• १४ मंसिर २०८१, शुक्रबार

तातोपानी नाकामा चहलपहल बढ्यो

blog

फाइल तस्विर

चौतारा (सिन्धुपाल्चोक), असोज १८ गते । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । 

तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रिने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरुप राजस्व सङ्कलन हुने केसीको भनाइ छ । 

ट्रान्स सिल्क गु्रपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउनुहुन्छ । नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् । 

विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठ बताउनुहुन्छ । रासस