• १३ मंसिर २०८१, बिहिबार

सञ्चारमैत्री बनाइँदै नार्पाभूमि

blog

हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असोज १८ गते ।
 हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।

नार्फु र मेतामा रहेको लघु जलविद्युत र सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमि गाउँपालिकामा हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान भने भएको छैन । पालिकाले पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ ।

तिब्बतको सिमानासँग जोडिएको पालिकालाई सञ्चारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्ने योजनामा राखिएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रवाहका लागि सहज बनाउन वाईफाईको नेटवर्कमार्फत सूचना प्रवाह गर्ने लामाले बताउनुभयो ।

‘‘विकट स्थान भएकाले वाईफाईको नेटवर्क लाग्छ । तर मोबाइलको नेटवर्कको समस्या रहेको छ । त्यसैले वाईफाईको सहजता कायम गर्न गाउँपालिकाले यस योजनालाई प्राथमिकता दिएको हो’’, अध्यक्ष लामाले भन्नुभयो, ‘‘नार्पाभूमिवासीका आफन्त धेरै विदेशमा बसोबास गर्ने भएकाले वाईफाईको पहुँचलाई प्राथमिकतामा राखेका छौँ । यसले सूचना पनि सहज र छिटो पाउनेछन् ।’’

गाउँपालिकाको भवनका साथै पालिकाका पाँचवटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रवाह गर्ने व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । गाउँसभा, गाउँ कार्यपालिकाको सबै निर्णय डिजिटल डिस्प्लेमा प्रसारण गरिने उहाँले बताउनुभयो । ‘‘डिजिटल डिस्प्लेमार्फत सूचना प्रवाह गरिँदा पालिकाको सबै कार्य तथा पारदर्शिता कायम गर्न टेवा पुग्नेछ ।’’ लामाले भन्नुभयो ।

गाउँपालिकाको भवनमा डिजिटल डिस्प्ले जडानका लागि छ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट पालिकालाई सूचना, सञ्चार, प्रविधिमैत्री बनाउन आवश्यक विभिन्न अतिरिक्त सामग्री खरिद गर्न ८५ हजार र सूचना प्रविधि शाखा विविध व्यवस्थापनका लागि एक लाख २५ हजार विनियोजन गरिएको छ ।