• ७ जेठ २०८१, सोमबार

कांग्रेसको ‘रिब्रान्डिङ’

blog

११० औँ बिपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ साउनदेखि पार्टी मुख्यालय सानेपामा तीनदिने बिपी साहित्य महोत्सव ग¥यो । कांग्रेस केन्द्रीय समितिको १० साउनको बैठकको निर्णय अनुसार बिपी साहित्य महोत्सव गरिएको हो । बिपी कोइराला अनि राजनीति र साहित्यमा उनको योगदान नेपाली कांग्रेसका लागि सदाबहार विकाउ वस्तु भएको छ । बिपीबाहेक कांग्रेसले यस्तो विकाउ वस्तु अर्को केही पाएको छैन । हुन त नेपालका कम्युनिस्ट पार्टीहरूसँग त्यत्तिको विकाउ वस्तु पनि छैन । यद्यपि पुष्पलाललाई उनीहरूले बेलाबेलामा बिकाउने प्रयास गरेका छन् तर पनि पुष्पलालको नामले बजार पाएको छैन । 

पार्टीका नेता तथा कार्यकर्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भमा कांग्रेसले साहित्य महोत्सव गरेर बिपीको योगदानको चर्चा गर्नु आफैँमा स्वागतयोग्य कदम हो । हुन त नेपाली साहित्यमा बिपीको योगदानको चर्चा जतिबेला पनि सान्दर्भिक नै हुन्छ । त्यस कारण कांग्रेस मुख्यालयको छलफल बिपीलाई साहित्यमा मात्र सीमित नराखीकन बिपी र अहिलेको कांग्रेस भनी विमर्श चलाएको भए नयाँ पुस्तालाई कांग्रेससँग जोड्न थप सहज हुने कतिपय कांग्रेसजनको बुझाइ छ । एउटा तथ्य कुरा के हो भने नयाँ पुस्ताका कतिपय युवालाई बिपी कोइरालाका बारेमा पढाउनु पनि जरुरी भएको छ । यसो गर्नु किन पनि आवश्यक छ भने कांग्रेसको १३ औँ महाधिवेशनमा काठमाडौँको भृकुटीमण्डपमा झुन्ड्याइएको बिपी कोइरालाको तस्बिर देखाएर एक जना महाधिवेशन प्रतिनिधिले सोधेका थिए, ‘हैन यो झुसे बुढो पनि कांग्रेसमै हो ?’ वडा तहबाट चुनिएर प्रतिनिधिको हैसियतमा महाधिवेशनमा भाग लिँदै गरेको एक जना कार्यकर्ताको यो भनाइबाट पनि प्रस्ट हुन्थ्यो कि कांग्रेसमा कुन हैसियतका व्यक्ति अगाडि बढिरहेका छन् भन्ने । 

यो वास्तविकतालाई ध्यानमा राखेर लोकतन्त्रका सवालमा कहिल्यै पनि कसैसँग कुनै किसिमको सम्झौता नगर्ने लामो इतिहास भएको एउटा जिम्मेवार पार्टी कांग्रेसले आजको दिनमा अर्थतन्त्र सुधारको मुद्दालाई प्रमुख राष्ट्रिय विमर्श बनाउन सक्नुपथ्र्यो । मुलुकको अर्थतन्त्र किन खराब अवस्थामा पुगेको छ ? यसको पछाडिका कारण खोतलेर अर्थतन्त्र उकास्नका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा सानेपाको विमर्श केन्द्रित भएको भए त्यसले मुलुकका लागि एउटा प्रस्ट दिशा निर्देश गर्न सक्थ्यो । 

कांग्रेसले बहस गर्नुपर्ने अर्को विषय हो, सुशासन । छिटोछिटो सरकार परिवर्तन भए पनि सरकारको नेतृत्वले सुशासन दिन नसक्दा त्यसको असर सबै क्षेत्रमा पर्न गएको छ । यो कुरा बुझेर पनि कांग्रेसले सुशासनका पक्षमा बहस र छलफल गर्न सकेको छैन । विधि र पद्धतिको कुरा गर्ने कांग्रेस नेतृत्व मरिच चाउरिए जस्तो भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा जेलमा छन् । आफू गृहमन्त्री भएका बखत नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तिनबाट मोटो रकम असुल गरी अमेरिका पठाउने गिरोहमा संलग्न प्रकरणमा खाण जेलमा छन् । खाँण मात्र होइन, पार्टीका अरू नेताहरूको नाम अनेक प्रकरणमा मुछिने क्रम रोकिएको छैन । अरूलाई सुशासनको पाठ सिकाउँदै गर्दा यस्ता विषयमा सार्वजनिक रूपमा प्रतिरक्षा गर्न कांग्रेसलाई आजको दिनमा कम्ती कठिन भएको छैन । त्यस कारण पनि आजको दिनमा सुशासन कांग्रेसको मुद्दा बन्न नसकेको हो । 

अर्थतन्त्र र सुशासन मात्र होइन, समग्र मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था अनि भूराजनीतिका बारेमा गहन ढङ्गबाट कांग्रेसले छलफल अघि बढाउन सकेको छैन । यस्ता विषयमा कांग्रेसको आन्तरिक फोरममा पनि हत्तपत्त बहस र छलफल भएको पाइँदैन । यसका साथै, कांग्रेसको विमर्श शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी जस्ता विषयमा हुनुपथ्र्यो । यी विषयमा पनि पार्टीभित्र हुने छलफल र उसले अवलम्बन गर्ने नीतिले कांग्रेसको आगामी बाटो तय त गर्न सक्थ्यो नै । साथै, त्यसले सिङ्गो मुलुकलाई दिशा निर्देश गर्दथ्यो । जनस्तरमा कांग्रेस नेतृत्वबाट सिङ्गो मुलुकका पक्षमा यस्तो अपेक्षा हुँदै गर्दा कांग्रेसचाहिँ कता कता अल्मलिन पुगेको जस्तो देखिन्छ । 

यस्ता विषयमा कांग्रेसले अहिले नै छलफल चलाउनु किन पनि जरुरी थियो भने दुई महिनापछि कांग्रेस महासमिति बैठक बस्दै छ । १३ देखि १५ मङ्सिरका लागि डाकिएको महासमिति बैठकमा नीतिका बारेमा छलफल गरिने कार्यक्रम कांग्रेसले तय गरेको छ । मङ्सिर २०७८ मा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशन नीतिबारेको छलफल थाती राखेर नेतृत्व चयन गरी सम्पन्न भएको थियो । महाधिवेशनको छ महिनापछि नीति अधिवेशन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको भए पनि हुन सकेको थिएन तर दुई वर्षपछि हुन लागेको महासमिति बैठकमा नीतिका विषयमा कांग्रेसले छलफल कार्यक्रम तय गरेको छ । 

मुलुकको कमजोर आर्थिक अवस्था तथा रोजगारीको अभावका कारण पढालेखा युवा उच्च शिक्षा र रोजगारीको खोजीमा बिदेसिने क्रम बढेको छ । हिमाल खबर अनलाइनका पत्रकार रमेश कुमारले २१ भदौ २०८० मा विदेश गइरहेको देशका बारेमा लेख्नुभएको छ, ‘मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नहुँदा सिङ्गो तन्नेरी पुस्ता विदेश हिँड्न तयार हुँदा मुलुकको उन्नतिको सम्भावना थप खुम्चँदो छ ।’ पत्रकार रमेशकुमारले बिदेसिनेको भयावह अवस्थाबारे चित्रण गरेको आठ दिनपछि २९ भदौमा पत्रकार सुधिर शर्माले कान्तिपुर दैनिकमा कोही किन देशमा बसोस् भनेर अर्को विचार प्रस्तुत गरे । पत्रकार शर्माले २०७९/८० मा सात लाख ७५ हजार कामदारका रूपमा, एक लाख १० हजार पढ्न गएको तथ्याङ्क उल्लेख गरेका छन् । नेपालमा परिवारका साथ बस्दै ५० हजार रुपियाँ कमाएको एक जना व्यक्ति लाखौँ कमाइको प्रलोभनमा खाडी मुलुक पुगेर ३० हजार रुपियाँमा काम गर्न बाध्य छ । स्वदेशमा बसेर सानोतिनो काम गरेकाहरू पनि रातारात धनी हुने नाममा खाडी मुलुकमा जाने र केही वर्षपछि कमाई नहुँदा पुनः स्वदेश फर्कनु परेको नेपाली समाजको वास्तविकता नै हो ।

