घोराही, कात्तिक २१ गते । दाङमा आगामी निर्वाचनका लागि १२ नयाँ मतदानस्थल थप्ने तयारी गरिएको छ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै निर्वाचनमा सबै मतदाताको भोट सुनिश्चिता गर्ने गरी जिल्लाका सात स्थानीय तहमा १२ मतदानस्थल थपका लागि प्रक्रिया अघि बढाइएको हो ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बिहीबार घोराहीमा बसेको बैठकले वडास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस भएर आएका १२ मतदानस्थलका बारेमा छलफल गरेको छ । छलफलमा राजपुर गाउँपालिकाको नाकाक्षेत्रसँगै बबई गाउँपालिकाको विकट क्षेत्र भागावारीलगायतका भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई निर्वाचनमा मतदानका लागि सहजता हुने गरि आएका मतदानस्थल थपका लागि प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।
वडास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्रदेश निर्वाचन कार्यालय घोराहीमा राजपुर र बबई गाउँपालिकाबाट तीन÷तीन वटा, लमही नगरपालिकाबाट दुई वटा, राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट एक÷एक वटा मतदानस्थल थपका लागि सिफारिस भएका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार राजपुर गाउँपालिका वडा नं. १ को बालबिशौनी प्राथमिक विद्यालय पटौली नाका, वडा नं. ६ को बालकल्याण माध्यमिक विद्यालय खिग्रा नाका र वडा नं. ७ को गौरीशंकर माध्यमिक विद्यालय भैसाही नाकामा नयाँ मतदानस्थल थपका लागि सिफारिस आएको छ । नाका क्षेत्रमा मतदानस्थल नहुँदा निर्वाचनमा भोट हाल्नका लागि अघिल्लो दिन नै घरबाट हिडेर राजपुर आउनुपर्ने स्थानीयलाई बाध्यता रहेको छ ।
त्यस्तै, बबई गाउँपालिका वडा नं. १ को जनकल्याण आधारभूत विद्यालय भाँगावारी, वडा नं. २ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय बैसरी र वडा नं. ४ को सिद्धिगणेश प्राथमिक विद्यालय सुन्दरखाल, लमही नगरपालिका वडा नं.४ को वडा कार्यालय र वडा नं. ८ को श्री आधारभूत विद्यालय भत्तरकुण्डा, घोराही उपमहानगरपालिका–३ स्थित सरस्वती प्राथमिक विद्यालय मुसोटखोला, दंगीशरण गाउँपालिका वडा नं. ७ स्थीत रात्रि आधारभुत विद्यालय मिठाना, राप्ती गाउँपालिका वडा नं. ५ को जनता माध्यमिक विद्यालय करङ्गे र बंगलाचुली गाउँपालिका वडा नं. ३ को भेडावारी मुलावासी माध्यमिक विद्यालय नयाँ मतदानस्थलका लागि सिफारिस भएका छन् ।
भौगोलिक विकटता र पूर्वाधार अभावका कारण मतदातालाई असजता भएको भन्दै जिल्लामा अधिकांस स्थानमा नयाँ मतदानस्थल थपका लागि विभिन्न वडाबाट सिफारिस आएको सूचना अधिकारी कवँरले जानकारी दिनुभएको छ । उहाँका बैठकले निर्वाचन आयोगमा नयाँ मतदानस्थल थपका लागि सिफारिस गर्न सम्बन्धीत स्थानीय तह र वडालाई कात्तिक २४ गतेसम्मका लागि मतदाताको सङ्ख्या छुट्याउने समय दिएको त्यही क्रममा सुरक्षा संवेदनशिलताका दृष्टिले थप गर्न योग्य भए नभएको अनुगमन गरेर २८ गते बस्ने जिल्लास्तरीय बैठकबाट निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख लालबिर खड्काले जिल्लामा हाल भएका निर्वाचनस्थल र मतदान केन्द्र तथा नयाँ थपका लागि सिफारिस भएका मतदानस्थलका बारेमा प्रस्तुति राख्नुभएको थियो । हाल जिल्लामा एक सय ५३ वटा मतदानस्थल र चार सय ६४ वटा मतदान केन्द्र रहेका छन् । बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख,सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।