• ४ पुस २०८२, शुक्रबार

पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या

blog

सिमकोट बजारको सडकमा जथाभावी वितरण गरिएका पाइपलाइन । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, पुस ४ गते । जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ । सडक र ढलको समेत प्रबाह नगरी जथाभावी पाइपलाई वितरण गरिएको कारण यो समस्या बाह्रै महिना बढ्दै गएको हो । 

मुख्य सडकमा खानेपानीको पाईप लाईन व्यवस्थित नबनाई वितरण गरिएको कारण समस्य चुलिएको सिमकोट गाउँपालिका–६ का स्थानीय राजन रावतले बताउनुभयो । यसले गर्दा एउटै पाईप लाइनबाट पानी वितरण गरिएको भएपनि अर्को लाईनमा पानी नजाने समस्या बढ्दै गएको उहाँले बताउनुभयो । पुरानो पाइप लाईनमा जहाँबाट आउने गर्छ, त्यहीबाट खानेपानी जडान गरेर पाइप लाइन वितरण गर्ने कार्यले समस्या हुने गरेको उहाँले बताउनुभयो । 

पाइप लाइन पनि नखनेर सडक र ढलमा पाईप विच्छ्याएर लाईन वितरण गरिएको छ । यसले गर्दा पाइप फुट्दा ढलको पानी मिसिएर पाइप लाइनमा जाने र सो पानी उपभोक्ता प्रयोग गर्न बाध्य हुने गरेको सिमकोट बजारकी छिटुपा लामाले बताउनुभयो । उही पाइप लाइनको धारामा पानी आउने तर अर्को लाइनमा पानी नआउने समस्या सामान्य जस्तै भएको उहाँले बताउनुभयो । 

आफ्नो धारामा एक वर्षदेखि पानी आउनै छोडेको बताउँदै उपभोक्ता समितिले व्यवस्थित रुपमा पाइप लाइन वितरण नगरेको कारण यो समस्या आएको उहाँले बताउनुभयो । एकातिर धारामा पानी नआउने समस्या अधिकाँस उपभोक्ताको रहेको छ भने अर्कोतिर सडक र ढलमा पाइप लाइन भएको कारण सिमकोट बजारका अधिकांश स्थानीय उपभोक्ताहरुले फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

वडा, गाउँपालिका, स्थानीय प्रशासनमा धाउँदा धाउँदा पनि खानेपानी व्यवस्थित गर्ने मागमा कतैबाट सुनुवाई हुन नसकेको उहाँले बताउनुभयो । धन्न व्यक्तिगत लाइन लिएका छिमेकीले पानी भर्न दिएको कारण केही उपभोक्ताहरुलाई सहज हुने गरेको छ । 

सिमकोट बजारलाई खानेपानी आर्पुर्ती गर्दै आएको खानेपानी उपभोक्ता समिति पनि हरेक तीन वर्षका साधारण सभा बसेर समिति परिवर्तन हुनु पर्नेमा पन्द्र वर्षदेखि पुरानै समितिले निरन्तरता पाएको कारण पनि समस्या भएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताउनुभयो । अब यो समितिलाई पून:गठन गरेर नयाँ निर्माण गर्नु आवश्यक रहेको बताउँदै उहाँले नयाँ समितिबाट समस्या सुल्झाउने कार्य गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।