२०१५ सालको पहिलो आम निर्वाचनपछि बिपी कोइराला प्रधानमन्त्री भएका थिए । जतिबेला उनले देशको समग्र योजनाको खाका कोर्ने आधिकारिक निकाय राष्ट्रिय योजना आयोगको सचिवालयको भित्तामा हलो जोत्दै गरेको किसान र गोरुको तस्बिर राख्न लगाएका थिए । बिपीले यसो भन्नुको कारण कुनै पनि योजना बनाउँदा हचुवाका भरमा नभई विपन्न वर्गका नागरिकलाई हेरेर मात्र बनाउनु पर्छ भन्ने सन्देश दिनका लागि थियो । आफूलाई बिपीका सच्चा अनुयायी ठान्ने कांग्रेसजनहरू अनुकूल हुँदा मात्र बिपीका भनाइ सम्झन्छन् । उनका कालजयी यस्ता विचारलाई सम्झिन सकेको भए हरेक वर्ष खेती गर्ने बेला मल, बिउ नपाएर छटपटिएका किसानका पक्षमा सरकार र पार्टीको नेतृत्वमा बसेकाहरू किन मौन छन् ? जुन समस्या आज सिर्जना भएको होइन, वर्षौंदेखिको हो । बर्सेनि अर्बौंको चामल निर्यात गर्नुपर्ने बाध्यतामा रहेको सरकारले कम्तीमा किसानलाई समयमा मल बिउ मात्र उपलब्ध गराउन सकेको भए सम्बन्धित किसानका लागि मात्र नभएर सिङ्गो मुलुकका लागि राहत हुने थियो । 

कोरोना महामारीका कारण थिलथिलो भएको अर्थतन्त्रले अझै गति लिन सकेको छैन । चाडपर्वको माहोल सुरु भएको छ । महँगीले आकाश छोएको छ । कतिसम्म भने २०७९ को दसैँमा ५०० रुपियाँमा पाइने एक केजी जिराको मूल्य बढेर एक हजार पाँच सय पुगेको छ । एक महिनाको बिचमा पेट्रोलियम पदार्थको भाउ बढेर नेटो काटेको छ, जसको असर भान्सासम्म पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । यद्यपि पछिल्लो पटक बढेको मूल्य भने सरकारले फिर्ता लिएको छ । कमजोर आर्थिक अवस्था भएकाहरूको घरमा चुलो बल्न कठिन भएको छ । यी र यस्ता जनजीविकाका सवालमा बोल्नुपर्ने कांग्रेस किन मौन छ भनेर जनस्तरबाट प्रश्न उठ्न थालेको छ । सत्ताको मुख्य साझेदार कांग्रेसका लागि यतिबेला जनजीविकाको सवाल महत्वपूर्ण हुनुपर्नेमा पार्टी नेतृत्व बेखबर जस्तो भएको छ । 

कांग्रेस नेतृत्वले समाजवादको लक्ष्य प्राप्तिका लागि प्रयोग गरिएका साधन परिमार्जन गर्नु आजको प्रमुख आवश्यकता हो । अर्थात् सिद्धान्त ठिक भए पनि त्यसको कार्यान्वयनको पाटो कांग्रेसको मुख्य कमजोरी हो । त्यस कारण राजनीतिक र सामाजिक विषयलाई सम्बोधन गर्नका लागि कांग्रेसलाई ‘रिब्रान्डिङ’ गर्नु आजको प्रमुख आवश्यकता हो ।