बुलबुले समाचारदाता
सुर्खेत, पुस ४ गते । कर्णालीमा बालबालिकामा कुपोषणको दर बढ्दो क्रममा छ । विभिन्न तथ्याङ्कले कुपोषणबारे कर्णालीको चिन्तालाग्दो अवस्था देखाएको छ । स्वास्थ्य क्षेत्रमा कुपोषणसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालनमा छन् । तैपनि पोषणको अवस्थामा सुधार आएको छैन ।
सरकारी तथ्याङ्क अनुसार कर्णालीमा कुपोषणको दर चिन्तालाग्दो छ । राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार कर्णाली प्रदेशमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । १८ प्रतिशतको कम तौल तथा चार प्रतिशतमा ख्याउटेपना र ४८ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेका तथ्यांक र सर्वेक्षणहरूले अधिकांश बालबालिका कुपोषणको सिकार भएको पुष्टि गरेको छ । कर्णालीका दुर्गम गाउँहरूमा घरैपिच्छे कुपोषित बालबालिका छन् । प्रदेशमा ३० प्रतिशत बालबालिकाले न्यूनतम आहार उपभोग गर्न पाउँदैनन् ।
युएसएआइडीको कार्यक्रम बन्द भएपछि पोषणका कार्यक्रम प्रभावित भएको छ । यसको प्रत्यक्ष असर कर्णाली प्रदेशमा पनि परेको छ । प्रदेश सरकारले भने चालु आर्थिक वर्षदेखि पोषण सुधार गर्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । पोषणको अवस्था सुधार गर्न कार्यक्रम कार्यान्वयन गर्न लागिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि चार करोड १० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो ।
गत वर्ष यो शीर्षकमा युएसएआइडीको सहित १५ करोड बजेट राखिएको थियो । यो वर्ष सीमित बजेटमा प्राथमिकतासाथ योजना कार्यान्वयन गर्न लागिएको जनाइएको छ ।