, परिवार र समाजका दृश्यलाई ऐनामा देखाए जस्तै हुबहु प्रस्तुत गर्ने गरी यस्तो पुस्तक त्यस्तो व्यक्तिले मात्रै लेख्न सक्छ, जो असल सन्तान, असल चिकित्सक, व्यावहारिक व्यक्ति र समाजलाई बुझेको व्यक्ति हुन्छ । मेरो विचारमा त्यस्तो गुण भएको व्यक्ति डा. ओममूर्ति अनिल भएकै कारण ‘जीवन्त सम्बन्ध’ पुस्तकको जन्म भएको हो । 

पेसाले मुटुरोग विशेषज्ञ रहेका ‘जीवन्त सम्बन्ध’का लेखक डा. ओममूर्ति अनिलले पुस्तकमा आफ्नो पितासँगको सम्बन्धलाई अधिकांश ठाउँमा वर्णन गर्नुभएको छ । आफ्नो जीवनको सफलता र असफलताका कथा प्रस्तुत गर्नु भएको छ । आफ्नो मनका पीडाको वृत्तान्त पोख्नुभएको छ । सामान्य तरिकाबाट हेर्दा ती विषय कसैको व्यक्तिगत घटना जस्तै लाग्छन् तर जब एक पाठकले गहिरिएर पुस्तकको अध्ययन गर्छन्, अनि त्यहाँ लेखक नभएर आफू रहेको महसुस गर्छन् । 

लेखकको पृष्ठभूमि र लेखकसँगको सम्बन्धलाई बिर्सिने हो भने पुस्तकमा उल्लेख गरिएका कुरा कसैले मेरो कथा लेखिदिएको जस्तो अनुभव हुन्छ । कसैले मेरा अतीतका दुःख, सुख र वर्तमानका भावनालाई मनबाट सुटुक्क चोरेर पुस्तकमा राखिदिएको जस्तो हुन्छ । आफ्ना कैयौँ प्रियजनसँगको विछोडमा तड्पिएका मनलाई भावनाकोे नदीमा बगाएर लेखेको जस्तो भान हुन्छ ।

यो कुनै व्यावसायिक लेखकको कल्पनाभन्दा बाहिरको यथार्थपरक पुस्तक हो किनभने व्यावसायिक लेखकले कल्पना गरेर लेख्छ । यथार्थ लेख्नका लागि लेखक आफैँ पुस्तकको पात्र हुनु पर्छ । हजारौँ मानिसको कथा बोल्नका लागि शतप्रतिशत पीडा भोगेको व्यक्ति हुनु पर्छ । त्यसैले यस्तो पुस्तकमा डा. ओममूर्ति अनिलले आफ्नो मनको पीडा पोख्ने प्रयास गर्नुभएको छ, जसमा लाखौँ सन्तान, आमा, बुबा र परिवारका घटना प्रतिविम्बित हुन्छन् । पुस्तकमा डा. ओममूर्ति अनिलले पिताको मृत्युपश्चात् उहाँका मनमा उब्जेका विभिन्न प्रश्न र उत्तरलाई बडो मार्मिक ढङ्गले व्यक्त गर्नुभएको छ । पुस्तकले सन्तान, माता, पिताप्रतिको दायित्वको बारेमा राम्ररी सामाजलाई प्रशिक्षित गरेको छ । यसको अध्ययनपश्चात् सन्तानलाई आफ्नो दायित्वको बारेमा आफैँसँग प्रश्न गर्न बाध्य बनाउने छ । आफ्नो कर्तव्य र दायित्वको बारेमा आफैँले सोधेको प्रश्नको उत्तर स्वयम्ले दिन खोज्ने छ । आफ्नो कर्म र दायित्वलाई आफैँले मूल्याङ्कन गरेर आफैँले निष्कर्ष निकाल्ने छ । तसर्थ पुस्तकले सन्तानलाई आफ्नो कर्म सुधार्न अवसर दिएको मलाई अनुभूति हुन्छ । 

माता पिताप्रतिको दृष्टिकोण, कर्तव्यलाई अहिलेको आधुनिकताले विमुख बनाउँदै लगेको पृष्ठभूमिमा पुस्तकले सन्तान र मातापिताबिच बढ्दै गएको खाडललाई पुर्न भूमिका खेल्न सक्छ भन्ने मेरो बुझाइ छ । त्यसैले धेरै जनाले यो पुस्तक पाठ्यक्रममा समावेश गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नुभएको छ । यसमा मेरो पनि सहमति छ किनकि अहिले हाम्रो समाजमा नैतिकता र समाजप्रतिको दायित्व धमिलो बन्दै गएका बेला हाम्रा सन्तानले आफ्नो दायित्वका बारेमा पनि बुझ्न जरुरी छ ।

यो पुस्तक पढ्दा एक आविभावकले बालबालिकालाई सानै उमेरदेखि कस्तो शिक्षा दिने, कस्तो व्यवहार सिकाउने आदि कुराको बारेमा धेरै उदाहरण र घटनामार्फत देखाइएको छ । आफ्नो बच्चालाई कस्तो संस्कार सिकाउनु पर्छ भन्ने कुरालाई आत्मबोध गराउँछ । यो पुस्तकले समाजका विभिन्न पक्षलाई समावेश गरेको छ । जस्तै– बुहारीको सासू–ससुरासँगको सम्बन्धलाई पनि उद्धृत गरिएको छ । समाजमा बुहारीलाई छोरीभन्दा फरक मानेर या धेरै आशा राख्दा सम्बन्ध बिग्रेको हामी पाउँछौँ । यो पुस्तक पढ्दा बुहारी र सासू–ससुराले आफ्नो सोचाइमा परिवर्तन ल्याउने सक्नेछन् । यसले अरूबाट धेरै आशा नगर्ने बरु आफूले पनि केही दिने सोचको विकास गराउन मद्दत गर्ने छ । सँगसँगै समाजका कमजोरी र परिवारमा घट्ने घटनालाई पनि पुस्तकले उजागर गरिदिएको छ । मानिसको जीवनमा सुख र दुःख कसरी आउँछ ? किन आउँछ ? कसरी सामना गर्न सकिन्छ ? अनि राम्ररी सामना गरे कस्तो परिणाम आउँछ भन्ने कुरा बडो रोचक ढङ्गबाट वर्णन गरिएको छ । 

लेखकलाई पितृशोक भएपश्चात् मनको पीडालाई अरूसँग साट्न नसकेको मार्मिक कथा यसमा छ । यसले व्यक्तिको अस्तित्व के रहेछ भन्ने बुझेपछि आफ्नो जीवनलाई कसरी हेर्ने भन्ने ज्ञान पनि दिन्छ । लेखकले कसरी शोकलाई शक्तिमा परिणत गर्नुभएको छ र प्रेमलाई कसरी जीवन्त बनाउनु भएको छ भन्ने कुरा पुस्तकमा पाउन सकिन्छ । अन्त्यमा श्रवण कुमारले मातापिताको इच्छा र हेरचाहका निम्ति गरेको त्याग र समर्पणको कथा मात्रै होइन, अबको पुस्ताले ‘जीवन्त सम्बन्ध’ जस्ता पुस्तकका कथा पनि अध्ययन गरेर परिवार र समाजको सम्बन्धलाई जीवन्त बनाउन आवश्यक रहेको छ ।