• ४ जेठ २०८१, शुक्रबार

मुस्ताङमा पनि फल्यो तरबुजा

blog

शीतोष्ण वागवानी विकास केन्द्र मार्फामा परीक्षण गरिएको तरबुजा । तस्विर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १८ गते । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा हुने तरबुजा फलाएको छ । समुद्री सतहदेखि दुई हजार छसय ५० मिटरको उचाइमा रहेको मार्फामा पहिलो पटक तरबुजा फलाउन सकिएको हो ।

केन्द्रका निमित्त केन्द्र प्रमुख पद्मनाथ आत्रेयका अनुसार तराइको आँपसँगै नभएर हिमालको स्याउसँगै तरबुजा फलाइएको हो । अध्ययन अनुसन्धानका लागि परीक्षण गरिएकोमा सो परीक्षण सफल भएको उहाँको भनाइ छ ।

खुल्ला र प्लाष्टिक घरभित्र तथा सिसाको घरभित्र गरी तीन स्थानमा परीक्षण गरिएकोमा खुलामा नफले पनि सिसा र प्लाष्टिक घरभित्रको तरबुजा फलेको हो । हिमालपारिको जिल्ला मुस्ताङमा दिनमाभन्दा रातमा तापक्रम निकै चिसो हुने भएकाले पनि वनस्पतिमा वृद्धि विकासमा निकै प्रतिकुल असर पर्ने देखिएकाले पनि केही असहज भएको उहाँको भनाइ छ ।

बन्द घरभित्र उत्पादन गरिएको हुनाले खरबुजाको फूल फुल्दाको समयमा हातले नै परागसेचन गराइएको केन्द्रले जनाएको छ । फलेको तरबुजा काटेर हेर्दा त्यसको रङ खासै धेरै रातो नदेखिए पनि स्वाद र निकै गुलियो पाइएको जनाइएको छ । 

तरबुजाको परीक्षण उत्पादन सफल भएकाले चिसो स्थानमा पनि तरबुजा फलाउन सकिने देखिएकाले तरबुजाको चिसो सहन सक्ने प्रजातिको खोजीमा रहेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो ।