• १९ चैत २०८२, बिहिबार

चुनावपछिका प्राथमिकता

blog

नेपालको संविधान २०७२ जारी भएपछि प्रतिनिधि सभाको चुनावमा एउटै दलले दुई तिहाइ त के सामान्य बहुमत पनि ल्याउन सम्भव छैन भन्ने भाष्य खडा भएको थियो । यो भाष्यले पनि गत फागनु २१ गते भएको चुनावी नतिजा विशेष महत्वपूर्ण प्रतीत भयो । विशेष गरेर ती मानिसका लागि जसले अत्यन्त भरोसाका साथ केही उम्मेदवारले जित्ने विश्वास बोकेका थिए । हुन पनि कुनै खास उम्मेदवारप्रति उसको नीति र चरित्रमाथि भावनात्मक रूपमा निवेश गरेका मतदातामा निराशा, क्रोध र अतिरिक्त चिन्ता हुन स्वाभाविकै हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी बहुमतको साथ विजयी भएपछि पुराना दलका लाखौँ मानिसले विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना निराशा व्यक्त गर्न थालेको स्पष्ट देखिन्छ । 

चुनावी अभियानको थकान एउटा वास्तविक समस्या हो । चुनावी अभियानको समय तनावपूर्ण हुन्छ नै । चुनावी नतिजा घोषणापछि सबभन्दा पहिला तनावमुक्त हुन जरुरी छ । तनावमुक्त नभई चुनावमा भएको पराजयबारे तुरुन्त निर्णय लिन पनि सकिन्न । शान्त हुन र आत्मचिन्तन गर्नका लागि केही समय आवश्यक हुन्छ । ‘म ठिक भएँ’ भनेर तुरुन्तै राजनीतिक प्रतिक्रिया दिन उचित हुँदैन । त्यस्तो खासै सूत्र नभए पनि चनावको हारको निष्कर्ष निकाल्न कम्तीमा नब्बे दिन लाग्ने एउटा अनुमान छ । यसैले भन्ने गरिन्छ– सरकारको सय दिन प्रतिपक्षको नब्बे दिन । नब्बे दिनसम्म नयाँ सरकारले पनि प्रतिपक्षको भावनामा चोट पुग्ने काम गर्नु हुँदैन र उनीहरूप्रति सहानुभूति प्रकट गर्नु पर्छ तर पराजयपछि पराजित उमेदवारले केही तत्काल गर्नुपर्ने काम भने हुन्छ । 

चुनावमा पराजित उम्मेदवारले सत्चरित्र देखाउने अवसर पनि हो यो । जसले आफूलाई चुनावमा साथ दिए उनीहरूप्रति विशेष गरी समर्थक, दातालगायत सबै शुभेच्छुकप्रति विनम्रता र हार्दिक आभार व्यक्त गर्ने यो उपयुक्त बेला हो । पराजित हुँदैमा उम्मेदवारको राष्ट्रप्रतिको जिम्मेवारी सकिन्छ भन्ने होइन । हारको मतलब पराजित उमेदवार या उनीहरूको विचारमा, आस्थामा र जिम्मेवारीमा केही कमी आएको छ भन्ने पनि होइन । कुनै पनि राजनीतिक दौडमा अधिकांश उमेदवार पराजित हुन्छन् । अहिले तीन हजारभन्दा बढी उम्मेदवार मैदानमा थिए तर एक सय पैसट्ठी मात्र सफल भए । जब हार हुन्छ तब परिणाम स्वीकार गर्नु अपरिहार्य हुन्छ । चुनावमा हार हुना साथ म सक्किएँ भन्ने सोच पाल्न हुँदैन । पराजित उम्मेदवारप्रति सबैको सहानुभूति हुन्छ । आफ्ना समर्थकको मात्र होइन, विजेता र विरोधीले पनि पराजितप्रति सहानुभूति दर्शाउँछन् । 

