• १३ मंसिर २०८१, बिहिबार

बिरुवा रोपिन्छ, संरक्षण हुँदैन

blog

बुलबुले समाचारदाता

सुर्खेत, असोज १५ गते । विभिन्न दिवस होस् या अभियान तथा नयाँ कामको थालनी गर्दा वीरेन्द्रनगरमा वृक्षरोपण गर्ने होडबाजी नै चल्ने गरेको छ। सरकारी कार्यालय, बैङ्क, विभिन्न सङ्घ संस्था, समूहले सडक छेउछाउ र खुला चौरमा विभिन्न समयमा विभिन्न प्रजातिका बिरुवा रोप्ने गरेका छन्। 

यसरी रोपिएका बिरुवाको अवस्थाबारे भने सबै अनभिज्ञ छन्। बिरुवा रोपेपछि कोही कसैले चासो नदिँदा यस्तो समस्या आएको हो। व्यक्ति, समूह, सङ्घ संस्थाले सार्वजनिक, सरकारी तथा निजी जग्गामा रोपेका बिरुवा केही समयपछि हराउने गरेका छन्। 

संरक्षणको स्पष्ट व्यवस्था नहुँदा जथाभाबी रोपिएका लाखौँ बिरुवा यत्तिकै हराउने गरेका छन्। बोटबिरुवा रोप्ने व्यक्ति र संस्थालाई समेत त्यसको जानकारी हुँदैन। पछिल्लो समय स्थानीय सरकारले सहरी हरियाली प्रवर्धनका लागि हजारौँ सङ्ख्यामा बिरुवा रोप्दै आएको छ। 

रोपिएका बिरुवाको संरक्षण भने हुन सकेको छैन। वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विभिन्न समयमा वृक्षरोपण गर्ने गरेको छ। बाटोको मापदण्ड पुगेका सडकखण्डको किनारमा करिब नौ हजार बढी बोटबिरुवा रोपिएको नगरपालिकाले जनाएको छ। 

सहरी हरियाली प्रवर्धनका लागि वीरेन्द्रनगर उपत्यकाभर करिब नौ हजार बोटबिरुवा रोपेको नगरपालिकाले जनाएको छ। रोपिएका बिरुवामध्ये धेरै जसो हुर्किन पाउँदैनन्। घेरबार, मल–पानीको अभावलगायतका कारण रोपेका बिरुवामध्ये आधा मात्र हुर्किने गरेको स्थानीय नगरवासी बताउँछन्। 

हरियाली प्रवर्धन र सौन्दर्यका लागि वीरेन्द्रनगर नगरपालिकाले यो वर्ष १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। यसमा मङ्गलगढी चोकदेखि वीरेन्द्र चोकसम्म १० लाखका बोटबिरुवा रोपिएका छन्। 

नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख प्रकाश पौडेलका अनुसार वृक्षरोपण तथा सजावटका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। उहाँका अनुसार मङ्गलगढी चोकदेखि वीरेन्द्रचोकसम्मका मुख्य सडक छेउछाउमा सजावटका लागि बिरुवा रोप्न थालिएको हो।

सुर्खेत उपत्यकाभर हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको नगरपालिकाले जनाएको छ। 

यस्तै वन डिभिजन कार्यालयले गत साउन २५ गते वृक्षरोपण दिवसका अवसरमा आदर्श सामुदायिक वनमा एक हजार ६६४ बिरुवा रोपेको छ। निजामती सेवा दिवसका अवसरमा वीरेन्द्रनगरको चाइना पुल क्षेत्रमा समेत बोटबिरुवा रोपियो। 

यस वर्ष मात्र चार हजारभन्दा बढी बिरुवा रोपिएका छन्। वातावरण संरक्षण तथा सरसफाइ प्रवर्धन अभियन्ता डा. नवराज केसीले पछिल्लो समय वृक्षरोपण गर्ने होडबाजी चलेको बताउनुभयो। 

वृक्षरोपणमा भन्दा बिरुवाको संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने उहाँको भनाइ छ। सम्बन्धित स्थानीय सरकारले यसको रेखदेख र नियमन गर्नुपर्ने हुन्छ। वीरेन्द्रनगरका धेरै स्थानमा पुनः वृक्षरोपण गर्नुपर्ने केसीले सुझाव दिनुभयो।

वीरेन्द्रनगरका मुख्य सडकमा समेत पात झरेका बिरुवाको डाँठ सुकेको अवस्थामा छन्। यसका कारण बर्सेनि रोपिने लाखौँ बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन्। बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुग्न नसकेको उहाँको भनाइ छ।