अर्जुन काफ्ले
स्याङ्जा, पुस ५ गते । फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मानित गरेको छ ।
कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पाँचौ कृषि मेला प्रदर्शनीमा सम्मान गरेको हो । मेलामा गाउँपालिका क्षेत्र भित्रका २६ वटा कृषि तथा पशुपक्षी फर्मको स्थलगत अवलोकन गरी पाँच विधामा २५ जना कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
त्यसैगरी २९३ वटा कृषि तथा पशुपक्षी नमूना समावेश खुला प्रतिस्पर्धाबाट उत्कृष्ट नमूनालाई पुरस्कार प्रदान गर्दै जम्मा ८५ जना कृषक सम्मानित गरिएको हो ।
“कृषि व्यवसायीकरणमा हाम्रो अभियान, कृषकहरूलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन” भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका–२, फेदीखोला रङ्गशालामा मेला आयोजना गरिएको हो ।
गाउँकार्यपालिकाको कार्यालयद्वारा आयोजित मेलामा एकीकृत कृषि, मौरी, पशुपालन, पोल्ट्री, माछा पालनदेखि विभिन्न बाली तथा स्टल समूह गरी १७ विधालाई समेटिएको थियो । स्टलतर्फ जरे, फूल, तरकारी, मसला, नगदे, फलफूल, रैथाने बाली तथा पशुपक्षी समूहका कृषकहरूले आफ्ना उत्पादन प्रदर्शन गर्नु भएको थियो ।
कार्यक्रममा निःशुल्क बाली उपचार शिविर, निःशुल्क माटो परीक्षण सेवा तथा कृषि व्यवसायसँग सम्बन्धित विविध विषयमा छलफल समेत गरिएको थियो ।
फेदीखोला गाउँपालिकाले पकेट क्षेत्र विकास, उत्पादनमा आधारित अनुदान, बाँझो जग्गा खेती प्रोत्साहन, कृषि उपज सङ्कलन केन्द्र, कृषि सहकारी, कृषि एम्बुलेन्स, मौरी पालन हब, युवा उद्यम कार्यक्रमलगायत नमूना अभ्यासहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
पालिका भित्रका नागरिकलाई व्यावसायिक तथा आत्म निर्भर बनाउने प्रयास पालिकाले गरेको बताउँदै सुवेदीले बाँझो जग्गा राख्नेलाई जरिवाना गरिने काम गर्नेलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
यस्तै प्रदर्शनीमा वडा नं –२ का राजेन्द्र गुरुङ्गले पालेको बोका सबैको आर्कषण बनेको थियो । उहाँले पालेको दुई वर्षको एक सय वर्षको बोकाँ सबैको आर्कषण बनेको हो । ७५ प्रतिशत बोयर जातको बोका हेर्ने आर्कषण नै बनेका थियो ।