अहिले गगन थापा संसद्मा हुनु पथ्र्यो र उहाँबिना संसद्, संसद् जस्तो रहँदैन भन्ने मानिसको सङ्ख्या पनि ठुलो छ । यसकारण पराजित हुँदैमा गालीगलौजमा उत्रिनु शोभा दिँदैन । विरोधीलाई गाली मात्र गर्दा पनि समर्थकले मन पराउँदैनन् । समर्थकलाई त झन् गरिमाका साथ हार स्वीकार गरेको दोहो¥याइ तेह¥याइ सम्झाउन आवश्यक छ । यथासम्भव आफ्ना समर्थकलाई व्यक्तिगत तवरले आभार व्यक्त गर्न आवश्यक हुन्छ । यसले उनीहरूलाई ऊर्जा प्राप्त हुन्छ । पराजयको पीडा उमेदवारलाई भन्दा बढी उम्मेदवारका समर्थकलाई हुन्छ किनकि आफ्नो उम्मेदवारलाई जिताउन समर्थकमध्ये कतिले त असाधारण योगदान दिएका हुन्छन् । पराजित भएपछि पनि उम्मेदवारका समर्थकले आफ्नो योगदानको कदर भएको पनि जान्न खोज्छन् । पराजितले समर्थकप्रति आभार व्यक्त गर्नु पर्छ । आफ्नो योगदानको कदर भएको सहयोगीलाई महसुस भयो भने उनीहरूले भविष्यमा गरिने अन्य अभियानमा समय र समर्थन सहज तरिकाले दिन्छन् । भविष्यमा चुनाव जिताउनसमेत महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सहयोगीको योगदानको उचित कदर गर्न सकिएन भने उनीहरूले सहजै बिर्सन्छन् । चुनाव पराजित उमेदवारका लागि झनै कष्टकर हुन पुग्छ । आफ्ना समर्थकलाई आफूप्रति निष्ठावान् बनाई राख्न अति आवश्यक हुन्छ । 

चुनावको समय प्राप्त भएको हरेक तथ्याङ्क, सूचना महत्वपूर्ण हुन्छ । गलत मानिसको हातमा तथ्याङ्क गयो भने भविष्यको चुनाव जित्ने सम्भावना लगभग समाप्त हुन्छ । आर्थिक सहयोग गर्ने तथा अन्य विशेष सहयोगी जो गोप्य रूपमा आबद्ध भएका हुन्छन् । कस्तो तथ्याङ्क राख्नुपर्ने हो, त्यसबारे विशेषज्ञको सहयोग लिनु पर्छ । अहिले पराजित भएका दलका केही उम्मेदवारमा हामी जित्थ्यौँ तर आफ्नै दलका साथीले साथ नदिँदा हा¥याैँ भने भाष्यसमेत विकास भएको छ । चुनावलगत्तै दोषारोपण सुरु भयो भने त्यसले दललाई गम्भीर क्षति पु¥याउँछ । सर्लाही–४ मा गगन थापा र झापा–५ मा केपी ओली प्रत्याशी हुनुहुन्थ्यो र त्यहाँ चुनाव जित्नका लागि परिश्रम गगन थापा र केपी ओलीले नै गर्ने हो । अन्य मानिस उहाँका दलका नै किन नहुन् उनीहरूको सहयोग र सदाशयता मात्र हुन सक्थ्यो तर विजयका लागि गर्ने प्रयास उहाँहरूकै मात्र हो । व्यक्तिगत तवरमा कहिल्यै पनि कसैले मलाई अन्तर्घात गरे या सहयोग गरेनन् र अरूको कारणले मैले हारेँ भन्नु उचित हुँदैन । 

मनोविज्ञान अनुसार असहयोगको कारण हुन्छ र त्यो कारणको कारक तìव हुन्छ । त्यो कारक तत्व आफ्नै असावधानी हो । चुनावमा पराजितहरूले अरूलाई दोष दिन मिल्दैन र जिम्मेवारी आफैँले लिनु पर्छ । आफ्नो असावधानीको कारण पत्ता लगाई त्यसलाई सुधार गर्नु पर्छ । हुन त मानव मस्तिष्क अचम्मको हुन्छ । मस्तिष्कको चाल अचम्मको हुन्छ । मानव मस्तिष्कले आफूले गरेको जतिसुकै खराब काम किन नहोस्, त्यसलाई न्यायसङ्गत ठह¥याउन खोज्छ । आफ्नो गल्ती स्वीकार गर्नुअघि अनेक बहाना बनाएर खराब नजिरलाई आधार बनाई आफूले गरेको कामलाई न्यायोचित बनाउन खोज्छ तर त्यो यथार्थमा सही हुँदैन । आफूले आफैँलाई गलत या आफ्नो क्रियाकलाप गलत छ भन्ने मनन गर्न समय लाग्छ । यस स्थितिबारे हरेक पराजित उम्मेदवारले ध्यान दिनु पर्छ तर नेपालमा यसलाई समस्या नै मानिँदैन र पराजयको कारण कुनै अमुक मानिसलाई ठानेर उसलाई प्रहार गरिन्छ, जसले आरोपितलाई समेत गहिरो मानसिक आघात हुन जान्छ र समस्या झन् झन् बल्झिन्छ । चुनावमा कुनै पनि कुराको निष्कर्ष निकाल्नुअघि नब्बे दिनको समय चाहिन्छ भन्ने आकलन विज्ञहरूले गरेका हुन् । समयले समाधान निकाल्छ । 

