• २० चैत २०८२, शुक्रबार

आत्महत्या दुरुत्साहनको आरोपमा दुईजना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २० गते ।
सप्तरी प्रहरीले छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा नम्बर १० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्बर २० हाल खडक नगरपालिका ७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहनुभएको हो 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक नगरपालिका ७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आउनु भएका धिरेन्द्र साहसँग मोबाइल फेला परेको थियो । सो मोबाइल विद्यालय सञ्चालक चौधरी तथा उहाँका सहयोगीले माग्दा ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहलाई कुटपिट गरिएको थियो ।

कुटपिट पश्चात् पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा घटना लगत्तै फरार रहेका चौधरी र मण्डललाई प्रहरीले चैत बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नुभएका उहाँहरुलाई आत्महत्या दुरुत्साहन मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान भइरहेको बताउनुभयो ।