• १२ साउन २०८१, शनिबार

‘समयावधिभित्रै एमसिसी कार्यान्वयन’

blog

काठमाडौँ, असोज १८ गते । नेपाल सरकारले अमेरिकी अनुदानमा आधारित मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट सफलतासाथ सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता अनुसार अमेरिका र नेपालको संयुक्त परियोजना भएकाले पनि सरकारले प्राथमिकतासाथ सफल कार्यान्वयनलाई जोड दिँदै समयावधिभित्रै सम्पन्न गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएको हो । 

बुधबार नेपालमा सम्झौता कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा आयोजित हर्षाेल्लास समारोहमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकाका तर्फबाट एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन अलब्राइट, नेपालका लागि अमेरिकी राजदूत संयुक्त सहभागितामा यस्तो प्रतिबद्धता जनाइएको हो । समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले परिणाममुखी रूपमा सम्झौता सम्पन्न हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताको समयावधिभित्रै परिणाममुखी रूपमा परियोजना सम्पन्न हुने छ ।”

प्रधानमन्त्री प्रचण्डले एमसिसीको प्रमुख कार्यकारी अधिकृत अलब्राइट नै नेपाल आउनु दुई देशबिचको प्रगाढ सम्बन्धको पतिविम्बन भएको बताउनुभयो । परियोजनाले नेपालको सडक सञ्जाल विस्तार, कृषि विकास, ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो । 

नेपाल सन् २०२६ बाट अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा परियोजनाले ठोस तरिकाले सघाओस् भन्ने नेपाल सरकारको चाहना रहेको प्रधानमन्त्रीले प्रस्ट पार्नुभयो । सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्र्ने दिशामा सरकार सक्रिय रहेको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले त्यसमा पनि यस परियोजनाको भूमिका रहने आशा व्यक्त गर्नुभयो । त्यो लक्ष्य पूरा गर्ने सवालमा विभिन्नखालका खाडल रहेको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले एमसिसीले त्यो खाडल पुर्न सघाउने आशा व्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “एमसिसी परियोजना मात्र विकासको पथप्रदर्शक नभएर कृषि, पूर्वाधार, पर्यटन विकास, मानव संसाधन विकासको सम्भावना बढाउने प्रबल सम्भावनायुक्त परियोजना हो ।”

अर्थमन्त्री महतले यो मात्र अमेरिकी सरकारको अनुदानमा आधारित नभएर, नेपाल सरकारको पनि लगानी भएकाले संयुक्त आयोजनाको परियोजना भएको प्रस्ट पार्नुभयो । एमसिसीको कार्यान्वयन यात्रामा आएका अनेक अवरोधबारे चर्चा गर्दै अप्ठ्यारो स्थितिका बाबजुद पनि सफल कार्यान्वयनमा गएको उहाँले औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, “अनुमोदनकै क्रममा अनेक जिज्ञासा, शङ्का उपशङ्का उठेका थिए तर त्यो सबै निवारण गरेर ठोस रूपमा अघि बढेको छ ।” प्रसारण लाइन विस्तारका लागि आवश्यक स्थल र सामाजिक अवस्था बुझेर अगाडि बढ्नु चानचुने कुरा नभएको भन्दै अर्थमन्त्री महतले अब पाँच वर्षभित्र पूरा गर्ने बाटोमा अग्रसर बनेको बताउनुभयो । 

एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन अलब्राइटले नेपाल अमेरिका मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने यो दिनमा सहभागी हुन पाउँदाको खुसी समारोहमा साट्नुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित हुनुले यसको गरिमा थप बढाएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीसँगै अर्थमन्त्री र नेपाल सरकारको सरोकारवाला निकाय सबैले सहयोग र समर्थनको हात अघि बढाएकाले सफल कार्यान्वयन हुने विश्वास लिएको ब्राइटले स्पष्ट पार्नुभयो । परियोजनामा नेपाल सरकारले गरेको लगानीको सराहना गर्दै उहाँले भन्नुभयो, “यसले नेपाल र अमेरिकाको मित्रतापूर्ण सम्बन्धलाई दर्शाउँछ र हजारौँ नेपालीका लागि रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ ।” 

नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले एमसिसी नेपालका लागि भरपर्दो ऊर्जा र रोजगारको स्रोत हुने दाबी गर्नुभयो । यो परियोजना अमेरिकाको मात्र नभएर दुई देशको सम्बन्धको राम्रो कदम भएको बताउनुभयो । 

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको मार्गदर्शनमा परियोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो । परियोजना सम्पन्न गर्ने दिशामा चुनौती नभएका हैनन् तर समाधानमैत्री पहलबाट प्रसारण लाइनको काम सुरु भएको जानकारी गराउनुभयो । एमसिसी नेपाल सम्झौता गत भदौ १३ गतेबाट कार्यान्वयनमा प्रवेश गरेको हो ।