अबको बाटो 

एकचोटि पराजित हुँदैमा अर्कोचोटि चुनाव जित्न सकिँदैन भन्ने हुँदैन । आगामी चुनावका लागि फेरि प्रयासरत हुन सकिन्छ र करियरलाई नयाँ दिशामा लिएर जान सकिन्छ । चुनावमा पराजयको मतलब राजनीति नै सकियो भन्ने होइन । बाराक ओबामा सन् २००० मा इलोनोइसको डेमोक्य्राटिक प्राइमरी चुनावमा बबी रोससँग पराजित हुनुभएको थियो तर अन्तत उहाँको राजनीतिक करियर लामो र प्रतिभाशाली रह्यो । उहाँले आठ वर्षपछि अमेरिकी राष्ट्रपतिको चुनाव जित्नु भयो । 

प्रतीक्षा लामो लाग्न सक्छ तर चुनावको चक्र एउटा निश्चित समयपछि दोहोरिन्छ । आवधिक चुनाव अपरिहार्य छ । यो समय चुनावमा प्राप्त हारबाट उठ्ने र आफ्नो गल्तीबाट सिक्ने अवसर हो । बिल क्लिन्टनले कांग्रेसको चुनाव हार्नु भएको थियो तर उहाँलाई चुनाव प्रचारमा उदासी र सङ्कोची भएको विश्लेषण मनोवैज्ञानिकले गरे र उहाँले यसलाई सुधार गर्नुभयो । यो गल्तीलाई उहाँले दोहो¥याउनु भएन । त्यसपछि चुनावको जुन नतिजा आयो त्यो संसारले सधैँ याद गर्ने किसिमको भयो । 

असल सम्भावना बोकेका मानिसले राजनीति र सार्वजनिक जीवनबाट सन्यास लिँदा उनीहरूको परिवार र शुभचिन्तकलाई मात्र होइन, सम्पूर्ण नागरिकप्रति नै भावनात्मक रूपमा नकारात्मक प्रभाव पर्छ । लोकले ठम्याएको, सम्भावना बोकेका मानिस चुनाव हार्ना साथ राजनीतिबाट पलायन भए या उनीहरूलाई बिना मूल्याङ्कन चुनाव हारेकै भरमा बहिष्कार गरियो भने त्यसले राजनीतिमा एउटा यस्तो खालीपनको सिर्जना गर्छ, जहाँ कम क्षमता भएका र नैतिक चरित्र कम भएका मानिसले प्रवेश पाउँछन्, जुन राष्ट्रिय जीवनका लागि एक त्रासदी हुन पुग्छ । 

चुनावमा पराजित भइसकेपछि चुनावको परिणाम स्वीकार गरेर विजेतालाई नयाँ नेताका रूपमा मान्यता दिनु पर्छ । उमेर कम होस् या अनुभव कम होस्, जनमतले अनुमोदन गरिसकेपछि त्यसप्रति अनेक बखेडा झिकेर उनीहरूलाई कमजोर बनाउने प्रयास गर्नु लोकतन्त्रमा सुहाउँदैन । पराजित हुँदैमा जे पनि बोल्न र लोकतान्त्रिक चुनावको मर्यादा बिर्सन हुँदैन । चुनावमा जतिसुकै सिट आएको होस्, त्यो पनि विजय नै हो । त्यो विजयलाई पनि सरकार बनाउने पक्षले पनि सम्मान गर्नु पर्छ । समग्रमा जतिसुकै सिट जितेको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले विजय हासिल गरेको क्षेत्रमा रास्वपाले चुनाव हारेकै हो नि ! पराजितहरूले जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्न सक्नु पर्छ तर आफ्नो विचारको समर्थन त्यागेर होइन । आफ्नो विचारप्रति प्रतिबद्ध भई जहाँ उचित छ, त्यहाँ नयाँ सरकारको आलोचना गर्न पनि अपरिहार्य हुन्छ । आलोचना गर्न संसद्मा कति सिट छ, त्यस्तो सङ्ख्याको आवश्यकता हुँदैन तर संविधान, कानुन तथा सरकारका वैध अधिकारीको हमेसा सम्मान गर्नु पनि विपक्षीको कर्तव्य हो ।